आँखा उपचार र दक्ष जनशक्ति

समाधान संवाददाता २०७६ माघ २७ गते १५:१४

मुलुकमा कुल जनसंख्याको १६ प्रतिशतलाई कुनै न कुनै आँखाको समस्या छ । ३ प्रतिशत पूर्ण वा आंशिक दृष्टिविहीन छन् । तर नेपालमा हाल १ सय १५ को हाराहारीमा आँखा विशेषज्ञ छन् । तीमध्ये जम्मा ३० जनामात्र डाक्टर काठमाडौं बाहिर छन् । कम्तीमा १ लाख जनसंख्या बराबर १ आँखा विशेषज्ञ हुनुपर्नेमा २ लाख बराबर १ जना मात्र उपलब्ध छन् । नेत्र सहायक र अन्य प्राविधिकसमेत पर्याप्त नहुँदा नागरिकले चाहेको अवस्थामा आँखाको उपचार पाउन सकेका छैनन् ।तराईभन्दा पहाडी क्षेत्रमा आँखा उपचार समस्या बढी छ । आँखा उपचारका सुविधा तराई र सहरी क्षेत्रमा केन्द्रित भएकाले पहाडी भेगमा उपचार सुविधा सहज हुन सकेको छैन । पहाडी क्षेत्रमा राजधानीबाहिर पोखरामा हिमालय आँखा अस्पताल र पाल्पामा लायन्स लाकौल गरी २ मात्र अस्पताल छन् । बेलाबखत बस्ने आँखा शिविर र मुलुकका २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रले सक्दो सेवा दिँदै आएको छ ।

झण्डै ३ दसकअघि पोखरामा स्थापित हिमालय आँखा अस्पतालले पोखरामात्र हैन, कर्णालीको दुर्गम भेगका बासिन्दालाई समेत गुणस्तरीय सेवा दिँदै आएको छ । अरु रोग लागे पोखरेली अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ । चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन सुविधा तिलगंगा आँखा अस्पतालमा मात्रै छ । उक्त मेसिन पनि यो वर्षभरीमा पोखरा भिœयाउने सपना देखेको छ हिमालय आँखा अस्पताल प्रशासनले । किनभने उक्त अस्पतालमा राखिएका सबैजसो मेसिन र उपकरणका लागि न त नेपाल सरकार न त अस्पताल प्रशासनले नै खर्च गर्नु परेको छ । विदेशी दाताहरुको सहयोगको भरमा उत्कृष्ठ खालका मेसिनहरु प्राप्त भएका हुन् । ५ देखि ८ करोड रुपैयाँ पर्ने उक्त मेसिन पोखरामा ल्याउन सकियो भने । यहाँबाट आँखाका बिरामी कोही पनि उपचारका लागि बाहिर जानु पर्दैन । तत्कालीन अवस्थामा गण्डकी, धौलागिरी र कर्णाली अञ्चललाई लक्ष्य गरी विसं २०४९ मा पोखरामा हिमालय आँखा अस्पताल खुलेको हो । विसं ३०३५÷३६ मा नेपालमा राष्ट्रिय अन्धोपन सर्वेक्षण गरियो । उक्त सर्वेक्षणले कुल जनसंख्याको शून्य दशमलव ८४ प्रतिशत दृष्टिविहीन रहेको तथ्यांक देखायो । तीमध्ये पनि ९२ प्रतिशत दृष्टिविहीन ग्रामीण भेगमा बस्ने गरेको र अन्धोपनलाई मुलुककै मुख्य जनस्वास्थ्य समस्याका रुपमा सर्वेक्षणले चित्रण गरेको थियो । त्यतिबेलासम्म राजधानी केन्द्रित आँखा उपचार सेवा यो सर्वेक्षणको नतिजा सार्वजनिक भएलगत्तै राजधानी बाहिर पु¥याउन पहल थालिएको हो ।

अहिले हिमालय आँखा अस्पताल उपचारमा मात्र केन्द्रित छैन । मुलुकमा आवश्यक जनशक्ति उत्पादनका लागि पनि कम्मर कसेर लागि परेको छ । एसइई पछि पढ्न सकिने ३ वर्षको नेत्र सहायक कोर्ष सिटिइभिटीसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ । अहिले आएर पोखरा विश्वविद्यालयसँगको सहकार्यमा स्नातक तहको ४ वर्षे कोष समेत सुरु भएको छ । आँखा रोगको विशेषज्ञता हासिल गर्न बाहिरिनु पर्ने अवस्थालाई अन्त्य गर्दै स्नातकोत्तर तहका कक्षा पनि नेपालमै पहिलो पटक हिमालय आँखा अध्ययन प्रतिष्ठानले सञ्चालन गरेको छ । केही समयपछि एमडीका कक्षासमेत चलाउने योजना प्रतिष्ठानले बुनेको छ । सरकारको न्यून सहयोग रहे पनि बिरामीबाट उठ्ने शुल्कबाटै अस्पतालले सबै खालका व्यवस्थापन गर्दै आएको छ । प्रतिष्ठानले अहिले अनुुसन्धान इकाइ नै खडा गरेको छ । आँखा उपचारमा अब्बल दरिएको अस्पताल अब शैक्षिक थलोको रुपमा स्थापित भएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया