राजनीतिमुक्त र अनुसन्धानयुक्त विश्वविद्यालय

समाधान संवाददाता २०७६ फागुन ५ गते ११:४४

प्राडा गणेशमान गुरुङ
कुलपति
गण्डकी विश्वविद्यालय

एकपटक सांसद र त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको अध्यक्षसमेत भइसकेको मान्छे प्रदेश विश्वविद्यालयको कुलपतिमा कसरी आउनुभयो ?
शैक्षिक क्षेत्रको लामो अनुभव, आफूले ग्रहण गरेका अहिलेसम्मका पदहरु र उमेरका हिसाबले मैले यो पल स्वीकार नगरे पनि हुने थियो, जागिरका लागि । मैले चाहेको के हो भने, मेरो जीवनभरको अनुभवलाई कतै व्यक्त गर्न सकिन्छ त ? भन्ने हो । गण्डकी विश्वविद्यालयलाई नेपालमा उत्कृष्ट विश्वविद्यालय बनाउन स्थापना गर्न सकुँला कि नसकुँला भन्ने हो । उद्देश्य भनेकै उत्कृष्ट विश्वविद्यालय खोल्ने भएकाले मैले यो पदमा सोचेर, विचार गरेर स्वीकार गरेको हुँ । विज्ञापन देखेको थिएँ, दरखास्त दिएर आउने मेरो चाहना पनि थिएन । विश्वविद्यालयको अनुदान आयोगको अध्यक्ष भइसकेको मान्छे, संविधान सभा सदस्य भइसकेको मान्छे, निवेदन दिएर नआउन पनि सक्थें । मुख्यमन्त्रीज्यूको योजना पनि सुनें, आफ्नै प्रदेशमा उत्कृष्ट विश्वविद्यालय बनाउनेभन्दा मेरो पनि जीवनको उत्तराद्र्धमा मैले योगदान गर्नुपर्छ भनेर निर्णय गरें ।

हाम्रा विश्वविद्यालयहरु राजनीतिको अखडा बने, अस्तव्यस्त बने भन्ने आवाज उठिरहेका बेला प्रदेशको विश्वविद्यालय कस्तो बन्छ ?
गण्डकी प्रदेशको विश्वविद्यालय राजनीतिक प्रभावमुक्त हुन्छ । पद नै यहाँ कुलपति छ । संघमा हो भने प्रधानमन्त्री र प्रदेशमा हो भने मुख्यमन्त्रीले ग्रहण गर्ने पद हो, यो । मुख्यमन्त्रीले समयानुकुल आफूलाई बाहिर राखेर निर्णय गर्नुभयो । पश्चिमी विश्वविद्यालयहरु यही ढंगले चलेको कताबाट आभास र अनुभव मिल्यो उहाँलाई । यसरी नै राजनीतिक प्रभाव बाहिर त्यस्तो खालको विश्वविद्यालय सञ्चालन होस् भन्ने उहाँको चाहाना रहेछ । उहाँले नै भन्नुहुन्छ, नेपालमा हातमा भएको शक्ति दिन मान्दैनन् तर उहाँले छोड्नुभयो । कुलपतिले चलाउने र हाम्रा विश्वविद्यालयलाई स्वतन्त्र ढंगले छोड्नुपर्छ भन्ने मुख्यमन्त्रीको मान्यताअनुसार नै यो चल्छ ।

प्रदेशलाई विश्वविद्यालय नै आवश्यक हो कि होइन भन्ने बहस चलिरहेका बेला यहाँले कहाँबाट काम सुरु गर्नुहुन्छ ?
पहिले त जग्गा प्राप्ति हुनुपर्‍यो । त्यसपछि उपकुलपति, रजिस्ट्रार लगायत महत्वपूर्ण पदहरुमा नियुक्त गर्नुपर्‍यो । त्यसपछि विज्ञहरुबाट न्यासिक परिषद पनि गठन गर्नुपर्‍यो ।

नेपालमा बजारमा बिक्न सक्ने, स्वदेश र विदेशको शैक्षिक प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने सोचका साथ अगाडि बढ्ने हो । न्यासिक समिति गठन गर्ने । गण्डकी प्रदेशमा कस्ता कस्ता जनशक्ति चाहिँदो रहेछ रिपोर्ट दिनु भनेको छु । जबकि यो मुलुकको राष्ट्रिय योजना आयोगले पनि यो काम गर्दैन । कति जनशक्ति कुन कुन क्षेत्रमा चाहिन्छ भन्ने रिपोर्ट आएपछि त्यहीअनुसारको जनशक्ति उत्पादन गर्न हामी लाग्ने छौं । कुन कुन विषयमा कार्यक्रम सञ्चालन गर्ने भन्ने बारेमा पाठ्यक्रम निर्माण गर्ने हो । गण्डकी विश्वविद्यालयको प्रारम्भिक अध्ययन पनि मेरै नेतृत्वमा भएको थियो ।

बेलचौतारमा विश्वविद्यालयका लागि जग्गा प्रास्ताव भएको छ । त्यसको अध्ययन समितिको संयोजक पनि म नै थिएँ । त्यसपछि प्रदेशलाई कस्तो जनशक्ति चाहिने हो त्यहीअनुसारको काम अगाडि बढ्छ ।

हाम्रा भइराखेका विश्वविद्यालयहरुमा अनुसन्धान नै हुँदैन, सरकारले अनुसन्धानमा लगानी नै गर्दैन भन्ने छ । । गण्डकी विश्वविद्यालयमा के हुन्छ ?
त्रिभुवन विश्वविद्यालय ज्यादा विद्यार्थीको नेताको प्रभावमा पर्‍यो । त्यसैका कारण पनि त्यहाँ खास अनुसन्धान नै हुँदैन । म पनि राजनीतिक प्रभावबाट टाढा रहनुपर्छ । गुणस्तरको शिक्षा दिनलाई मैले नेतृत्व गर्नुपर्छ ।

शिक्षण र अनुसनधान भनेका एउटै सिक्काका २ पाटा हुन् । तर त्रिभुवन विश्वविद्यालयमा अनुसन्धान लथालिंग छ । अनुसन्धानका ४ अंग छन् । त्यस्तो राख्नु हुँदैन । अनुसन्धानको पनि एकद्वार प्रणाली हुनुपर्‍यो । प्रदेशमा त्यस्तै एकद्वार प्रणालीको अनुसन्धान केन्द्र खोल्छ ।

नेपाल र विश्वविद्यालयका बीचमा संवाद र त्यति मेलमिलापको सम्बन्ध छैन । किनभने म आफैं विश्वविद्यालयमा हुँदा पनि लौ न यो विषयमा अनुसनधान गर्नुपर्‍योभन्दा सचिवहरुलाई भेट्दै हिँड्नुपर्छ । सरकारबाट हुने अनुसनधानका विषयहरु विश्वविद्यालयसँग जोडिदिनुपर्‍यो । संस्थागतरुपमा लाने काम गर्नुपर्‍यो । यहाँ पनि यो कुराको अभाव छ । यो कुरा हाम्रा मन्त्रीहरुले कसरी हेर्नुभएको छ थाहा छैन । प्रदेश सरकारले गर्ने अनुसन्धान प्रदेश विश्वविद्यालयलाई दिने कि नदिने ? यसो गर्दा आम्दानी पनि आइराख्छ । सरकारसँग विश्वविद्यालयको सम्बन्ध भएन भने अनुसन्धान हुँदैन । मैले कुरा मुख्यमन्त्री र मन्त्रीहरुलाई बुझाएर अनुसन्धानलाई जोड्छु ।

विश्वविद्यालयमा कस्ता पाठ्यक्रम र कार्यक्रम सुरु गर्ने सोच छ त ?
प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राथमिकतामा पर्छ । अर्को पर्यटनलाई समाजसँग जोडेर कार्यक्रम तयार पार्ने योजना छ । समाजशास्त्र समाजको अध्ययन गर्छ त्यसमा अब पर्यटन क्षेत्रलाई जोड्ने योजना हो । सिभिल इन्जिनिरिङसँग हाइड्रोपावरको अध्ययनलाई पनि सँगै लैजान सकिन्छ । गण्डकी प्रदेशमा हाइड्रोको पर्याप्त सम्भावना छ । आइटी, समाजशास्त्र र टुरिजन अनि हाइड्रो मुख्यत यी विषय हुन सक्छन् ।

तपाईको प्रतिक्रिया