मुस्ताङमा छिट्टै राष्ट्रिय परिचयपत्र

मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण कार्यालय स्थापना । तस्बिरः घनश्याम गौतम ।
एसके थकाली
जोमसोम
राष्ट्रिय परिचयपत्र वितरण अभियान अन्तर्गत मुस्ताङमा बुधबार कार्यालय स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले साविक जिल्ला प्राविधिक कार्यालयको आवासीय भवनमा कार्यालय स्थापना गरेको हो ।
सरकारी सेवा सुविधालाई छिटो÷छरितो र प्रभावकारी तुल्याउने उद्देश्यले सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्ने अभियान थालेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताए । उनका अनुसार बुधबार कार्यालय स्थापना भए पनि कर्मचारी पदपूर्ति गर्न केही दिन लाग्नेछ । सहायक प्रजिअ गौतमले भने, ‘पहिले कर्मचारीलाई तालिममा बोलाइन्छ, त्यसपछि प्रशासन र खटिएका कर्मचारीको समन्वयमा काम सुरु हुनेछ ।’
सरकारले हरेक नागरिकको जैविक तथा व्यक्तिगत विवरण सुरक्षित रुपमा भण्डार गर्दै सरकारी तथा गैरसरकारी सेवाप्रदायक संघसंस्थाको कामलाई चुस्त राख्न राष्ट्रिय परिचयपत्र वितरण केन्द्रले २०६७ साल साउन १ गते पहिलो चरणको अभियान थालेको थियो । वितरण केन्द्रले पहिलो चरणमा पाँचथर जिल्लाबाट अभियान थालेको थियो । जहाँ १ लाख १० हजार व्यक्ति र सिंहदरबारमा कार्यरत ७ हजार कर्मचारी, दोस्रो चरणमा १५ जिल्ला र तेस्रो जिल्लामा २५ हजारलाई परिचयपत्र वितरण गरेको थियो ।
सरकारले १६ वर्ष पुगेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने मापदण्ड तोकेको छ । वितरण गर्ने कार्डमा नागरिकलाई नदोहोरिने गरी युनिक कोर्ड दिइन्छ, जुन कोर्ड पञ्जीकरण विभागमा सुरक्षित रहनेछ । परिचयपत्रको जैविक विवरणमा व्यक्तिको १० वटै औंलाको औंठा छाप र तस्बिर राखिनेछ । व्यक्तिगत विवरणमा नामथर, वर्ण, उमेर, लिंग, ठेगाना, जन्म मिति, पतिपत्नीको नामथर र प्रमाणपत्र नम्बर हुन्छ ।
दायाँतर्फ झन्डा र बायातर्फ सरकारी छाप अनि कार्डको पछिल्लो भागमा दुर्लभ एकसिंगे गैंडाको छाप राखिएको हुन्छ ।
अन्तर्राष्ट्रिय स्तरको मापदण्ड रहेको परिचयपत्र अर्थात स्मार्ट कार्ड राष्ट्रिय पहिचानसहितको कानुनी दस्तावेज हो । यसभित्र नागरिकको राहदानी, नागरिकता, मालपोत, यातायात, पञ्जीकरण कार्यालय, लोकसेवा आयोग, स्थानीय निकाय, बैंक तथा वित्तीय संस्था, टेलिकम, लाइसेन्स, पान नम्बर लगायत नागरिकको सबै प्रकारका परिचय खुल्ने अभिलेख सुरक्षित भण्डार हुनेछन् ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका ५ वटै स्थानीय तहमा बस्ने नागरिकको घर आँगनमा पुगेर यसको समन्वय गर्ने जनाएको छ । सबै प्रकारका कार्ड बोकेर हिँड्नु पर्ने हैरानीलाई स्मार्ट कार्डले मुक्त गर्ने सहायक प्रजिअ गौतमले बताए । उनले केही हप्तापछि जाडो छल्न बेंसी झरेका मुस्ताङी घर फर्किने र कार्यालयका कर्मचारी तथा आन्तरिक व्यवस्थापनसमेत पूरा भएपछि वितरण अभियानलाई तीव्र पारिने बताए । राष्ट्रिय परिचयपत्रले सरकारको राजस्व संकलन कार्यलाई समेत प्रभावकारी बनाउने उनले दाबी गरे ।
तपाईको प्रतिक्रिया