आजबाट आइटिएफ जुनियर्स वल्र्ड र्‍याङकिङ टेनिस टुर्नामेन्ट श्पर्धा

समाधान संवाददाता २०७६ माघ २७ गते १२:५६

निश्चल प्रजापती
पोखरा

आइटिएफ जुनियर्स वल्र्ड र्‍याङकिङ टेनिस टुर्नामेन्ट सोमबारबाट हुने भएको छ । पोखरा रंगाशालामा हुने प्रतियोगिता शनिबारसम्म चल्नेछ । १८ वर्षमुनिका टेनिस खेलाडीबीच हुने प्रतियोगितामा नेपालका १८ र भारतका ३१ गरी ११ देशका ८४ खेलाडीले भाग लिँदै छन् ।

कास्की जिल्ला टेनिस संघले आयोजना गर्ने प्रतियोगितामा ४६ पुरुष र ३८ महिला खेलाडीले भाग लिएका छन् । शनिबार र आइतबार भएका क्वालिफायिङ राउन्डबाट छानिएका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले सोमबारबाट सुरु हुने प्रतियोगितामा भाग लिने छन् । प्रतियोगिता पुरुष सिंगल्स्, महिला सिंल्स्, पुरुष डबल्स् र महिला डबल्स् गरी ४ ईभेन्ट खेलिनेछ ।

Advertisement

टुर्नामेन्टका विजेता र उपविजेताले पदकसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । पोखरामा आयोजना हुन लागेको प्रतियोगिता जी ५ तहको रहेको, जुन अन्तर्राष्ट्रिय टेनिस संघ अन्तर्गतको सबैभन्दा तल्लो तह रहेको यस प्रतियोगिताका अध्यक्ष अजय विष्टले बताए ।

२०१७ देखि नेपालमा हुँदै आएको प्रतियोगिता पोखरामा दोस्रो पटक आयोजना हुन लागेको हो । ‘अर्को वर्ष जी ४ तहको प्रतियोगिता गर्न सक्ने अवस्थामा पुगेका छौं,’ उनले भने । जी ४ तहका विजेताले ६० अंक र उपविजेताले ३६ अंक प्राप्त गर्छन् । ६ वटा कोर्ट भएकाले अब ३२ सहभागी बढाएर ४८ सहभागीको प्रतियोगिता गर्न सकिने उनले बताए । विष्टले भने, ‘प्रतिस्पर्धीको संख्या बढेपछि खेलकुद पर्यटन पनि बढ्नेछ ।’

Advertisement

कास्की जिल्ला टेनिस संघका सल्लाहकार तथा प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले प्रतियोगिता खेलकुद पर्यटनसँग जोडिएको बताए । प्रतियोगितामा नेपालका ५ पुरुष र १३ महिला सहभागी छन् । नेपालबाहेक हङकङ, सिंगापुर, चाइना, मलेसिया, जापान, अमेरिका, इन्डिया, केन्या, जर्मनी र फ्रान्सका १८ वर्षमुनिका खेलाडी सहभागी छन् ।

तपाईको प्रतिक्रिया