देशभन्दा पुरानो मुस्लिम समुदाय

समाधान संवाददाता २०७६ फागुन ५ गते १६:२९

मोहम्मद वाहिद अलि

एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काखमा अवस्थित देश हो नेपाल । एकीकरण पूर्व नेपालको सिमानाभित्र विभिन्न ससाना राज्य—रजौटा थिए । जहाँ मुस्लिम समुदाय पनि बसोबास गर्दै आएका थिए । नेपाल राज्यको भौगोलिक एकीकरण राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले २ सय ४८ वर्ष अगाडि १८२५ सालमा काठमाडाैं विजय गरेर सुरुआत गरेका हुन् । यो क्रम चलिरह्यो । सुगौली सन्धिले त्यसबेलाको गोरखा राज्यलाई नेपाल राज्यको कानुनी मान्यता प्राप्त गरेको तथ्यलाई मान्नैपर्ने हुन्छ । त्यस्तै सन् १९२३ को नेपाल सरकार र ब्रिटिस सरकारबीच चन्द्र शमशेरको प्रयासमा भएको सन्धिले पहिलोपटक नेपाल सार्वभौमसत्ता र स्वतन्त्रताको कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्यबाट मान्यता प्राप्त गर्‍यो ।

नेपाली मुस्लिम हालको नेपालको भूमिभित्र धेरै पहिलादेखि बसोवास गरेका विभिन्न तथ्यहरु छन् । त्यसो त यहाँका आदिवासीहरुले मुस्लिम धर्म परिवर्तन गरेका हुन् भन्ने पनि धेरै आधारहरु छन् । सातौं शताब्दीतिर लिच्छवीकालमा नेपालबाट अरब देशमा व्यापार गरेको देखिन्छ । जसको चर्चा अरबी पुस्तक ‘हुउद अल आलम’ गरिएको छ । मुगलहरुले भारतमा शासन गर्दा हालको नेपालको सीमाभित्रका राज्यहरुमा राजनीतिक हस्तक्षेप थियो भनिन्छ । पक्कै पनि यी अवस्थामा एकआपसमा कला, संस्कृति, रहनसहनका साथै धार्मिक सद्विचारहरु आदानप्रदान भएका थिए । जसका निम्ति पुरातात्विक महत्व बोकेका सम्पदाहरुमा भेटिएका कलाकृतिहरुबाट अनुमान लगाउन सकिन्छ । त्यसो त इतिहासको दस्तावेजले राजा रत्न मल्ल (ईसं १४५४ – १५२० ) को पालामा मुस्लिमहरु स्थायी रुपमा यहाँ बसोबास गरेका हुन् भनिएको छ । तथापि इतिहासको सत्य तथ्य तथा भित्री पहलु बेग्लै छ ।

Advertisement

परापूर्वकालमा मानिसहरु फिरन्ते स्वभावका थिए । उनीहरु घुम्र्दैै देश देश फिर्ने गर्दथे । धेरै विद्वानहरुले काठमाडाैं उपत्यकाको पहिलो बासिन्दा तामाङ हुन् भन्ने गर्दछन् । तामाङ तथा आदिवासी कहलिएका समुदायहरु मंगोलिया तथा तिब्बतबाट हिमाल पार गरी नेपाल आइपुगेको थिए । लिच्छवी र मल्लहरु दक्षिणको गंगा मैदानबाट आएका थिए । नेवारहरु आफ्नो उद्गमस्थल काठमाडाैं खाल्डोलाई मान्ने गरे पनि उनीहरु नायर भन्ने ठाउँबाट आएका हुन् भनिन्छ । मुगलको अतिक्रमणपछि हिन्दुहरु नेपाल प्रवेश गरेका थिए । त्यस्तै मुस्लिमहरु बाइसे चौविसे गणराज्यहरुमा विभाजित रहेको बेलादेखि नै नेपालको सीमानाभित्र बसोबास गर्दै आएको इतिहास छ । अर्थात् के आदिवासी, के मुलवासी हरेक समुदाय विभिन्न कालखण्डमा यहाँ बसाइँसराइँ गरी आएका हुन् भन्ने तथ्यहरुले पुष्टि गर्दछ ।

बाइसे चौबिसे राज्यहरुमा मुस्लिमहरु दरबारसँग निकट थिए । मुस्लिमहरु राज्य सञ्चालनको क्रममा मुखियाली तथा विभिन्न अहोदामा रहेर काम गरेका थिए । नेपाल एकीकरणको चरणमा मुस्लिम समुदायको उच्च भूमिका तथा योगदान थियो । तथापि इतिहासमा उक्त भूमिका तथा योगदानको निकै सामान्य रुपमा चर्चा भयो । अर्थात् त्यस बेलाका शासकहरु पनि मुस्लिमहरु सापेक्ष थिएनन । त्यो क्रम नेपाल उत्पतिसँगै सत्तामा रहेका सत्ताधारी पक्षमा पनि देखियो । जसले गर्दा विभिन्नरुपमा धार्मिक, सांस्कृतिक आर्थिक र राजनीतिक लगायतका हक अधिकारबाट वन्चित गरिदै आएको इतिहास साक्षी छ । फलत वर्तमान अवस्थामा पनि मुस्लिम समुदाय आयातित समुदाय हुन् भन्ने प्रभाव अधिकांश जनमानिसमा रहिआएको छ ।

Advertisement

मुस्लिम समुदाय नेपाल एकीकरण पूर्वदेखि हालसम्मका दिनमा राज्यप्रति बफादार रही अतुलनीय योगदान गरिरहेको छ । राज्यको असल नागरिककारुपमा आफूलाई प्रस्तुत गर्दै राज्यको विभिन्न अहोदामा रहेर देशको सेवा गरिरहेको छ । व्यापार, कृषि तथा अन्य पेसाले आफ्नो जीविकोपार्जन गर्दै समाज राष्ट्रलाई सहयोग गरेको छ । फेरि पनि राज्य तथा सर्वसाधारणमा कम अपनत्व देखिनु दुर्भाग्य हो । चौधरी परिवार जसको नेपालमा ३÷४ पुस्ताको मात्र इतिहास छ । राणा प्रधानमन्त्री वीरशमशेरले व्यापारीका रुपमा राजस्थानका ४ मारवाडी परिवारलाई ‘निस्सापत्र’ दिएर नेपालमा भित्र्याएका थिए । तिनै ४ मारवाडी परिवारमध्येका मंगल साहुका कामदारका रुपमा आएका विनोद चौधरीका हजुरबुबा भुरामल चौधरी थिए । हामीहरु चौधरीलाई नेपालका एक मात्र फोब्र्स अरबपति भनेर गर्व गरिरहेका छौं । राज्य चौधरीहरुप्रति गर्वान्वित छ । सर्बसाधारणको धारणा पनि उस्तै छ । उनीहरु आयातित अथवा रैथाने हुन् होइनन भन्ने प्रश्न कहिँ कतै सुनिदैन । यी सवालहरु केवल एउटा समुदायमाथि गरिरहँदा आफूलाई आदिवासी तथा मूलवासी भन्ने समुदाय पनि मुस्लिम समुदाय सापेक्ष होइनन भन्ने बुझिन्छ ।

हरेक देशमा आदिवासी जनजातिको आफ्नै विशिष्टता हुने गर्दछ । नेपालको कानुनले ‘आदिवासी जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रितिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ भनेको छ । जस अनुसार हाम्रो देशमा आदिवासीका मूल्यमान्यता भएका कयौ समुदायको पहिचान हुन् सकेको छैन । पछिल्लो समय बाहुन, क्षेत्री र दशनामी समुदायले आफ्नो समुदायलाई आदिवासीमा सूचीकरण गर्न माग गरेका थिए । जसले गर्दा मुस्लिम समुदाय पनि आदिवासी जनजाति भित्र पर्दछन् भन्ने सवालमा थप बल मिलेको छ ।

विश्व बैंकले सन् १९९१ मा आदिवासीको चरित्रको उल्लेख गर्दै भनेको कुरालाई मनन गर्नु जरुरी छ । आफ्नो पुख्र्याैली भूमि तथा प्राकृतिक स्रोत साधनसँग नजिकको सम्बन्ध भएका, आफूलाई विभिन्न समुदायको भनी दाबा गर्ने तथा अरुले पनि सो को समर्थन गर्ने, रास्ट्रिय समुदायको भन्दा भिन्न भाषा भएका आफ्नो परम्परागत सामाजिक एवं राजनीतिक संस्थाहरु भएका तथा गुजारामुखी उत्पादन प्रणाली भएका समुदायहरु आदिवासी हुन् । अर्थात् ती सम्पूर्ण मान्यता नेपाली मुस्लिम समुदायसँग छन् । केबल समर्थनको आवश्यकता छ । नेपालका मुस्लिम आदिवासी भन्ने शब्दले पक्कै पनि धेरै मानिस तथा समुदायलाई घोचिरहेको हुनु पर्दछ त्यसैले मुस्लिमहरुको इतिहास र वर्तमानलाई खोतलिरहनु आजको आवश्यकता हो ।

नेपाली मुस्लिम समुदायको भाषा, रीतिरिवाज, कलासंस्कृति, धार्मिक संरचना, खानपिन, भेषभूषा तथा चाडपर्वको संक्षिप्त चर्चा गरौंः

भाषा
मुस्लिम समुदायको आफ्नै मातृभाषा छ । जुन लिपिबद्ध छैन । त्यसैले धार्मिक कार्यका निम्ति चाहिने ज्ञानगुन तथा धार्मिक ग्रन्थहरु हाम्रो मातृ भाषामा लेखिएको छैनन् । त्यसो त नेपाली भाषामा अनुवाद निकै कम छन् । जसले गर्दा हामी उर्दु तथा अरबी भाषा सिक्नु पर्ने वाध्यता छ । उर्दु र अरबी भाषा केवल धार्मिक कार्यका निम्ति हुन् । घरायसी तथा दैनिक जीवनमा मातृ भाषाको प्रयोग हुने गर्दछ ।

विशेषत पहाडी मुस्लिमले बोल्ने मियाँ भाषाको प्राथमिक आधारबिन्दु पनि नेपाली अथवा संस्कृत भाषा हुन् भन्दा फरक पर्दैन । नेपाली भाषालाई भारोपेली भाषा समूह अन्तर्गत शतम् वर्गको संस्कृत भाषाबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भएको मानिन्छ । त्यस्तै किसिमको प्राकृत र अपभ्रंशबाट नै मियाँ भाषाको जन्म भएको हो । त्यसो त यस भाषाका कयौं शब्दहरु शाह वंशीय राजाहरु तथा सुदूरपश्चिमेलिहरुले बोल्ने भाषासँग मेल खाने गर्दछन । नेपाली भाषामा आगन्तुक भाषाको प्रभाव देखिए जस्तै मियाँ भाषामा पनि अरबी, फारसी, हिन्दी र उर्दु आदि भाषाका शब्दहरुको प्रभाव केही हदसम्म छ । दैनिक जनजीवन, सरकारी कामकारवाही तथा पठनपाठनमा नेपाली भाषाको प्रयोग हुने भएकाले सबै जातजातिको भाषाहरु संकटमा छन् । जसमा पहाडी मुस्लिमको मातृभाषा अग्र स्थानमा छ । तथापि अझै पनि प्राय हरेक घरहरुमा मातृ भाषाको प्रयोग हुन्छ ।

रितिरिवाज
मुस्लिम रितिरिवाज अन्तर्गत पहाडमा हुने विवाहको चर्चा गरौं । केराको रुख, सल्ला, धूपीसँगै लालुपाते लगायतका फूलहरुले सिंगारिएको स्वागतद्वार । रंगीन ध्वजा, पताका, तोरणले सजिएका बेहुला बेहुलीको घर । दुबोको माला । बेहुला बेहुलीले लगाउने पहिरन । विवाहमा गरिने स्वागत तथा बिदाइका रितिरिवाज । विभिन्न गाउँठाउँमा अहिले पनि पञ्चेबाजा तथा बेहुलाको घरमा रत्यौली खेल्ने परम्परा । सेलरोटी, झिलिंगा लगायतका सगुन तथा साइपाटा । भोजभतेर अनि त्यहाँ पाक्ने खाना । जसको आफ्नै मौलिकता छ जुन नेपाल सुहाउँदो छ ।

कला, संस्कृति तथा भौतिक संरचना
धार्मिक तथा सामाजिक संरचना नेपाली समाजको सभ्यता र परम्पराको लामो शृंखलाहरुमा आवद्द भएको पाइन्छ । यहि सभ्यता र संस्कृतिको संरक्षण एवं सम्बर्धन गर्नका लागि हाम्रा पूर्वजहरुले मस्जिद, मदरशा, कब्रस्तान, पाटी, पौवा, बाटो, धारा, कुवा लगायतका भौतिक संरचना स्थापना गरे । यी परोपकारी र सामाजिक कार्यको लागि दाताले दान गर्ने चलन छ । दाताहरुको चल, अचल सम्पतिबाट नै यसको निर्माण तथा संरक्षण हुँदै आएको छ । हालका दिनहरुमा राज्यले पनि यस्ताकार्यमा सहयोग गरिरहेको छ ।

पहाडी मुस्लिम समुदायका पुराना मस्जिद तथा मदरसाहरु ढुंगा कुदेर, सुर मिलाएर खर तथा स्लेट ढुंगाले छानोहालेर निर्माण गरिन्थ्यो । चौपारी, पाटीपौवा, बाटोघाटो, तथा पँधेरो परम्परागत रुपमा निर्माण हुने गर्दथ्यो । सामान्य मानिसहरुका घर पनि गाउँका अन्य समुदायको जस्तो हुन्थ्यो । यो मुस्लिमको घर हो भन्ने भिन्न आधार केही हुँदैन थियो । घरका बाहिर अथवाभित्र भागमा कुनै आयातित कला संस्कृति देखिँदैन थियो । हाल पनि अधिकांश गाउँहरुमा यस्ता संरचनाहरु छन् । तर आफ्नो मौलिकता मास्दै खासगरी मस्जिद तथा मदरसामा आयातित कला झल्किने किसिमका नयाँ संरचना बनाउने होडबाजी छ ।

भनिन्छ मानिसहरुको कला, संस्कृति सजिलै मेटिँदैन । मुगलहरुले आफ्नो कला, संस्कृति बोकेर हिन्दुस्तानमा राज गरे । उनीहरु आफ्नो कला, संस्कृतिलाई जीवन्त राखे । चिनिया अथवा तिब्बतीहरु जुन अवस्थामा जहाँ पुगे पनि उनीहरु आफ्नो कला संस्कृतिसँगै लिएर जाने गर्दछन् । उनीहरुको दैनिक जीवनमा ती कला संस्कृति कहिँ न कतै छनक पाइन्छ । जस्तो हिमाली भेगका सेर्पाहरुको संस्कृति, रहनसहन, लवाइखुवाइ, विवाह तथा भोजभतेर इत्यादि हेरौं । जुन तिब्बतीसँग मेल खान्छ । विशेष गरेर काठमाडौंमा बसोबास गर्ने कास्मिरी तथा तिब्बती मुस्लिमहरुमा त्यो छनक भेटिन्छ । तर पहाडी मुस्लिममा अन्य देशबाट आयातित कला संस्कृतिको मिश्रण देखिँदैन ।

खानपिन
मुस्लिम समुदायको प्रमुख खान पिन आँटो, ढिँडो, मकै, रोटी, भात, दाल, तरकारी नै हुन् । पहाडका मुस्लिम जो काठमाडाैंका कास्मिरी तथा तिब्बती मुस्लिमका भान्साका पकवानसँग अनविज्ञ छन् । त्यसो त मुस्लिमहरुको परिकार भनेर प्रसिद्द बिरयानी, कबाब, रोटी, नान आदि हाम्रो निम्ति नौला तथा आयातित परिकारहरु हुन् । विशेष गरेर रमजान (व्रत) का बेला पाक्ने सेबई जुन आफैले घरमा तयार गरेर खाने पुरानो परम्परा हो ।

भेषभूषा
पहाडमा बसोबास गर्ने मुस्लिम महिलाहरुले गुन्यो, चोली, पटुकी तथा टाउकोमा मरेठा बाँध्ने चलन थियो । पुरुषहरु धोती, कछाड तथा दौरा, सुरुवाल, टोपी लगाउने चलन थियो । अहिले विभिन्न आयातित पोसाकहरुको चलन बढ्दो छ । आयातित पोसाकले देशभित्रका सम्पूर्ण समुदायको पहिचान दिने पोसाकलाई प्रतिस्थापित गरेको छ । पछिल्ला दिनहरुमा मुस्लिम समुदायका पुरुषहरुले कुर्ता सुरुवाल तथा महिलाहरुले बुर्का (शरीर पूर्णरुपले ढाकिने पोसाक) लाई समुदायको पोसाक भनेर पहिचान दिने गरेका छन् । वास्तवमा यो हाम्रो मौलिकता होइन ।

चाडपर्व
चाडपर्वको मुख्य आधार अथवा सन्देश धर्मग्रन्थ अनुसार छ । तथापि चाडपर्व मनाउने क्रममा अपनाइने विधिको आफ्नै मौलिकता छ । इद, बक्राइदजस्ता प्रमुख चाडपर्वमा खानपिन, लुगाफाटो भेटघाट तथा विवाहित चेलीबेटी तथा आफन्तहरुलाई खानका निम्ति डाक्ने आदि कुराहरु निकै बेग्लै छन् । जुन निकै पुरानो चलन हो । ३ दिनसम्म मनाइने यी पर्वहरुका विविध गतिविधिहरु धर्मग्रन्थसँगै यहाँको समाजबाट मौलाएको परम्परा, पनि समेटिएको देखिन्छ । जसको आफ्नै मौलिकता छ ।

इस्लाम धर्म अरब मुलुकबाट फैलिए पनि नेपाली मुस्लिम समुदाय नेपाली माटोबाट जन्मिएको समुदाय हो भन्ने माथिका ठोस प्रमाणहरु हुन् । हामीलाई आदिवासी, जनजाति भन्ने सम्वोधन गर्नु नगर्नु आफ्नै विवेकको कुरा हो तर आयातित समुदाय हुन् भन्ने भ्रम मेटिनु पर्दछ । राज्यसँग समान अधिकार तथा पहिचान पाउनु पर्छ भन्ने आवाज हो । जुन हाम्रो नैसर्गिक अधिकार हो ।

मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान हक हितको संरक्षण र सम्बद्र्धन तथा मुस्लिम समुदायको सशक्तीकरण गर्नको लागि मुस्लिम आयोगको सम्बन्धमा आवश्यक व्यवस्था वान्छनीय भएकाले नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका संसदले मुस्लिम आयोग ऐन, २०७४ बनाएको छ ।

मुस्लिम समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको अध्ययन अनुसन्धान गरी त्यस्तो भाषा लिपी संस्कृति इतिहास परम्परा साहित्य कलाको संरक्षण र विकासको लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने भनेर आयोगलाई आदेश दिएको छ । तथापि यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

नेपालको राष्ट्रियतालाई बलियो बनाउन आजको आवश्यकता हो । ‘देशले रगत मागे मलाई बलि चढाऊँ’ भन्ने गोपाल योञ्जनको गीतमा भने जस्तै हामी सम्पूर्ण मुस्लिम जसले देशको निम्ति रगत बगाउन तम्तयार थियौं र छौं । इतिहासलाई वर्तमानको धरातलमा टेकेर भविष्यको निर्माण गर्नु आजको आवश्यकता हो । देशले निकै ठूला परिवर्तन पाएको छ । नीति नियम बनेका छन् । अब मुस्लिम समुदाय अतिक्रमण, असमानता, भेदभाव, उत्पीडन तथा वहिष्करणको सोचमा ठूलो परिवर्तनको खाँचो छ ।

तपाईको प्रतिक्रिया