सुरजलाई सचिन स्मृति दौडको उपाधि

समाधान संवाददाता २०७६ फागुन ४ गते १६:५३

कृष्ण न्यौपाने
दमौली

रोटर्‍याक्ट क्लब अफ दमौलीले क्लबका संस्थापक सचिव स्व. सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको दौडको उपाधि सुरज दुराले जितेका छन् । दमौलीदेखि र घाँसीकुवादेखि दमौलीसम्मको ९ किमी दूरी ३३ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै व्यास नगरपालिका ६ सिसाघाट निवासी दुराले सत्रौ सचिन स्मृति दौडको उपाधि जितेका हुन् ।

भारतीय सेनामा कार्यरत २८ वर्षीय दुराले बिदामा घर आएको बेला पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा ३४ मिनेट १८ सेकेन्डमा उक्त दूरी पूरा गर्दै भानु नगरपालिका १२ का अनील मजकोटी द्वितीय भएका छन् । नम्बर ३ जगदल गण भानुमा कार्यरत २३ वर्षीय मजकोटी गत वर्ष पनि द्वितीय भएका थिए ।

Advertisement

प्रतियोगितामा ३५ मिनेट २३ सेकेन्डमा उक्त दूरी पूरा गरेर व्यास नगरपालिका ६ सिसाघाट निवासी १७ वर्षीय प्रमिश गुरुङ तृतीय भएका छन् । उनी व्यास नगरपालिका १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत छन् । विजेताहरुले क्रमश ९ हजार १७ रुपैयाँ, ५ हजार १७ रुपैयाँ, ४ हजार १७ रुपैयाँ प्राप्त गरेका छन् ।

महिलातर्फ भएको दौडमा ४४ मिनेट ५९ सेकेन्डमा उक्त दूरी पार गर्दैै करुणा श्रेष्ठ प्रथम र ४५ मिनेट ५८ सेकेन्डमा उक्त दूरी पार गर्दै रोशी अधिकारी द्वितीय भएका छन् । उनीहरुले क्रमश १ हजार ५ सय र १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिमा ३९ धावक सहभागी थिए ।

Advertisement

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रतियोगिता उद्घाटन गरे । हरेक वष सहिद दिवसको अवसरमा मानहुँदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्दै आएको नगरपालिकाले यस वर्षको नारी दिवसमा दमौलीदेखि तनहुँसुरसम्म महिला दौड गर्न लागेको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया