प्रथम सहिद लखन साझा विभूतिः मेयर जिसी

समाधान संवाददाता २०७६ फागुन ५ गते १५:०९

समाधान संवाददाता
पोखरा

पोखराका मेयर मानबहादुर जिसीले नेपालका प्रथम सहिद लखन थापामगर नेपालका साझा विभूति भएको बताएका छन् । प्रथम सहिद लखनको १ सय ४३ औं स्मृति दिवसमा पोखरामा नेपाल मगर संघ कास्कीले आयोजना गरेको स्मृतिसभामा मेयर जिसीले लखन थापा कुनै समुदाय विशेषको मात्र सहिद नभएको उल्लेख गरे । देश र जनताका लागि आफ्नो प्राणको आहुति दिने थापामगर पहिलो सहिद भएको बताउँदै उनले महानगरले आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

सहिदका सपना पूरा गर्न नसके सहिदको रगतले सराप्ने भन्दै मेयर जिसीले देशलाई समृद्ध बनाउँदै जनतालाई सुखी बनाउने अभियान पूरा गर्न सकेमात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे । विद्यमान समस्याको समाधानका लागि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउँदै अब पनि केही नगर्ने हो भने सहिदको अपमान हुने भनाइ राखे ।

Advertisement

नेपाल मगर संघ कास्कीका सल्लाहकार बालकृष्ण काउछामगरले राज्यले लखन थापालाई प्रथम सहिदको रुपमा सम्मान दिइएको तर सम्मान यतिले मात्र नपुग्ने बताए । सहिद थापामगरलाई मगर समुदायको मात्र भन्ने बुझेर बेवास्ता गर्ने गरिएको भन्दै काउछामगरले राज्यले नै उनको स्मृतिमा कार्यक्रम गर्नुपर्ने तर्क गरे । नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुनमगरले प्रथम सहिद लखन थापामगरलाई मगर समुदायले मात्रै सम्झिने अवस्था हुनु दुखद् भएको भन्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिन् । नेपाल मगर संघ कास्कीका उपाध्यक्ष बुद्धिमाया थापामगर र सचिव रामबहादुर थापामगरले लखनचोकमा स्थापित थापामगरको सालिक कुनै पनि बाहानामा अन्यत्र सार्न नहुने जिकीर गरे ।

जहानियाँ निरंकुश राणा शासनविरुद्ध पहिलो पटक जनस्तरबाट संगठित जनविद्रोहको नेतृत्व गरेका थापामगरलाई उनका सहकर्मी जयसिंह चुमीमगरसहित प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको आदेशमा १९३३ साल फागुन २ गते गोरखाको काहुले भंगारमा फाँसी दिइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया