४ हजार विद्यार्थीले हेरे कखरा

समाधान संवाददाता २०७६ फागुन १ गते १२:२६

समाधान संवाददाता
पोखरा

Advertisement

युनाइटेड क्लबको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा व्यवहारिक शिक्षाको सन्देश दिने वृत्तचित्र कखरा पोखरामा प्रदर्शन गरिएको छ । राम्रो शिक्षा प्रदान गर्नका लागि विद्यार्थी, अभिभावक र विद्यालयको भूमिका प्रकाश पार्ने वृत्तचित्र करिब ४ हजार विद्यार्थीले हेरेका छन् ।

वृत्तचित्र प्रदर्शनी उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सदस्य गायत्री गुरुङले युनाइटेड क्लबले सामाजिक कामको माध्यमबाट पोखरामा विशिष्ट भूमिका निर्वाह गरेको बताइन् । पोखरामा चिडियाखाना निर्माणको अगुवाइ गरी क्लबले सरकारले चालेको समृद्धिको पाइलालाई साथ दिएको उनको भनाइ छ । चिडियाखानासँगै पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी संरक्षणमा लागि संस्थाले योगदान गर्दै आएको छ । अहिले शिक्षामूलक वृत्तचित्र प्रदर्शन गरी विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई एकै ठाउँमा भेला गरी सचेत बनाएकोमा उनले धन्यवाद दिइन् ।

प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक राजु श्रेष्ठले क्लबले सामाजिक कामसँगै शिक्षा क्षेत्रमा पनि केही गर्नुपर्छ भनी विशेषगरी सामुदायिक विद्यालयहरुमा अक्षयकोष तथा छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गर्दै आएको स्मरण गरे । पछिल्लो समय विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनलाई लक्षित गरी निर्माण गरिएको वृत्तचित्र प्रदर्शन गरी सचेतना फैलाउन योगदान दिएको उनले जनाए ।

नवौ संस्करणको पोखरा महोत्सवदेखि महोत्सव स्थलभित्र पनि कखरा वृत्तचित्र प्रदर्शन गरिँदै आएको छ । क्लबले पोखरा महोत्सव आयोजना गरी सामाजिक कामलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष लालकाजी गुरुङले बताए । सामाजिक कामले नै आफूहरुलाई अगाडि बढ्न अभिप्रेरित गरिरहेको उनको भनाइ छ ।

Advertisement

मंगलबार प्रदर्शन गरिएको वृत्तचित्र पोखराको शुभतारा थ्री एन्जल्स एकेडेमी, केल्स एकेडेमी र कालिका माध्यामिक विद्यालयका विद्यार्थीले हेरेका छन् । यसअघि श्रीकृष्ण हलमा प्रदर्शन गर्दा महेन्द्र मावि, नव प्रभात मावि, शान्ति कुन्ज मावि, धर्मस्थली मावि, लक्ष्मी आवासीय माध्यामिक विद्यालय, पास्कल एकेडेमी, पार्दी मावि, ताल बाराही मावि र बाराही माविका विद्यार्थी डकुमेन्ट्री हेर्न पुगेका थिए ।

कखरामा राम्रो शिक्षाका लागि विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भूमिकाबारे प्रकाश पारिएको निर्माता विनोद लामाले बताए ।

एक्स्ट्रा एंगल गर्बु फिल्म्स प्रालि काठमाडौंको ब्यानरमा निर्मित डकुमेन्ट्रीमा नेपाली रंगमञ्चका ख्यातिप्राप्त कलाकार राजेश हमाल, भूपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, सञ्चारकर्मी श्रीकृष्ण न्यौपाने लगायतको अभिनय छ । यसमा गिनिज बुकमा सबैभन्दा कलिलो उमेरका निर्देशकका रुपमा नाम अंकित ८ वर्षीय सौगात विष्टको समेत अभिनय छ ।

तपाईको प्रतिक्रिया