स्कुल छोडेर सगरमाथा आरोहण

समाधान संवाददाता २०७६ माघ २८ गते १२:१७

सगरमाथा आरोहणका क्रममा मुस्ताङी युवा छिमी लुन्ढुप गुरुङ ।

एसके थकाली
जोमसोम

मुस्ताङको लोमान्थाङ गाउँपालिका १ को विकट गाउँ हो न्यानोल । न्यानोल चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका नजिकै पर्छ । त्यही गाउँमा जन्मे हुर्केका युवा हुन् छिमी लुन्ढुप गुरुङ ।

Advertisement

गुरुङ अहिले हिमाल आरोहणका लागि दलका पथप्रर्दशकको रुपमा क्रियाशील छन् । पर्यटकको पथप्रर्दशक भएर उनले ३ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा चढिसकेका छन् । उनी अरु ससाना हिमालसमेत आरोहण गरिसकेका छन् ।

उपल्लो मुस्ताङको न्यानोल गाउँको विपन्न र साधारण परिवारका छिमीले बाल्यकालमा लोमान्थाङको छोदे गुम्बा स्कुलमा पढे । उपल्लो मुस्ताङमा धेरैजसो अभिभावकले बालबालिकालाई लामा स्कुलमै पढाउँछन् । ७ कक्षामा पढ्दै गरेका छिमीको सोचमा परिवर्तन आयो । पढाइमा केही कमजोर देखिएका उनले स्कुल यात्रा कक्षा ७ मै विश्राम लगाए । पढाई छाडेका उनी त्यही गुम्बाको रेखदेख गर्ने जागिरमा भर्ना भए । सुरुआतमा मासिक ३ हजारमा काम गरेका उनको तलब ७ हजारसम्म पुग्यो । तर, यसले उनको उद्देश्य पूरा भएन । छिमी गुम्बाको जागिर छाडेर २०६८ मा काठमाडौं हान्निए ।

Advertisement

गाउँ छाडेर राजधानी पुगेका छिमीको सम्बन्ध हिमालसँग जोडियो र उनले दोलखाकी तेम्बा छुक्ती शेर्पासँग लगनगाँठो कसे । हिमाल आरोहरणमा प्रसिद्ध जाति हो शेर्पा । विवाहपछि उनको मनमा नयाँ परिकल्पना जाग्योः हिमाल चढ्ने र मुस्ताङ चिनाउने । उनका जेठान पेमा छिरिङ शेर्पा पनि पर्यटक पथ प्रर्दशक हुन् । श्रीमती र जेठानको सहयोगमा उनी २०६९ सालमा ट्रेकिङ पेशामा होमिए ।सुरु भयो हिमाल चढ्ने जागिर ।

हिमाल चढ्नु आफैंमा जोखिम काम हो । यसका लागि बलियो आत्मविश्वास चाहिन्छ । उनले पथप्रर्दशक भएर हिमाल चढ्न खोज्दा धेरै आरोह अवरोह र दुर्घटना सामना गरे । तर उनी कहिल्यै विचलित भएन्न् । बरु हिमाल यात्राका चुनौतीले झन् आत्मविश्वास बढाइदिएको उनको ठम्याइ छ ।

पहिलो पटक हिमाल आरोहरणमा जाँदा उनी भान्से बने । हिमाल चढ्नेहरुलाई खाना पकाउने र उनीहरुसँगै हिमाल आरोहरण अभ्यास थाले । यसअघि उनले विभिन्न हिमाल आरोहरण गर्ने ट्रेनिङ सेन्टरमा कोर्स पूरा गरे । हिमालमा भान्से भएर जाँदा सगरमाथाको क्याम्प ४ सम्म पुगे । २०७० सालमा खुम्बु आइसफलसम्म पुगे । उनी खुम्बु आइसफल पुग्दा आएको हिमपहिरोमा आरोहण दलका १६ जनाले ज्यान गुमाए । संयोगले उनी जोगिए ।

२०७२ सालमा सगरमाथा आरोहणमा गएका छिमीलाई भूईचालो बाधक बन्यो । भूकम्पले हिमपहिरो जाँदा ठूलो दुर्घटना भयो । ‘सरगमाथाको उचाइमा पुग्दै थियौं, हिमपहिरो आयो’, उनले भने, ‘आरोहणमा गएका सबै आत्तियौं । केही पुरिए, बिते पनि । केही घाइते भए । लाग्यो मृत्युलाई फेरि जितें मैले ।’

लगातार हिमाल आरोहरण तेस्रो यात्रा विफल भएपछि हिमाल चढ्ने काम छोड्न परिवारले दबाब दियो । तर, उनी आफ्नो लक्ष्यमा अडिग रहे । उनले भने, ‘म जसरी पनि हिमाल चढेरै छोड्छु । चुनौती देखेर भाग्दिनँ भन्ने सोचें । बरु हिमालमै किन ज्यान नगुमाउ, १ पटक हिमाल चढेरै छाड्छु भन्ने अठोट गरें ।’

अनुभवी छिमीको अठोट यथार्थमा बदलियो २०७३ साल वैशाखमा । उनी पहिलो पटक सगरमाथा शिखरमा पुगे । पहिलो सगरमाथा आरोहणबाट हौसिएका उनले त्यसपछि लगातार ३ पटक सगरमाथा चुली चुमे । पछिल्लो समय उनले ८ हजार २ सय ६३ मिटर अग्लो मनास्लु हिमाल पनि आरोहण गरेका छन् । उनी पथप्रदर्शकको कामबाट सन्तुष्ट छन् ।

उनले १ पटक हिमाल चढ्दा राम्रै कमाइ हुने सुनाए । परिवारलाई चलाउने मेसोसहित मुस्ताङलाई चिनाउन अझै जोखिम मालोर हिमाल आरोहण जारी राख्ने छिमीको सपना छ ।

तपाईको प्रतिक्रिया