नाट्टामा झविको प्यानल घोषणा

समाधान संवाददाता २०७६ माघ २९ गते १५:३६

समाधान संवाददाता
पोखरा

ट्राभल व्यवसायीको छाता संस्था नाट्टा गण्डकीको ११ औं अधिवेशन तथा २५ औं साधारणसभा फागुन ३ गते हुँदै छ । अधिवेशन नजिकिएसँगै व्यवसायीबीच चुनावी रन्को सुरु भएको छ ।

मंगलबार झवि अधिकारीको नेतृत्वमा नयाँ नेतृत्वका लागि प्यानल घोषणा भएको छ । वर्तमान कार्यसमितिका द्वितीय उपाध्यक्ष अधिकारी डिम्लोप्याट टुर्स एन्ड ट्राभल्सका सञ्चालक हुन् । उनी २४ वर्षदेखि पर्यटन व्यवसायमा संलग्न छन् । नाट्टा गण्डकीमा १ सय ८१ सदस्य छन् ।

Advertisement

झविको प्यानलबाट प्रथम उपाध्यक्ष सुभास भण्डारी, द्वितीय उपाध्यक्ष नेत्रपाणि भण्डारी बाबुराम, महासचिव कुलचन्द्र शर्मा, सचिव चेतबहादुर कार्की (चेतन), कोषाध्यक्षमा विश्वराज आचार्य र सहकोषाध्यक्ष नवराज भण्डारी मैदानमा आउने भएका छन् । कार्यसमिति सदस्यमा सुशीला सिग्देल, खिमबहादुर नेपाली, प्रकाश सुवेदी, शोभाखर तिवारी र फरेन्द्र थापामगर झविको प्यानलबाट उम्मेदवार बन्ने भएका छन् ।

यो प्यानलले १७ बुँदे प्रतिवद्धतासमेत सार्वजनिक गरेको छ । समूहबाट अध्यक्षका उम्मेदवार अधिकारीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भए पनि सफल नभएकाले आफूहरुले उम्मेद्वारी सार्वजनिक गरेको बताए । उनले पोखरालाई पर्यटनको राजधानी बनाउन पहल गर्ने र व्यवसायीलाई अहिलेको डिजिटल युग अनुसार आधुनिकीकरण र सशक्तीकरण गर्न भूमिका खेल्ने प्रतिवद्धता गरे ।

Advertisement

वर्तमान प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले पनि अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । उनले अहिलेसम्म संस्थामा निरन्तर काम गरेकाले आफ्नो दाबेदारी र उम्मेद्वारी स्वभाविक भएको बताए । सिग्देलले भने, ‘अहिले नेपालको पर्यटनमा मिलेर संघर्ष गर्नुपर्ने अवस्था छ, सबैलाई मिलाएर लिएर जाने मेरो प्रयत्न हुन्छ । मेरो उम्मेद्वारी पनि आउँछ ।’

तपाईको प्रतिक्रिया