व्यास मूर्ति बनाउन ३ करोड संकलन

समाधान संवाददाता २०७६ फागुन १ गते १४:१६

कृष्ण न्यौपाने
दमौली

१ सय ८ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि जनस्तरबाट रकम संकलन भइरहेको छ । तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब ३ करोड ५० लाख संकलन भएको हो । व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट सुरु भएको महायज्ञबाट यो रकम संकलन भएको हो ।

महायज्ञबाट अनुमान गरे बमोजिम नै रकम संकलन भएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । यो रकमले मूर्ति निर्माणका लागि काम गर्न प्रेरणा मिलेको श्रेष्ठ बताउँछन् । ‘आफ्नो ठाउँको विकासका लागि स्थानीय नै जागरुक भएर लाग्नुपर्छ भन्ने लक्ष्य बोकेर महायज्ञ आयोजना गरेका थियौं,’ श्रेष्ठले भने, ‘महायज्ञमा सबै क्षेत्रबाट प्रतिनिधित्व भएको महसुस भएको छ ।’

Advertisement

महायज्ञबाट संकलित रकमले मूर्ति निर्माणको प्रक्रियालाई छिट्टै नै अगाडि बढाउने श्रेष्ठले जानकारी दिए । व्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउने उद्देश्यले १ सय ८ फिटको व्यासमूर्ति निर्माण गर्न खोजिएको हो । मूर्ति निर्माणका लागि आवश्यक पर्ने तामाका लागि स्थानीयको घर घर पुग्ने अभियान सञ्चालन गरिनेछ । ‘पुराना तामाका सामग्री संकलन गर्न घरदैलो अभियान सञ्चालन गरिनेछ, ईंट्टा व्यवसायी, ढुंगा व्यवसायीसँग पनि निर्माण सामग्री सहयोग माग गर्ने योजना छ,’ श्रेष्ठले भने ।

महायज्ञबाट संकलित रकम पारदर्शी बनाउन आगामी फागुन २२ गते आयव्यय विवरण सार्वजनिक गर्ने विकास कोषले जनाएको छ । व्यासमूर्ति सहितको संरचना निर्माण गर्न जनस्तरबाट संकलित रकमले मात्रै सम्भव नरहेकाले प्रदेश र संघीय सरकारले पनि यसमा सहयोग गर्नुपर्ने श्रेष्ठले बताए । महायज्ञ मंगलबार समापन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि प्रदेश सरकारको तर्फबाट पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । धार्मिक पर्यटन समृद्धिको आधार रहेको चर्चा गर्दै मन्त्री लम्सालले १ सय ८ फिटको व्यासमूर्ति निर्माणपछि समग्र गण्डकी प्रदेशकै पर्यटनमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

Advertisement

व्यासमूर्ति निर्माणका लागि बनाइएको गुरुयोजना अनुसार सबै संरचना निर्माणका लागि ६४ करोड खर्च हुनेछ । व्यासको मूर्ति निर्माणको थालनी २०६८ सालदेखि भएको थियो । मूर्ति निर्माणका लागि रकम संकलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब ७० लाख जुटेको थियो । उक्त रकममध्ये १० लाख लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९ सय ९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २ सय १७ लाग्ने अनुमान रहेको विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।

निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै ७ करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि ३ तलाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र संग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

गुरुयोजना अनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैंचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्ति व्यासका अनुयायीको ५ साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया