विकास बजेट शतप्रतिशत नै खर्च हुन्छ

किरण गुरुङ
आर्थिक मामिला तथा योजनामन्त्री
प्रदेश सरकार गठन भएको २ वर्ष पुग्यो । २ वर्षमा जनताको घरदैलोमा प्रदेश सरकार कहाँ कहाँ पुग्यो । जनताले कसरी महसुस गरेको देख्नुभएको छ ?
जग नबसी घर बन्दैन । घर नै नबनि सुरक्षाको महसुस हुँदैन । प्रदेश स्थापना हुँदा न घरको जग्गा थियो, न घर बनाउने जमीन । शून्यबाट सुरु गरेर पनि जनताका काम थाल्नै पर्ने बाध्यता थियो । हामीले जग बसाल्यौं । दरिलो घर बनाउने आधार तयार पार्यौं । जनताका कामलाई कसरी प्रभावकारी बनाएर जाने भन्ने कानुन आधार तयार पार्यौं ।
२ वर्षमा हामी जनताका अत्यावश्यक आवश्यकतामा पनि पुगेका छौं । सरकार सञ्चालन र दिगो विकासका निम्ति आधार पनि तयार पारेका छौं । हाम्रो तत्कालको अवस्था र जनताको इच्छा, आकांक्षा र आवश्यकतालाई नै प्राथमिकतामा राखेर बजेट ल्यायौं । बजेटलाई कार्यन्वयन गर्ने विधि, कानुन निर्माण गरिसकेका छौं ।
पञ्चायतदेखि पानी नपुगेका गाउँमा खानेपानी पुगेको छ । पुल भत्किएर प्रदेश सरकारकै कारण तत्काल पुल बनेको छ । वर्षौं अध्याँरोमा बस्नेहरुले उज्यालो पाएका छन् । सडक स्तरोन्नति र विस्तार भइरहेको छ । जनताले व्यावसायिक कृषिसँग जोडिन पाएका छन् । यस्ता थुप्रै काम छन्, जुन प्रदेश सरकार भएकै कारण जनताको दैनिकीमा बदलाव आएको छ ।
अहिलेसम्म १९ प्रतिशतमात्र बजेट खर्च छ । यो वर्ष सतप्रतिशत बजेट खर्च गर्ने भनिएको छ । के छ त्यस्तो आधार ?
गएको वर्ष यही समय ५÷७ प्रतिशतमात्रै बजेट खर्च थियो । अहिले १९ प्रतिशत पुगिसक्यो । अब यो वर्ष कम्तीमा पनि विकास निर्माण र कार्यक्रमका निम्ति छुट्याइएको बजेट सतप्रतिशत नै खर्च गर्ने लक्ष्य राखेका छौं । त्यो लक्ष्य पूरा हुने छ । डिपिआउर, टेन्डर र कार्यान्यन सँगसँगै भइरहेका छन् । कुन महिनाभित्र कति बजेट खर्च गर्ने लक्ष्यअनुरुप काम भइरहेका कारण लक्ष्य पूरा हुन्छ । गएको वर्षमा कानुनी, कार्यविधि थिएन । अब त्यो समस्या हट्यो । अब गर्ने भनेको काम र काम नै हो ।
गएको वर्ष मैले ७० प्रतिशत बजेट खर्च भए पनि उपलब्धिपूर्ण हुन्छ भनेको थिएँ । झण्डै त्यति नै बजेट खर्च भयो । कार्ययोजनाअनुसार काम भए÷भएन भनेर मुख्यमन्त्रीबाट मनिटरिङ हुन्छ । योजना आयोगले पनि योजनाहरुको कार्यान्वयनको मनिटरिङ गर्छ र अर्थ मन्त्रालयले पनि ठिक ढंगले भयो कि भएन भनेर अनुगमन गर्छ । यसरी सतप्रतिशत बजेट खर्च गर्ने गृहकार्य हुँदैछ । लक्ष्य नै नलिइ गन्तव्य पुगिँदैन । हामी गन्तव्य पुग्नकै निम्ति लक्ष्यअनुसार हिँडिरहेका छौं ।
यो वर्षदेखि राजस्व संकलनको दायरा बढाउँछौं भन्नुभएको थियो । राजस्वको नयाँ स्रोतहरुको केके पहिचान गर्नुभयो ? केके दायरा बढ्यो ?
संविधानले नै प्रदेशले कुन कुन राजस्व संकलनका क्षेत्रहरु तोकिदिएको छ । स्थानीय, प्रदेश र संघले के गर्ने संविधानले नै छुट्याइदिएको छ । करको दर बढाउनेभन्दा करको दायराभन्दा बाहिर रहेकालाई दायरामा ल्याउने हो । जति आएका छन् त्योभन्दा धेरै मान्छेहरुको करको दायराभन्दा बाहिर छन् । ७५ प्रतिशत मान्छेहरु बाहिर छन् । यो आर्थिक वर्षबाट हामीले कर क्षेत्रलाई व्यवस्थित गर्छौं । कृषि आयमा कर लगाउने हाम्रो अधिकार क्षेत्रमा छ । कृषि आय भनेर केमा कर लगाउने भन्ने दुविधामा थियौं । कृषि आयमा पनि कर उठाउने बाटो हामीले पहिल्याएका छौं । यो आर्थिक वर्षमै त्यो कर कसरी उठाउने भन्ने नियम बनाउँछौं ।
प्राकृतिक स्रोत प्रदेशको राजस्व संकलनको अर्को क्षेत्र हो । ढुंगा, गिटी, बालुवा, रोडा, खानी लगायतलाई पनि व्यवस्थित गर्दैछौं । ढुंगा, गिटी बालुवाको मात्रै होइन क्रसर, रोडा, चुन, खानी लगायत विभिन्न खालका उद्योगहरु छन् । त्यस्ता उद्योगको वर्गीकरण गरेर कुनमा कसरी कर लगाउने भन्ने कानुन बनाउँछौं । इट्टा उद्योगहरु पनि छन् । क्षेत्र तोक्ने काम गर्छौं । अहिले सबैलाई एउटै खालको नियम, एउटै दररेट छ । अब यी व्यवस्थित र फरक फरक दर हुन्छ ।
राष्ट्रिय वन प्रदेश मातहत छ । वन र यससँग जोडिएका व्यवसाय, आम्दानीलाई कसरी करको दायरामा ल्याउन सकिन्छ अभ्यास गरिरहेका छौं । भइरहेको सवारी साधनको करलाई पनि अझै व्यवस्थित गर्नुपर्ने छ । वर्कसपका बारेमा पनि नियम बनाउँछौं । अहिलेभन्दा २५ प्रतिशत बढी सवारी साधन कर उठ्न सक्छ । अर्को पर्यटन शुल्क तिनै तहले लिन सक्छ । कतिपय संघले पनि उठाइरहेको छ, स्थानीय तहले पनि उठाइरहेको छ । अब प्रदेशले पनि उठाउँछ । तर, एकद्वार प्रणालीबाटै कर संकलनको व्यवस्था गर्नुपर्छ । तिनै सरकारले लिन त मिलेन । त्यसैले प्रदेशले कुन कुन क्षेत्रमा पर्यटन कर लगाउने त्यो यसै वर्ष टुंग्याउँछौं । विज्ञापन, मनोरञ्जनका क्षेत्र पनि छँदै छ । घरजग्गाको रजिस्टे«सनमा पनि पुनर्मूल्यांकन गरेर नयाँ करको दर तोक्नुपर्छ । जग्गाको भाउ कहाँदेखि कहाँ पुगिसक्यो, शुल्क उही छ । १० देखि १५ अर्बसम्म राजस्व संकलनको स्थितिमा प्रदेशलाई पुर्याउने लक्ष्य हो । गएको वर्ष साढे २ अर्ब उठायौं । ५ वर्षभित्र ५ अर्ब पुग्छ ।
यही राजस्व बाँडफाँडका सवालमा स्थानीय तहसँग बेमेल देखियो । स्थानीय तहले राजस्वबापतको रकम प्रदेशमा नपठाइदिँदा वित्तीय समानीकरण अनुदानबाट काटेर पठाउने स्थिति किन आयो ?
केही नेपाल ऐन संशोधन हुँदा ढुंगा गिटी बालुवाबाट संकलित राजस्व स्थानीय सञ्चिति कोषमा दाखिला गर्ने भनेका केही विवादजस्तो देखिएको हो । हामीले केही दिनअघि सबै स्थानीय तहलाई डाकेर यस विषयमा छलफल पनि ग¥यौं । संविधानले नै व्यवस्था गरेको कुरा दिन्न भनेर पाईंदैन । कसैलाई अहिले पनि प्रदेशलाई नदिए पनि हुन्छ भन्ने लागेको होला । उसले पठाएन भने पनि भोलि त्यो बेरुजु देखिन्छ । गलत ढंगले बेरुजु देखियो भने कसैलाई बचाउन सकिँदैन । तर, राजस्व बाँडफाँडलाई व्यवस्थित बनाउन भने सकेका छैनौं । जसले उठाउने हो उसलाई ६० प्रतिशत र २ प्रतिशत सेवा शुल्क गरी ६२ प्रतिशत आफूले राखेर बाँकी अर्को सरकारलाई पठाउनुपर्छ । प्रदेश र स्थानीय दुबैका यी क्षेत्र छन् । केहीले पठाइराख्नु भएको छ । केहीमा समस्या आएको हो । यसलाई व्यवस्थित गर्न हामीले पनि सकेका छैनौं । यो वर्षदेखि त्यो समस्या आउँदैन ।
संघीयताको नयाँ अभ्यासमा छौं । सिक्दै छौं, काम गर्दैर्छौं भन्नुहुन्छ तर सेवा सुविधा लिने सवालमा चाहिँ हाम्रा जनप्रतिनिधि अनुभवी देखिए भन्ने आवाज आइरहेको छ नि ?
आर्थिक सुशासन कायम गर्न प्रदेश सरकारले कार्यविधि नै बनाएको छ । प्रदेशले बनाएको स्थानीय तहसम्बन्धीको कानुनलाई अदालतले खारेज गरिदियो । तर, जनप्रतिनिधिका लागि पनि एउटा बाँच्ने आधार तयार पारिदिनुपर्ने संविधानले नै प्रदेशलाई दिएको अधिकार । बाँच्ने आधार नै नभइ कुनै पनि जनप्रतिनिधिले जनताको सेवा गर्न सक्दैनन् ।
समग्र सुविधाका हिसाबले गण्डकी प्रदेश अन्य प्रदेशभन्दा कम सेवासुविधा प्रयोग गर्ने प्रदेशमै पर्छ । कतिपय सन्दर्भमा हामीले कानुनी हिसाबले नै काम गरौंभन्दा बढी चर्चा भयो । कानुन नै निर्माण नगरेको भए झन् बेथिति बढ्थ्यो । स्थानीय तहका सन्दर्भमा कानुन निर्माण गरेर सुविधा बढाउँदा धेरै चर्चा भएको हो ।
प्रदेशका मन्त्रीहरुले महंगो गाडी चढेकोदेखि सेवा सुविधा सम्मका विषय पनि चर्चामा आए । तर, समय, प्रविधि र जनताको काम गर्नकै निम्ति भरपर्दो साधन किन्दा चर्चा भएको हो । कुनै मन्त्रीका लागि ब्यक्तिगत गाडी किनिएको होइन् । प्रदेशको काम गर्ने जिम्मेवारी पाएका मन्त्रीलाई छिटो, छरितो र भरपर्दो सेवा प्रवाह र जनतासम्म पुग्न सहज होस् भनेर बलिया साधन किनिएको हो । भोलि त्यो पदमा अर्को मान्छे आउँछ, अरुले चड्छन् ।
संसारभरि नै कुनै पनि राजनीतिक दलबाट आएका जनप्रतिनिधि बिहान १० बजे अफिस आएर हाजिर गरेर बस्ने अनि ५ बजे घर फर्कने हुँदैनन् । जनप्रतिनिधि जनतासम्म पुग्नैपर्छ । जनताका दुख बुझ्ने, सम्बन्धित ठाउँमै पुगेर बस्तुस्थिति बुझ्ने र योजना बनाउने हो । सबै ठाउँमा हिँडेर जान सकिँदैन । त्यसका लागि बलियो र नयाँ प्रविधि प्रयोग गर्नुपर्छ । देश बलियो बनाउने हो, जनताको स्तर बढाउने हो । नयाँ प्रविधि र टिकाउ साधन प्रयोग गर्ने हो । यो थोरै महंगो हुनसक्छ । तर, त्यसले घाटा पु¥याउँदैन ।
प्रस्तुतिः अमृत सुवेदी÷समाधान




पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया