गण्डकी प्राविधिक प्रतिष्ठानलाई १६ सय रोपनी जग्गा

समाधान संवाददाता २०७६ माघ २८ गते १३:०१

ईश्वर देवकोटा
पोखरा

प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी प्राविधिक प्रतिष्ठानका लागि जग्गा उपलब्ध हुने भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका १ गुर्दुममा प्राविधिक महाविद्यालय सञ्चालनका लागि १ हजार ६ सय रोपनी जग्गा प्रतिष्ठानको नाममा रहने संघीय सरकारले निर्णय गरेको हो ।

जग्गा दिलाइदिन प्रदेश सरकारले २०७५ चैत १९ गते मन्त्रिपरिषदबाट निर्णय गरी केन्द्रसमक्ष माग गरेको थियो । जग्गा प्राप्ति टुगिंएसँगै गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना गर्न पहिलो चरणको महत्वपूर्ण काम भएको सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन् । ‘गत वर्षकै योजना हो । जग्गा प्राप्तिको निर्णय १ साता अघिमात्र भएको छ,’ उनले भनिन्, ‘त्यससम्बन्धी विधेयक पास गरी यही वर्ष केही काम गर्न सक्छौं ।’

Advertisement

प्रदेश सरकारले गत वर्ष प्रतिष्ठान स्थापनाका लागि प्राडा गणेशमान गुरुङको संयोजकत्वमा प्रारम्भिक अध्ययन समिति गठन गरी सम्भाव्यता अध्ययन गरेको थियो । समितिले फेदीखोला १ गुर्दुम उपयुक्त रहेको निष्कर्षसहित प्रक्रियाअघि बढाउन सुझाएको थियो । सोही अध्ययन प्रतिवेदनका आधारमा चालु वर्षमा प्रतिष्ठान स्थापनाका लागि सामाजिक विकास मन्त्रालय अन्तर्गत ४ करोड ५० लाख बजेटसमेत विनियोजन भएको छ ।

ढिला गरी निर्णय भएकाले यस वर्ष विनियोजित बजेट सबै परिचालन हुन हम्मे पर्ने देखिएको छ । प्रतिष्ठान गठनका लागि २ साताअघि प्रदेशसभामा त्यससम्बन्धी विधेयक पेस भएको छ । विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएर विधायन समितिमा पुगेको मन्त्री पुनले जानकारी दिइन् । विधायन समितिबाट आवश्यक रायसहितको प्रतिवेदनमा दफावार छलफलपछि विधेयक पारित हुनेछ ।

Advertisement

बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्ने प्रतिष्ठानको लक्ष्य छ । ‘हजारौं नागरिक आज पनि दक्ष छैनन्, विदेश जानुपर्ने र बाटोमा काम गरिरहनुपर्ने बाध्यता छ । उच्च शिक्षासम्म पढ्न नपाएकालाई विशेषत दक्ष बनाई रोजगारी सिर्जना गर्ने, विदेश नै गए पनि सीप लिएर जाऊन् भन्ने प्रतिष्ठान स्थापनाको उद्देश्य हो,’ मन्त्री पुनले भनिन् ।

शिक्षा क्षेत्रको विकासका लागि प्राथमिकता साथ अघि बढिरहेका बेला प्रतिष्ठान स्थापना गर्ने प्रक्रियाले उत्साही भएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले सुनाए । जग्गा प्राप्ति लगायतका कार्यमा गाउँपालिकाबाट प्रदेश सरकारलाई आवश्यक सहकार्यसमेत गरेको उनले स्मरण गरे । ‘गाउँपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएकाले प्रतिष्ठान स्थापना गर्ने अवसर यहाँ आउँदा हामी उत्साही छौं । फेदीखोलालाई शैक्षिक हब र वरिपरिको क्षेत्रको विकास गर्न प्रतिष्ठान स्थापनाले भूमिका लिनेछ,’ उनले भने, ‘प्राविधिक विषयमै विभिन्न सीपमूलक व्यावसायिक शिक्षा दिने प्रतिष्ठान सञ्चालन गर्न पाउँदा हामी खुसी छौं ।’

कार्यअघि बढाउन स्थानीय तहले आवश्यक सबै समन्वय गर्ने अध्यक्ष सुवेदीको भनाइ छ । २÷३ अर्बसम्मको आयोजना हुँदा त्यसमा विशेष कन्सेप्टदेखि केही जिम्मेवारीमा गाउँपालिकाको तर्फबाट पनि योगदान गरिने उनले सुनाए ।

तपाईको प्रतिक्रिया