अक्षरयात्रा प्रतिभा पुरस्कार सञ्जीवलाई

समाधान संवाददाता २०७६ फागुन ५ गते १५:४५

समाधान संवाददाता
पोखरा

यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार सञ्जीव पौडेललाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखरा तथा नवनीत साहित्य सागरद्वारा संयुक्त रूपमा सञ्चालित अक्षरयात्रामा संलग्न भई साधनारत स्रष्टालाई यो पुरस्कार प्रदान गरिन्छ ।

साहित्यकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिमा साहित्यकार दीपक समीप, आयोजक संस्थाका अध्यक्षद्वय लक्ष्मण थापा र मोहन भण्डारी सदस्य थिए ।

Advertisement

साहित्यकारद्वय गोविन्द गिरी र कृष्ण देवकोटाले युवा साहित्यकारलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६५ सालमा यो पुरस्कार स्थापना गरेका हुन् । अक्षरयात्राको १ सय ७५ औं शृंखलामा फागुन तेस्रो शनिबार कास्कीको रूपा ७ हंसपुरमा हुने कार्यक्रममा सो पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि नगद ५ हजार ५ सय ५५ रुपैयाँ छ ।

रूपा ७ स्थायी घर भएका पौडेल २ दशकदेखि पोखरामा रहेर साहित्य सिर्जना तथा अखबारी लेखनमा समेत सक्रिय छन् । उनको ‘यानी’ नामक मुक्तक संग्रह प्रकाशित छ । ‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ नारा दिएर प्रत्येक महिनाको तेस्रो शनिबार विभिन्न ठाउँमा गई ततस्थानीय रचना लेख्ने र सुनाउने अक्षरयात्राको विशेषता हो । साहित्यिक पर्यटन यसको अर्को मुख्य उद्देश्य रहेको हो ।

Advertisement

ती ठाउँका स्थानीय विशेषतालाई साहित्यिक रचनामा समेटेर प्रचारसमेत गर्ने गरेको गजल सन्ध्या अध्यक्ष मोहन भण्डारीले बताउँछन् । हालसम्म यो पुरस्कारबाट प्रकाश ज्ञवाली, रूपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी, सुरज उपाध्याय पुरस्कृत भइसकेको नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया