२ करोड ठगी आरोपमा पाैडेल दम्पत्ती पक्राउ

समाधान संवाददाता २०७६ फागुन १ गते १२:११

समाधान संवाददाता
पोखरा

सुरेन्द्रमणि पौडेल र जसुदा पौडेल ठगी मुद्दामा पक्राउ परेका छन् । पीडित अमन रेग्मीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । १ करोड ९० लाख रुपैयाँ ठगी गरेको उनीहरुमाथि उजुरी परेको छ । जसुदा पौडेलविरुद्ध भने अन्य चेक बाउन्स मुद्दा पनि रहेको प्रवक्ता केसीले बताए । जसुदालाई २४ लाख रुपैयाँ, २५ लाख रुपैयाँ र २० लाख रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रवक्ता केसीले बताए ।

अमन रेग्मीसँग संयुक्त रुपमा व्यवसाय गर्ने भनेर राखिएको पैसा जसुदाले लिएकी थिइन् । उक्त पैसा उनीहरुको संयुक्त खातामा थियो । जसुदा र अमनसहित अन्य २ जना गरी ४ जनाको संयुक्त खाता रहेको अमन बताउँछन् । सोही खाताको रकम अमनलाई नदिई जसुदाले सुरेन्द्रमणि पौडेलेको खातामा लगेको देखिएको रेग्मीले बताए । रेग्मीका अनुसार उनीहरुले उक्त पैसा फिर्ता नदिएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरेका हुन् । जसुदा र सुरेन्द्रमणि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीहरुलाई म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता केसीले बताए । उनका अनुसार जसुदाले धेरै व्यक्तिसँग पनि विभिन्न बाहानामा पैसा लिएर चेक दिएको भेटिएको प्रवक्ता केसीले जानकारी दिए ।

Advertisement

सुरेन्द्रमणि पौडेल र जसुदा पौडेल केही समय अघि देखि सम्बन्धविच्छेद गरी बस्दै आएका छन् । उक्त पैसा ठगी हुने समयमा उनीहरुबीच सम्बन्धविच्छेद भएको थिएन ।

Advertisement

तपाईको प्रतिक्रिया