जापानी धावक ताकानासीलाई म्याराथन उपाधि

समाधान संवाददाता २०७६ फागुन ४ गते १६:४७

समाधान संवाददाता
पोखरा

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि जापानका ताकानासी युसुकीले हात पारेका छन् । युसुकीले ४२.१९५ किमी दौडमा नेपालका किरण सिंह बोगटीलाई पछि पार्दै उपाधि जितेका हुन् । बोगटी १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता हुन् ।

१ सय ५ धावकलाई पछि पार्दै ताकानासीले दौड २ घन्टा २६ मिनेट ५१ सेकेन्डमा पूरा गरे । युसुकीले नगद २ लाख जिते । २३ वर्षीय ताकानासीले पोखरासँग भगिनी सम्बन्ध रहेको जापानको कोमागाने सहरबाट प्रतिनिधित्व गर्दै पोखरा आएका हुन् । ताकानासीभन्दा १ मिनेट ५७ सेकेन्ड ढिलो दूरी पार गरेका नेपाली धावक सशस्त्र प्रहरी बलका किरणसिंह बोगटी दोस्रो बने । उनले नगद १ लाखमा चित्त बुझाए ।

Advertisement

२ घन्टा २९ मिनेटमा दूरी पार गर्दै एपिएफ गण्डकी प्रदेशका अनिस थापामगर तेस्रो बने । उनले ७५ हजार पाए । एपिएफकै गणेशसिंह ठकुरीले २ घन्टा ४१ मिनेट ६ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गरे । ठकुरीले १५ हजार हात पारे । १० किलोमिटर सडक दौडमा पुरुषतर्फ स्याङ्जाका पूर्णबहादुर कार्की प्रथम भए । उनले यो दूरी ४० मिनेट ४२ सेकेन्डमा पार गरे । ४१ मिनेट ३१ सेकेन्डमा लक्ष्य पार गर्दै याङदेव राई दोस्रो भए । ४१ मिनेट ४० सेकेन्डमा पार गर्दै पर्वतका आशीष कुँवर तेस्रो पुरस्कारका हकदार बने ।

१० किलोमिटर दौड महिलातर्फ धरानकी इन्द्रकला नेम्बाङ प्रथम भइन् । उनले निर्धारित दूरी ५१ मिनेट २० सेकेन्डमा पार गरिन् । ५३ मिनेट २७ सेकेन्डमा यो दुरी पार गर्दै सोलुखुम्बुकी अनिता राई दोस्रो र ५४ मिनेट ४७ सेकेन्डमा पार गर्दै अमेरिकाकी विन्डी तेस्रो बने । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार जितेका छन् । पोखराका ७३ वर्षीय टंकबहादुर श्रेष्ठले १० किलोमिटर सडक दौड पूा गरेका छन् ।

Advertisement

५ किलोमिटर पुरुष सडक दौडमा कुमुदिनी होम्सका विनोद गुरुङ प्रथम भए । उनले निर्धारित दूरी १७ मिनेट ५३ सेकेन्डमा पार गरे । यो दुरी १८ मिनेट ३७ सेकेन्डमा पार गर्दै माछापुच्छ्रे गाउँपालिकाको ज्ञानज्योति माविका विवेक भुजेल दोस्रो र १९ मिनेट ४० सेकेन्डमा पार गर्दै न्यु लाइट बोर्डिङ स्कुलका प्रदीप भुजेल तेस्रो बने । ५ किलोमिटर महिला दौडमा धम्पुस उदय माविकी विनु विक प्रथम भइन् । विकले २३ मिनेट ६० सेकेन्डमा दूरी पार गरिन् । प्रतियोगितामा प्रतीक्षा सुवेदी दोश्रो र माधुरीदेवी कुर्मी तेस्रो बने । ५ किलोमिटर दौडमा पहिलो हुने महिला÷पुरुषले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाएका छन् ।

ह्विलचियर दौड पुरुषतर्फ सुरेश गौली प्रथम भए । भरत अधिकारी दोस्रो र खुमबहादुर पाण्डे तेस्रो बने । महिला ह्विलचियर प्रतियोगितामा पुनम विक प्रथम, धना मगर दोस्रो र लक्ष्मी सुनार तेस्रो भए । दुवै इभेन्टमा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र दोस्रो हुनेले २ हजार पाएका छन् ।

दृष्टिविहीनको १ सय मिटर दौडमा पुरुषतर्फ प्रमोद दाहाल प्रथम, आशीष खड्की दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । महिलातर्फ वीनित सुनार प्रथम, सृजना परियार दोस्रोे र सुकमाया विक तेस्रा भएका छन् । दुवै प्रतियोगितामा प्रथमलाई ५ हजार, दोस्रालाई ३ हजार र तेस्रालाई २ हजार प्रदान गरियो ।

१४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा सफल पार्न पिस रनमा १२ देशका २१ जना विदेशी धावक सहभागी भएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । बेलायतबाट ५० जनाभन्दा बढीले म्याराथनमा सहभागिता जनाएका छन् । पोखरा म्याराथनकी संयोजकसमेत रहेकी भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ राइले १० किलोमिटर दौड पूरा गरिन् । क्यान्सर रोग निको भएर समाजसेवा र खेलकुदमा सक्रिय मञ्जुले स्वास्थ्य रहन दौडनुपर्छ भन्ने सन्देश दिन आफू पोखरा आएको बताइन् ।

बेलायतका क्यानसर पीडित धावक पाण्डव महतोले ३ घन्टा ३१ मिनेटमा ४२.१९५ किलोमिटर दौड पूरा गरे । खेलकुदले नै रोगलाई जित्न सक्छ भन्ने सन्देश लिएर आएको उनको भनाइ छ ।

पोखरा म्याराथनलाई गैरआवासीय नेपाली संघ युके अध्यक्ष पुनम गुरुङले संघको तर्फबाट१ लाख सहयोग गरिन् । गैर आवासीय नेपाली संघ हङकङ अध्यक्ष टीका गुरुङले पोखरा म्याराथनलाई २५ हजार प्रदान गरिन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले दौड सुरुआत गरेका हुन् । प्रतियोगितामा ओलम्पियन बैकुण्ठ मानन्धर विश्व शान्तिको कामनासहित पिस टर्च लिएर दौडिए । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसदद्वय राजीव पहारी, र कृष्ण थापा, पोखराका व्यवसायी अशोक पालिखे लगायतले ५ किलोमिटर दूरी पार गरे ।

विजयी खेलाडीलाई लक्ष्मी हाउसका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, पोखरेली मञ्च युके अध्यक्ष मानप्रसाद गुरुङ, संयोजक मञ्जु गुरुङ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

रन फर फनमा पोखरा महानगरका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसहितका व्यक्तित्व सहभागी भएका थिए । धावकहरुलाई पोखरेलीले विभिन्न ठाउँमा स्वागत गरेका थिए । प्रतियोगितालाई प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी गु्रप अन्तर्गतको सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजन गरेको छ ।

तपाईको प्रतिक्रिया