पोखरा विश्वविद्यालयमा ताला

समाधान संवाददाता २०७६ माघ २९ गते १२:१७

रामशरण नेपाली
लेखनाथ

स्वास्थ्य विज्ञान संकायका विद्यार्थीले मंगलबार पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएका छन् ।

स्वास्थ्य विज्ञान संकाय अन्र्तगत बि फार्मेसी र बि नर्सिङ अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीले समयमै परीक्षाफल प्रकाशन नहुँदा नेपाल फार्मेसी काउन्सिल तथा नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता परीक्षामा सहभागी हुनबाट वञ्चित भएको भन्दै ताला लगाउन बाध्य भएको विद्यार्थीले बताएका छन् ।

Advertisement

विगत ४ महिनादेखि विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नहुँदा परीक्षा गर्न, परीक्षाफल प्रकाशन गर्ने काम प्रभावित बन्दै आएको छ । यस अघि ३ महिनाका लागि उपकुलपतिमा डा. वुद्धिराज जोशी र रजिस्ट्रारमा प्रा. हरिबहादुर खड्का नियुक्त भए पनि पद रिक्त छ । परीक्षा समितिका अध्यक्ष रजिस्ट्रार रहने पोविको ऐनमा रहेको हुँदा विश्वविद्यालयमा विद्यार्थीको परीक्षाफल प्रकाशन अन्योल बनेको हो ।

दीक्षान्त प्रभावित
पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त सभा प्रभावित हुने भएको छ । फागुन महिनामा हुनु पर्ने दीक्षान्त समारोह उपकुलपति र रजिस्ट्रार नहुुँदा समयमा नहुने सम्भावना बढेको छ । करिब ३० हजार विद्यार्थी अध्ययन गर्ने पोखरा विश्वविद्यालयसँगै अन्य विश्वविद्यालयमासमेत उपकुलपति र रजिस्ट्रार पद रिक्त छ । संघीय मन्त्रिपरिषद्बाट निर्णय हुनु पर्ने पदमा भागवन्डा नमिल्नाले अन्योल बढेको हो ।

Advertisement

डिनको भरमा विश्वविद्यालय
पोखरा विश्वविद्यालय डिनको भरमा चलेको छ । पोवि अन्तर्गत रहेको ४ वटा अंगिक क्याम्पसमा रहेका डिनको नेतृत्वमा सञ्चालनमा रहेको छ । यस मध्येका स्कुल अफ हेल्थ एन्ड साइन्सका डिन खेमराज जोशीको कार्यकाल सकिसकेको छ । स्कुल अफ इन्जिनियरिङका डिन वुद्धिराज जोशीको कार्यकाल सकिन केही दिन बाँकी छ । अन्य २ क्याम्पस स्कूल अफ बिजनेसका डिन प्रा. हरिबहादुर खड्का र स्कुल अफ ह्युमानिटिजका डिन प्राडा इन्द्रप्रसाद तिवारीको कार्यकाल भने करिब १ वर्ष बाँकी छ । विश्वविद्यालयमा भौतिक पूर्वाधारको विकास लगायत धेरै शैक्षिक सरोकारका विषय अन्योल बनेको विश्वविद्यालयका प्राध्यापकहरु बताउँछन् । मन्त्री परिषद्को निर्णय कहिले आउँछ कुर्नेवाहेक विकल्प नरहेको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया