सांस्कृतिक मोहनी गुमाउँदै मुस्ताङ

समाधान संवाददाता २०७६ फागुन ५ गते १२:१५

थाक टुकुचे गाउँको पुरानो बस्तीका घरको छतमाथि राखिएको दाउरा ।
तस्बिरः एसके थकाली

एसके थकाली
जोमसोम

मुस्ताङ धार्मिक, सामाजिक र सांस्कृतिक विशेषताले धनी छ । यहाँको भेषभूषा, मौलिक पहिचान, रहनसहन, चाडपर्व, सामाजिक सभ्यता र सांस्कृतिक योगदानले मुस्ताङको पर्यटन क्षेत्र उचाइमा पुगेको हो ।

Advertisement

प्राचीन शैलीका घरका छतमाथि दाउराको खलियो लगाउने सदियौंदेखिको विशेषता हो । यसले मुस्ताङ भ्रमणमा आउने पर्यटकको मन लोभ्याएको थियो । यहाँको धार्मिक, भौगोलिक र कलात्मक दृश्य हेरेर पर्यटक मोहित हुन्छन् । छतमाथि लस्करै दाउरा राख्ने परम्पराले यहाँको संस्कारलाई जीवन्त बनाइदिएको छ ।

मुस्ताङका ५ स्थानीय तहमा ९६ गाउँ छन् । उपल्लो मुस्ताङमा गुरुङ, विष्ट र लोहा समुदायको बस्ती छ भने तल्लो मुस्ताङमा थकाली, दलित र अन्य जातिको बस्ती छ । म्याग्दी हुँदै उत्तरतर्फको उकालो मुस्ताङ हान्निए पहिलो गाउँ भेटिन्छ थासाङ ४ को घाँसा । घाँसादेखि उकालो लाग्दा अधिकांश गाउँबस्तीमा घरका छतमा लस्करै दाउरा राखेको देखिन्छ । यो चलन मुस्ताङका ९६ गाउँमै देख्न सकिन्छ । एकापसमा जोडिएका आर्कषक र कलात्मक घर, सख्खर माटो बिछ्याएको माटोले निर्मित छतमा दाउरा सजाउने चलन परापूर्व कालदेखिकै हो ।

Advertisement

बर्सेनि जाडो याममा नजिकैको जंगलबाट खोजेर ल्याएका दाउरा घरका छतमाथि चाङ पारेर सुकाइन्छ । भूपी शेरचनको गाउँ थाक टुकुचेको पुरानो बस्तीमा यस्तै दृश्य देखिन्छ, जुन मुस्ताङका अन्य गाउँमा जीवितै छ ।

टुकुचेका स्थानीय सपुत थकालीले घरका छतमा दाउराको खलियो लगाउने चलन पुरानो संस्कृति भएको बताए । घरको छतमा दाउरा पाँजेर सजाउँदा आकर्षक देखिने, राम्ररी सुक्ने र आवश्यक परेको बेला प्रयोग गर्न सजिलो हुने भएकाले छतमा राखिएको थकालीको भनाइ छ । छतमा दाउरा राख्दा घरको मौलिक संस्कृति झल्किनुका साथै घरलाई हावाहुरी र पानीबाट सुरक्षित हुने उनको तर्क छ ।

मुस्ताङमा कतिपय घरका छतमाथि सजाएका दाउरा २ दशक पुराना हुन् । जोमसोमका अजित थकालीका अनुसार छतमाथि दाउरा राख्ने संस्कृतिले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ । जुन घरमा बढी मात्रामा दाउरा सजाइएको हुन्छ, त्यो घर आर्थिक रुपले समृद्ध भएको विश्वास गरिन्छ । उनले भने, ‘दशकौंअघि घरका छतमा दाउरा हेरेर छोरी माग्ने चलन थियो रे । पछिल्लो समय यो मान्यता हटेको छ ।’

यो प्राचीन संस्कृति पछिल्लो समय विस्थापित हुने खतरा बढेको छ । मुस्ताङका स्थानीय तहले भने संस्कृति संरक्षणमा चासो दिएका छैनन् । यातायातको पहुँचसँगै मुस्ताङको मौलिक संस्कृति धरापमा परेको हो । पुरानो सख्खर माटोले बनेका घर धमाधम मासिँदै छन् भने त्यसको बदलामा नयाँ आरपससी घर बन्न थालेका हुन् । सरकारले उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना विस्तार गर्दै गर्दा तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका पुराना घर लोप हुनै लागेका छन् ।

पुराना घरमा दाउरा सजाउने चलनका अलावा यहाँका प्रत्येक घरमा लुंतासहितको झन्डा हुन्थ्यो । जसले तिब्बतीयन संस्कृतिको झल्को दिन्थ्यो । यही क्रममा नयाँ घर बन्दै गए अबको १० वर्षभित्र पुरानो संस्कृति संकटमा पर्ने निश्चित छ । १ दशकअघि मुस्ताङमा पानी पर्दैनथ्यो । यसैले हिउँ थेग्ने हिसाबले घरका छतमा सख्खर माटोले छाइन्थ्यो । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको तापक्रम बढेपछि असमान हिमपात र वर्षा हुन थालेको छ ।

यहाँ पानी पर्न थालेपछि पुराना घर जोखिमा परेका हुन् । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा संस्कृतिमात्र होइन, प्राकृतिक सम्पदासमेत मासिन थालेको एक्याप जोमसोमले जनाएको छ ।

तपाईको प्रतिक्रिया