सेन्टी भाइरसको आधा नाफा रंगशालालाई

समाधान संवाददाता २०७६ फागुन ६ गते १२:४२

पुनम शर्मा
पोखरा

कलाकार सीताराम कट्टेल धुर्मुसले चलचित्र सेन्टीभाइरसको आधा नाफा चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई दिने घोषणा गरेका छन् । चलचित्रका निर्माता धुर्मस र उनकी श्रीमती सुन्तलीको धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउँदै छ ।

चलचित्रको प्रचारका लागि पोखरा आएका धुर्मसले चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो घोषणा गरेका हुन् । उनले चलचित्र हेरेर रंगशाला निर्माणमा सहयोग गर्न आग्रहसमेत गरे । आफूले कहिल्यै राजनीति नगर्ने जनाउँदै उनले परिस्थितिका कारण कलाकारितासँगै समाजसेवामा आएको बताए ।

Advertisement

उनले कलाकारिता क्षेत्रमा परिपक्व भइनसकेको सुनाए । उनले भने, ‘म सिक्दै छु । अझै राम्रो गरौं भन्ने सधै लागिरहन्छ ।’ समाजसेवा स्वयंसेवी भए पनि ६ वटा कम्पनीको सद्भावना दूत भएकाले आफ्नो जीवन चलेको उनले सुनाए । चलचित्रमा उनले आफू र सुन्तलीकै प्रमुख भूमिका रहने जानकारी दिए । उनले भने, ‘म र कुञ्जना दुवैलाई मुख्य भूमिकामा दर्शकले पाउने छन् ।’

अहिले बिहानदेखि बेलुकासम्म रंगशाला निर्माणमै व्यस्त रहनुपरेको उल्लेख गर्दै उनले रंगशाला बनिसकेपछि कलाकारितामै लाग्ने उद्घोष गरे । चितवनको क्रिकेट रंगशाला अबको २ वर्षभित्र बनिसक्ने उनको भनाइ छ ।

Advertisement

सेन्टी भाइरस फिल्म रामबाबु गुरुङले निर्देशन गरेका छन् । यसमा सीताराम कट्टेल धुमुर्स, कुञ्जना घिमिरे सुन्तलीसहति दयाहाङ राई, सन्दीप क्षेत्री, बुद्धि तामाङ, कमलमणि नेपाल, विल्सनविक्रम राई, दीपक आचार्य, राजाराम पौडेल, सूर्यमाला खनाल, वसन्त भट्ट, युवराज भण्डारी लगायतको अभिनय छ । यसका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन छ । चलचित्र निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष अरुण गिरी अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया