अनुगमन टाेलीद्वारा म्याद गुज्रेका अखाद्य मिठाइँ नष्ट

समाधान संवाददाता २०७६ फागुन ७ गते १२:३८

पोखराको रामकृष्णटोलस्थित १ पसलमा मंगलबार सामानको उत्पादन मितिसहितको लेबल हेर्दै बजार अनुगमन टोली । तस्बिरः समाधान

समाधान संवाददाता
पोखरा

रंगीचंगी अनि देख्दै खाउँखाउँ लाग्ने चकलेट र मिठाइँ । त्यो पनि खेलौनासँग जोडेर राखेका । ससना बालबालिका त्यस्ता चकलेट र मिठाइँ देखेपछि मरिहत्ते गरिहाल्ने । उनीहरुलाई के थाहा कि देख्दा राम्रा लाग्ने ती चकलेट स्वास्थ्यका लागि हानिकारक छन् भनेर । खेलौनासँग जोडिएका गुणस्तरहीन चकलेट, मिठाइँमा सरकारले रोक लगाए पनि बजारमा भने छ्याप्छ्याप्ती देखिन्छ । तिनमा न उत्पादकको नाम हुन्छ, उत्पादन मिति र प्रयोग गर्न मिल्ने अवधिसहितको लेबल त को कुरै छाडौं ।

Advertisement

बजारबाट गुनासो आएपछि गण्डकी प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले यस्ता सामान राख्ने पोखराका पसलमा मंगलबार अनुगमन गरेको छ । निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल नेतृत्व टोलीले गणेशटोल, नालामुख र बागलुङ बसपार्क आसपासका पसल र उत्पादन केन्द्रमा समेत अनुगमन गरेको छ । बजारमा असाध्यै बिक्ने तर स्वास्थ्यका दृष्टिले हानिकारक मानिने माडा, अमिली जस्ता सामान बेच्ने पसलमा समेत अनुगमन गरिएको उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

टोलीले गणेशटोलको के के सप्लायर्सबाट म्याद गुज्रेका लालमोहन, छुर्पी लगायत सामग्री नस्ट गरेको छ । उक्त पसलका सञ्चालकलाई काँटा नवीकरण गर्न, लेबल नभएका सामान बिक्री वितरण नगर्न निर्देशन समेत दिएको छ । रामकृष्ण टोलको पशुपति मिठाइँ पसलबाट उत्पादन मिति लगायत विवरण उल्लेख नभएका सामान बिक्री भएको पाइएको छ । आइन्दा म्याद नाघेको र बिना लेबलका सामग्री बिक्री नगर्न निर्देशन दिइएको निर्देशक शर्माले बताए ।

Advertisement

रामकृष्ण टोलकै गृहणी एग्रो प्रोडक्टमा पनि टोलीले अनुगमन गरेको छ । उक्त कम्पनीमा कार्यरत कामदारलाई सेफ्टी गार्ड प्रयोग गर्न लगाउन, सरसफाइमा ध्यान दिन र तौलका ढकहरु नवीकरण गर्न टोलीले निर्देशन दिएको छ । रामकृष्ण टोलकै पूजा किराना पसलबाट समेत टोलीले म्याद नाघेका मिठाइँहरु बरामद गरी नष्ट गरेको छ । शाही कन्फेक्सनी वीरगञ्जबाट उत्पादित ललिपप, लड्डु लगायत मिठाइँ नस्ट गरिएको हो ।

प्रदेश सरकारले बजार अनुगमन नियमावली जारी गरेपछि असोज यता निर्देशनालयले अनुगमनलाई निरन्तरता दिएको छ । व्यवसायी जिम्मेवार हुने र उपभोक्ता पनि सचेत भइदिए बजार आफै व्यवस्थित हुने निर्देशक गोकुल शर्मा पौडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया