निर्धारित समयमा योजना सक्न निर्देशन

समाधान संवाददाता २०७६ फागुन १ गते १३:३९

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुगमन महाशाखालाई अनुगमन प्रभावकारी बनाउन र योजना निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको २६ औं बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गृष्म न्यौपानेसँग समितिले छलफल गरेको हो ।

समितिले मन्त्रालय अन्तर्गतका योजनाको सही अनुगमन गरी समयमै योजना सक्न निर्देश गरेको हो । समिति सभापति दीपक कोइरालाले पहिले मन्त्रालयका मन्त्री र सचिवलाई मात्रै बोलाएर छलफल तथा निर्देशन दिने गरेको भए पनि अहिले मन्त्रालयका महाशाखा प्रमुखहरुलाई पनि बोलाएर छलफल तथा निर्देशन दिन थालिएको बताए । कोइरालाले महाशाखा प्रमुखहरुसँग छलफल गर्दा मसिनो गरी सोही महाशाखाका बारेमा छलफल हुने भएकाले यो प्रभावकारी हुने बताए ।

Advertisement

योजना तथा अनुगमन महाशाखाका प्रमुख न्यौपानेले आफ्नो महाशाखा अन्तर्गतका योजना तथा अनुगमनका बारेमा समितिमा जानकारी गराएपछि समितिका सदस्यहरु इन्द्रलाल सापकोटा, जनकलाल श्रेष्ठ, डोबाटे विश्वकर्मा, सरिता गुरुङ लगायतले योजनाको अनुगमन प्रभावकारी नभएको, निर्धारित समयमा योजना सम्पन हुनेमा आशंका देखिएको, मुख्यमन्त्री वातावरण मैत्री गाउँमा प्राविधिकको समस्या किन भयो जस्ता प्रश्न गरे । न्यौपानेले मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ ३६ बाट बढाएर ७२ पु¥याएको तर प्राविधिक ३६ जनामात्रै राखेकाले समस्या परेको सुनाए । १ प्राविधिकले २ ठाउँमा हेर्नुपर्दा समस्या भएको उनको भनाइ छ ।

न्यौपानेले मन्त्रालयले मुख्य गरी मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ, कोल्ड स्टोर निर्माण र स्याउ विशेष कार्यक्रम आफूले सोझै हेर्ने गरेको र अन्य कार्यक्रम २ दिर्नेशनालय सहित २५ कार्यालयमार्फत कार्यान्वयन गर्ने गरेको जानकारी दिए । प्रदेश सरकारको कृषि उत्पादन बढाउनेसँगै युवालाई विदेश पलायन हुनबाट रोक्ने, आयात रोक्ने र प्रदेशकै नमुना र उदारणीय प्रोजेक्टका रुपमा मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ रहेकाले प्रतिफल आउने गरी काम गर्न समितिले निर्देशन दिएको हो । सभापति कोइरालाले गुणस्तरीय, प्रभावकारी र पारदर्शी तवरले काम हुनुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया