साना दुग्ध व्यवसायी भन्छन्ः व्यवस्थित बनाउन सकिँदैन

समाधान संवाददाता
पोखरा
साना वा सटरमा दुग्ध व्यवसाय गर्नेले खाद्य ऐन अनुसार काम गर्न अप्ठेरो भएको बताएका छन् । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा उनीहरुले साना व्यवसायी मर्कामा परेको गुनासो गरे ।
व्यवसायी नवनारयण बरालले सानो ठाउँमा काम गर्नुपर्ने बाध्यताको कारण ऐन र खाद्य निर्देशिका अनुसार काम गर्न अप्ठेरो भएको बताए । ‘एउटा सटर भाडामा लिएर सञ्चालन गरेका छौं, ‘बरालले भने, ‘एउटा सटरमा निर्देशिकामा जस्तो व्यवस्थित बनाउन सकिँदैन ।’
व्यवसायी वीरेन्द्र भण्डारीले एउटा सटरमा व्यवसाय गर्दै आएका व्यवसायीको समस्याको पनि सम्बोधन गरिनुपर्ने बताए । उनले साना व्यवसायीको सानो ठाउँमा निर्देशिकामा तोकिए अनुसार व्यवस्थापन गर्न समस्या पर्ने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका कार्यालय प्रमुख प्रशान पोख्रेलले कास्की जिल्ला र आसपासका डेरीमा अनुगमन गर्दा ४० प्रतिशत डेरीले दूषित दुग्ध पदार्थ वितरण गरेको भेटिएको बताए । उनले ३ डेरीको दुग्ध पदार्थ परीक्षण गर्दा खान अयोग्य पाइएको भन्दै नाम सार्वजनिक गरी कारबाही अघि बढाउने जानकारी दिए । उनले डेरीले विभिन्न खाद्य वस्तु उत्पादन गर्दा खिया लाग्ने वस्तु प्रयोग गर्न नहुने, रासायनिक धातु प्रयोग गर्न नहुने बताए ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवा कार्यालय प्रमुख निर्मलकुमार दाहालले असल पशुपालन अथात् स्वस्थ पशु, असल उत्पादन अर्थात सफा भएमा मात्र गुणस्तरीय दूध उत्पादन हुने बताए । उनले बच्चादेखि वृद्धले दुग्ध पदार्थ प्रयोग गर्ने भएका कारण व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले पोखराको डेरीमा ल्याब सञ्चालन नगरेको भेटिएको बताए । उनले डेरी सञ्चालन गर्नेले अनिवार्य रुपमा ल्याब राख्नुपर्ने बताए । कतिपय साना डेरीमा फ्रिज नभएको, फ्रिज भए पनि प्रयोग नगरिएको र प्रयोग गरेको दुग्ध पदार्थ र अन्य खाद्य वस्तु सँगै राखिएको भेटिएको कोइरालाको भनाइ थियो ।
कार्यक्रममा कास्की, पर्वत, स्याङ्जा लगायत जिल्लाका दुग्ध व्यवसायी सहभागी थिए ।









पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया