विश्वविद्यालयमा नेतृत्व कहिले ?

समाधान संवाददाता २०७६ फागुन १ गते १५:३३

पोखरा विश्वविद्यालयमा उपकुलपति (भिसी) र रजिस्ट्रार नभएको गएको असोजदेखि हो । डिनका भरमा विश्वविद्यालय चलेको छ । भिसी लगायत पदाधिकारी नहुँदा विश्वविद्यालयको आउँदो १७ औं दीक्षान्त समारोहको तयारी हुन पाएको छैन । संघीय सरकारको मन्त्रिपरिषदले भिसी र रजिस्ट्रार नियुक्त गर्नुपर्ने हो, तर झन्डै दुईतिहाईको कम्युनिस्ट सरकारले यति काम पनि गर्न नसक्नु वा नगर्नु ठूलो कमजोरी हो । यसअघि विश्वविद्यालयहरुको नियुक्तिमा दलहरुले भागबन्डा गर्दै आएका थिए, तर अहिले नेकपाको एकल सरकार भएको हुँदा उसलाई भागबन्डा मिलाउनुपर्ने झन्झट छैन । सायद गुट उपगुटमा विभक्त यो पार्टीलाई दलभित्रकै भागबन्डा मिलाउने टन्टोचाहिँ हुनसक्छ । विश्वविद्यालयजस्तो पवित्र र प्राज्ञिक संस्थाको नेतृत्व भागबन्डाका आधारमा चयन गरिनु आफैंमा दुखद र बिडम्वनापूर्ण हो । प्राज्ञहरु दलको समर्थक हुन सक्छन्, तर दलाल हुनसक्दैनन् । त्यसैले धुपौरे प्राज्ञ नखोजी योग्य र सक्षमलाई विश्वविद्यालयको नेतृत्व सुम्पन्नु उचित हुन्छ । तब मात्रै प्राज्ञिक क्षेत्रको मर्यादा रहन्छ ।

मर्यादित र साँच्चिकै प्राज्ञिक नेतृत्वको विश्वविद्यालय प्रजातन्त्रलाई बनाउने महत्वपूर्ण कडी बन्न सक्छ । यति कुराको ख्याल राजनीतिक दल र तिनका नेताहरुले नगरेकै फलस्वरुप आज विश्वविद्यालयहरु प्राज्ञिक थलो बन्न नसकेको यथार्थ हामीसामु छ । त्यसको मूल्य देशले चुकाइरहनुपरेको छ । जहाँ विश्वविद्यालय कमजोर छन्, त्यहाँको समाज कमजोर छ र त्यो देश कमजोर छ । चीनले उत्तरोत्तर प्रगति गरेर आर्थिक रुपमा अमेरिकालाई टक्कर दिन थाल्दा पूर्व अमेरिकी राष्ट्रपति बाराका ओबामाले भनेका थिए, ‘हामीलाई त्यतिबेलासम्म कुनै फिक्कर हुनेछैन, जति बेलासम्म हाम्रा विश्वविद्यालयहरुमा संसारभरका विद्यार्थीहरुको आकर्षण भइरहन्छ ।’ हुन पनि उनले आफ्नो कार्यकालमा सबैभन्दा धेरै चासो र चिन्ता लिएर ध्यान दिएको क्षेत्र शिक्षा थियो । आज विश्वमा अमेरिका वा पश्चिमाहरुको राज हुनुको मुख्य कारण नै शिक्षा हो । ज्ञान हो । आजको विश्वमा ज्ञान उत्पादनको स्रोत पश्चिम छ । त्यही मूल कारणबाटै विश्व पश्चिमाहरुबाट परिचालित छ । यत्ति बुझ्दिएर हाम्रा विश्वविद्यालयका बेथिति अन्त्य गर्नपट्टि लाग्न वास्तवमै ढिला भइसकेको छ ।

पोखरा विश्वविद्यालयमा बेथितिको चाङ छ । खासमा यो संस्थाले विश्वविद्यालयको छनकसम्म पनि दिन सकेको छैन । यसबाट खोज, अनुसन्धान र शोधको अपेक्षा गर्न सक्ने समय नभएको हैन, यहाँको मूल कमजोरी नै त्यस्तैमा छ, जुन विश्वविद्यालयको महत्वपूर्ण कार्य हुनुपर्ने हो । त्यस्तो खोज र अनुसन्धान त परै पोखरा विश्वविद्यालयमा बेलामा परीक्षा हुँदैन । बेलामा परीक्षाफल निस्कँदैन । दीक्षान्त समारोह भनेको समयमा हुँदैन । पठनपाठनको स्तर उँभो लाग्दैन । कम्तीमा प्राज्ञिक थलोका विषयमा राजनीतिक नेतृत्व इमान्दार भइदिने हो भने समाज आफ्नै गतिले पनि अघि बढ्थ्यो । सँगसँगै देशको उन्नति प्रगतिमा योगदान पुग्थ्यो । एकातिर राजनीतिक नेतृत्वको अकर्मण्यता छ, अर्काेतिर विश्वविद्यालयमा विभिन्न जिम्मेवारीमा रहेकाहरु पनि इमान्दार हुन आवश्यक छ । दृढइच्छा शक्ति नभएकै कारण जिम्मेवारीमा रहेकाहरुबाट विश्वविद्यालयका निम्ति उनीहरुले खास योगदान गर्न नसकेको तीतो यथार्थ पनि छँदैछ ।

Advertisement

तपाईको प्रतिक्रिया