छात्रालाई नियमित गराउन विद्यालयमै सेनेटरी प्याड

समाधान संवाददाता २०७६ फागुन १ गते १५:२८

कृष्ण न्यौपाने
दमौली

महिनावारी भएका बेला छात्राहरुलाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालय नआउने क्रम रोक्न गाउँपालिकाले म्याग्देका १० विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो ।

गाउँपालिकाभित्रका ४ माध्यमिक र ६ आधारभूत विद्यालयलाई ५ हजार १ सय ७० थान सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । विद्यालयमा अध्ययनरत छात्रा महिनावारीका बेला कक्षामा नियमित उपस्थित हुन कठिनाई भएकोले कक्षा नियमितताको लागि सहज हुने उद्देश्यका साथ सेनेटरी प्याड उपलब्ध गराइएको रानाले बताइन् ।

Advertisement

मीन माध्यमिक विद्यालयमा १ हजार ५ सय, राधा माध्यमिक विद्यालयमा १ हजार १ सय ७०, महेन्द्र माध्यमिक विद्यालयमा ७ सय, जनगणपति माध्यमिक विद्यालयमा ७ सय, विजय आधारभूत विद्यालयमा १ सय, गणेश माध्यमिक विद्यालयमा ३ सय, रत्न माध्यमिक विद्यालयमा ३ सय, प्रभा आधारभूत विद्यालयमा २ सय, अकला आधारभूत विद्यालयमा १ सय, पसले आधारभूत विद्यालयमा १ सय सेनेटरी प्याड वितरण गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

गाउँपालिकाले गत वर्ष पनि ९ विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको थियो । सेनेटरी प्याडले महिनावारी भएको समयमा छात्राहरुलाई विद्यालयमा नियमित गराउन सहयोग पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तीलकराज घिमिरेले जानकारी दिए ।

Advertisement

सम्बन्धित विद्यालयका शिक्षिकाहरुलाई नै प्याड व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्राहरुलाई सहज भएको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका अमृता वाग्लेले बताइन् । उनका अनुसार विद्यालयमै प्याड पाउने भएपछि रजश्वलाको समयमा विद्यालय नआउने छात्राहरुको दरमा कमी आएको छ । ‘महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने दर बढ्दै गइरहेको थियो, विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्राहरु नियमित आउने गरेका छन्,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया