साहित्यमार्फत् पीडितलाई साथ

समाधान संवाददाता २०७६ माघ २७ गते १४:१९

राजन उपाध्याय
दुलेगौंडा

खैरेनीमा लालपूर्जा
तल टारमा छैन
कि त हामी नेपाली नागरिक हैन

साहित्यकार आनन्दसुन्दर श्रेष्ठले पूर्जाको पर्खाइमा रहेका शुक्लागण्डकी ७ शान्तिनगरमा प्रस्तुत गरेको गीतको अंश । शुक्ला साहित्य संगम तनहुँको नियमित काब्य शृंखला अन्तर्गत शनिबार १ दर्जन बढी साहित्यकारले पूर्जाको पर्खाइमा रहेका स्थानीयको जायज मागलाई साहित्यमार्फत् साथ दिए ।

Advertisement

शुक्लागण्डकीको कोत्रेदेखि खैरेनीटारसम्मका एकै प्रकृतिका जग्गाको धेरैले यसअघि नै पूर्जा पाईसके । तर कहिले आयोगको म्यादका कारण त कहिले निर्वाचन आचारसंहितका कारण पटक पटकको स्थानीयको आशा निरासामा परिणत भयो । यसपटक फेरि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ५ सदस्यीय समिति बनेको छ । आयोगको १ वर्षको म्याद सकिन केहि महिना मात्र बाँकी छ । हाल १ हजार ९ सय ३ जनाले पूर्जाको लागि निवेदन दिएका छन् । अर्का साहित्यकार जीवन सागर कवितामार्फत् भन्छन् ः बहमुतको सरकार छ रे

के सुन्दै छ, के गर्दै छ

Advertisement

जनताको जस्तै सरकारको पनि पूर्जा चाहिएको छ
जनतालाई आफ्नो अधिकार पूर्जा चाहिएको छ

उनले कर तिरेर नगर समृद्धि बनाउने चाहना रहेको सुनाए । कार्यक्रममा सहभागी प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले जनताको अधिकारलाई ढिला नगरी पूरा गर्न आग्रह गरे । ‘पूर्जा नभएकै कारण स्थानीयले विभिन्न समस्या भोग्नु परेको छ, उनले भने, ‘समयमै पूर्जा दिलाउनतर्फ लाग्नु जरुरी छ ।’

वडा नं. ७ का अध्यक्ष रामबहादुर क्षेत्री थापाले पूर्जाको लागि पटकपटक राजधानी धाएको स्मरण गरे । ‘चुनावताका हामीले पनि पूर्जा दिलाउने विषयलाई प्राथमिकताका साथ उठाएका हौं,’ उनले थपे, ‘यसपटक जसरी भएपनि सरकारले जग्गाधनी पूर्जा दिनुपर्छ ।’ उनले पूर्जाको लागि नगरले २० लाख रुपैयाँ विनियोजन गरेको बताए ।

संगमका अध्यक्ष वेणुप्रसाद खतिवडाले पछिल्ला शृंखलामा साहित्यमार्फत् विभिन्न क्षेत्रको प्रचार र समस्या उजागर गरेको बताए । उनले आगामी दिनमा वडासँग सहकार्य गरी गाउँगाउँमा पुग्ने योजना रहेको सुनाए । विस २०६० सालमा स्थापित शुक्ला साहित्य संगम तनहुँले प्रत्येक महिनाको अन्तिम शनिबार नियमित काव्य शृंखला गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया