प्रदेश स्तरीय क्रिकेट लिग तयारी

समाधान संवाददाता २०७६ माघ २८ गते १३:११

निश्चल प्रजापती
पोखरा

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

१ दिवसीय फर्मेटमा हुने प्रतियोगितामा कास्कीका २ टिम कास्की ए, कास्की बिसहित गण्डकी प्रदेशका नवलपुर, बागलुङ र स्याङ्जाका एक एक टिम गरी ५ टिमको सहभागिता रहने आयोजक एकेडेमी अध्यक्ष बमबहादुर कुँवरले जानकारी दिए । प्रतियोगिता नाफामूलक भन्दा पनि क्रिकेटको विकासका लागि आयोजना गरिएको उनले बताए । १० दिनसम्म चल्ने प्रतियोगितामा १० खेल हुने प्रतियोगिता संयोजक चन्द्र गुरुङ जिम्मीले जानकारी दिए । राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिँदा शीर्षस्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।

Advertisement

गण्डकी प्रादेशिक क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितको च्याम्पियनले नगद २० हजारसहित ट्रफी प्राप्त गर्ने छ । सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले जुनियर लेभलका खेलाडीलाई लक्षित गर्दै आयोजित यस्ता प्रतियोगिताबाट नवप्रतिभा निस्कने औंल्याए । प्रतियोगिता सफल पार्न परिषद्को तर्फबाट आर्थिक एवं भौतिक सहयोगसमेत गर्ने गुरुङले प्रतिवद्धता गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले क्रिकेट विकासका लागि आयोजित यस प्रतियोगितालाई सबैले सघाउनुपर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया