डिआइजीको निर्णयः विभागीय सजाय पाएकालाई उच्च जिम्मेवारी

समाधान संवाददाता २०७६ माघ २८ गते १२:४३

सुरेशराज अधिकारी
पोखरा

सुरक्षा अवस्थाबारे गोप्य सूचना संकलन र अनुसन्धानसमेत गर्ने सादा पोसाकका प्रहरी बेला बेलामा विवादमा पर्छन् । सादा पोसाकका घुमुवा प्रहरीले विभिन्न बाहानामा अवैध असुली गर्ने, रकम लिने गरेका घटना पनि सार्वजनिक भइरहेका छन् ।

गत मंसिरसम्म वडा प्रहरी कार्यालय बैदाम मातहत सादा पोसाकमा खटिने प्रहरी सहायक निरीक्षक (असइ) कुलबहादुर रोकाले व्यवसायीसँग रकम असुलेको घटना सार्वजनिक भएपछि कारबाहीमा परे । बैदाम क्षेत्रमा घुमुवा प्रहरी इन्चार्ज रहेका रोकालाई जिल्ला प्रहरी कार्यालय कास्कीले ४ ग्रेड घटुवा गरेको प्रहरी स्रोत बताउँछ ।

Advertisement

कास्की प्रहरीले कारबाहीमा परेका रोकालाई गण्डकी प्रदेश प्रहरी कार्यालय पठाएको थियो । प्रदेश कार्यालय पठाएलगतै रोकालाई प्रदेश प्रहरी कार्यालयको अनुसन्धान शाखाको जिम्मा लगाइएको छ । वडा प्रहरी कार्यालय बैदामको सादा पोसाकका इन्चार्जभन्दा बढी जिम्मेवारी र अधिकार प्रदेशको अनुसन्धानमा हुन्छ । यसबाट गलत काम गर्नेले झनै फाइदा उठाउने स्रोत बताउँछ । अहिले रोकाको कमान्डमा प्रहरी हबल्दार र प्रहरी जवान गरी ५ जनाभन्दा बढी छन् । प्रहरी १ अधिकारीले भने, ‘गलत काम गरी विभागीय कारबाहीमा परेकालाई विशेष शाखाको जिम्मेवार दिँदा असल काम गर्ने प्रहरीको मनोबल गिर्छ ।’

साँझमा सञ्चालन हुने दोहोरी साँझ, बार, क्याफे, रात्रि क्लब, यौन व्यसायीसँग समेत सादा पोसाकका प्रहरीले धम्काउँदै मासिक रकम असुल्ने गरेको गुनासो आइरहन्छ । यसरी उठाएको रकम जिल्ला र प्रदेशका उच्च अधिकारीसम्म पुग्ने गरेको प्रहरी स्रोतकै दाबी छ । अबेरसम्म पसल खोल्दा पनि हस्तक्षेप नगर्ने र अन्य काममा पनि सहजीकरण गरिदिने भन्दै सादा पोसाकका प्रहरीले मासिक रकम उठाउँदै आएको व्यवसायी बताउँछन् ।

Advertisement

असई रोका १ दशकदेखि नै सादा पोसाकमा खटिएका छन् । बीचमा केही समय रोकाविरुद्ध गुनासाका चाङ लागेपछि उनलाई नेपाल प्रहरीकै सशस्त्र गणमा पठाइएको थियो । तर सेटिङ मिलाएर उनले बैदाम क्षेत्रमै फेरि घुमुवा इन्चार्जको जिम्मेवारी पाए । पछिल्लो समय प्रदेशको सादा पोसाकको टोली नै परिवर्तन भएको छ । यस घटनाबाट पनि प्रदेश प्रहरी कार्यालयको काम नै शंकास्पद भएको स्रोतको दाबी छ ।

आफ्नो तरिकाले काममा लगाएको छुः डिआइजी
डिआइजी विनोद शर्मा घिमिरेले प्रहरीको बर्दी लगाएर अनुसन्धान र सूचना संकलनका लागि राखिएको बताए । डिआइजी घिमिरेले मंगलबारबाट अनिवार्य अवकाश पाउँदैछन् । रोका सादा पोसाकमा खटिने टोलीमा छन् । स्रोतका अनुसार सूचना संकलनका लागि बर्दी लगाएका प्रहरी प्रयोग गर्नुभन्दा सादा पोसाकका प्रहरी प्रयोग गर्दा सजिलो हुन्छ ।

जिल्लाले कारबाही गरेका मान्छे तपाईँले कसरी विशेष कामका लागि राख्नुभयो भन्ने प्रश्नमा घिमिरेले भने, ‘कास्कीले वा बैदामले कसरी काममा लगायो, त्यो उसको विषय भयो । मैले उसलाई कसरी काममा लगाउँछु, यो मेरो विषयमा हुन्छ ।’ डिआइजी घिमिरेले रोकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘विप्लव’ र अन्य निकायको पनि राम्रो सूचना राख्ने भएका भएका कारण नै शाखामा राखिएको तर्क गरे ।

कास्की प्रहरी क्षेत्र नं. २ मा निर्वाचन सुरक्षामा जुटिरहेका बेला असइ रोका घुमुवा इन्चार्ज थिए । त्यही अवधिमा वडा प्रहरी कार्यालय बैदाम मातहतकै क्षेत्रमा लगायतर बम विस्फोट भएपछि कास्की प्रहरीले रोकालाई शंकाको घेरामा राखेको थियो ।

उम्मेदवार मनोनयनका दिन कात्तिक २१ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै टुरिस्ट बसपार्कमा, मंसिर ९ मा पोखरा ३३ का अध्यक्ष शिव आचार्यको बिरौटाको घरको पार्किङमा, नेकपाको चुनावी सभा भइरहेका बेला मंसिर ११ मा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बम पड्किएको थियो ।

यतिमात्र नभई मतदान चल्दै गर्दा नयाँबजारस्थित नवप्रभात मावि मतदानस्थल परिसरमै बम पड्क्यो । स्रोतका अनुसार यी सबै घटनाका बारेमा सूक्ष्म अनुसन्धान गर्न प्रहरी नेतृत्वले असई रोकालाई खटाए पनि उनले कुनै सूचना ल्याउन सकेनन् । त्यो बेला गल्ती गरेका कारण कारबाही गरिएको र अबका दिनमा पनि गल्ती गरे फेरि कारबाही गरिने डिआइजी घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया