‘घाटा हुने गरी मूल्य तोकिएको छैन’

समाधान संवाददाता २०७६ फागुन २ गते १२:३४

समाधान संवाददाता
पोखरा

पानी उद्योगी तथा व्यवसायीले पछिल्लो २ वर्ष यता अनुज्ञापत्र नपाएको गुनासो गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले आयोजना गरेको पानी उद्योगी तथा व्यवसायीसँग असल उत्पादन अभ्यास तालिममा यस्तो गुनासो गरेका हुन् । कम्पनीले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी कागजात पेस गर्दा पनि अनुज्ञापत्र नपाएका कारण समस्या परेको उनीहरुको गुनासो थियो ।

नेपाल बोटल वाटर संघका केन्द्रीय उपाध्यक्ष यदुनाथ अधिकारीले सरकाले नै छिटोभन्दा छिटो अनुज्ञापत्रको व्यवस्था गर्नुपर्ने बताए । उनले पानी उद्योगको वर्गीकरण गरी नराम्रो उद्योगले के कारण अनुज्ञापत्र नपाउने त्यो पनि जानकारी दिनुपर्ने बताए । उद्योगको कमजोरी थाहा पाएमा सञ्चालकले पनि सुधारको मौका पाउने र सञ्चालकले अनुज्ञापत्रका लागि सुधार गर्ने बताए ।

Advertisement

सरकारले पानीको मूल्य घटाएकोप्रति विरोध गर्दै २५ रुपैयाँ र १६ रुपैयाँका बीचमा पानीको मूल्य हुनुपर्ने उनको माग थियोे ।

नेपाल बोटल वाटर संघ गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रमोहन अधिकारीले पानीसम्बन्धी परीक्षणका लागि पोखरा वा गण्डकी प्रदेशमा एउटा ल्याब हुनुपर्नेमा जोड दिए । ल्याब टेस्ट भए व्यवसायीलाई सजिलो हुने बताए । धेरैले पानी व्यवसायमा धेरै नाफा देखेर आएको भन्दै उनले प्राविधिक तथा अन्य कारणले यो व्यवसाय अन्य व्यवसायभन्दा अप्ठेरो रहेको बताए ।

Advertisement

पानी उद्योगी तथा सहभागी डिबी गुरुङले बेला बेलामा उद्योगीसँग तालिम गर्दा आगामी दिनमा काम गर्न सजिलो हुने धारणा राखे । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले विभिन्न कम्पनीको बिल हेरर बिल अनुसार नै पानीको मूल्य निर्धारण गरिएको जानकारी दिए । कुनै पनि कम्पनी वा व्यवसायीलाई घाटा हुने गरी मूल्य निर्धारण नगरेको दाबी गरे । उनले पानीको मूल्य अहिले नै संयोजन गर्न नमिल्ने धारणा राखे ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले अनुगमनको क्रममा पानी उद्योगमा कर्मचारीको लापरबाही भेटिएको उल्लेख गरे । कर्मचारीले लगाउनुपर्ने माक्स, एप्रोन, पञ्जा नलगाई काम गरेको भेटिएको उनले सुनाए । कतिपयमा चर्पी गएपछि हात धुने ठाउँ नरहेकोसमेत बताए । उनले त्यस्ता उद्योगलाई कारबाही गरिने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका कार्यालय प्रमुख प्रशान्त पोख्रेलले कार्यपत्र प्रस्तुत गर्दै पानी उद्योग सञ्चालन मापदण्डबारे जानकारी दिए । उनले उद्योगमा प्रयोग गर्नुपर्ने सामग्री र शुद्ध खानोपनी उत्पादन कसरी गर्ने भन्ने विषयमा जोड दिए ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवा कार्यालय प्रमुख निर्मलकुमार दाहालले खनिजयुक्त पानीको गुणस्तरको प्याकेटिङबारेमा जानकारी दिए । उनले कार्यपत्र प्रस्तुत गर्दै प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ बारे जानकारी दिए । उनले खानेपानीमा प्राविधिक समस्या आउनुको कारण र समाधानका उपाय सुझाए ।

उपभोक्ता हित मञ्च गण्डकीका सचिव पुण्यप्रसाद पौडेलले गुणस्तरीय पानी उत्पादन गरी मूल्य वृद्धि गर्न सकिने धारणा राखे ।

तपाईको प्रतिक्रिया