गण्डकी प्रदेशका २४ हजार घरमा धारा जोडिँदै

समाधान संवाददाता २०७६ फागुन ७ गते १२:४२

श्याम कुँवर
पोखरा

गण्डकी प्रदेश सरकार गठन हुँदा १ घर १ धारा व्यवस्था गर्ने नीति अघि सारेको थियो । २ वर्षभित्र सबै जनतामा आधारभूत खानेपानीको पहुँच वृद्धि गर्ने लक्ष्य लिएको थियो ।

प्रदेश सरकारले घोषणा गरेको उक्त योजनाअन्तर्गत यस अवधिमा प्रदेशमा ९१ खानेपानी आयोजना पूरा भएका छन् । निर्माणाधीन ९ सय ४० आयोजनामध्ये यस आर्थिक वर्षमा ८० आयोजना पूरा हुने भौतिक पूर्वाधार विकास मन्त्रालय खानेपानी तथा सरसफाई महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर किरण पौडेलले मन्त्रालयले जनतालाई आधारभूत खानेपानी सेवा पुर्‍याउन विशेष कार्यक्रमसमेत लागु गरिएको बताए । उनले मन्त्रालयले खानेपानीको आधारभूत सेवा नपुगेका र निर्माणाधीन आयोजनाको कार्यक्षेत्रमा समेत नपरेका बस्तीको पहिचान गरी छुट्टै १ सय ३० आयोजना छनोट गरी निर्माण सुरु गरिएको जानकारी दिए ।

‘प्रदेशका ती आयोजना सम्पन्न हुँदा २३ हजार ७ सय ५ धारा जडान भई २ लाख ७४ हजार २ सय ६० जनसंख्या लाभान्वित हुनेछन्,’ उनले भने, ‘यो नै गण्डकी प्रदेश गठन भएको २ वर्ष अवधिमा खानेपानीको क्षेत्रमा भएको मुख्य उपलब्धि हो ।’ उनले सबै खानेपानी आयोजनामा स्थानीय उपभोक्ताले न्यूनतम १० प्रतिशत योगदान गरेको उल्लेख गरे ।

Advertisement

खानेपानी तथा ढल निकास विभागका अनुसार गण्डकी प्रदेशको ५ लाख ४८ हजार २ सय १० घरधुरीमध्ये ५ लाख २ हजार ७ सय १३ घरधुरी खानेपानीको सुविधाबाट लाभान्वित छन् । गण्डकी प्रदेशमा ४५ हजार ४ सय ९७ अर्थात् १० प्रतिशत घर परिवारमा खानेपानी सुविधा पुगेको थिएन । गण्डकी प्रदेशका ११ जिल्लामा खानेपानीका ४ सय १० प्रादेशिक आयोजना सञ्चालनमा छन् । सशर्त अनुदानका ४ सय ८२, विशेष अनुदानका ४८ आयोजना गण्डकी प्रदेशमा छन् ।

दिगो विकास लक्ष्य नम्बर ६ ले सबैको निम्ति खानेपानी र सरसफाइको उपलब्धताका साथ दिगो व्यवस्थापन सुनिश्चित गर्ने उल्लेख छ । जस अन्तर्गत विसं २०८७ सम्ममा ९० प्रतिशत घर परिवारलाई पाइपबाट वितरण गरिएको खानेपानी पुर्‍याउने राष्ट्रिय लक्ष्य निर्धारण गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा करिब ३३ दशमलव ३३ प्रतिशतमा पाइपबाट वितरण गरिएको खानेपानीको पहुँच पुगेको छ । गण्डकी प्रदेशको स्थितिपत्र २०७५ का अनुसार गण्डकी प्रदेशमा आधारभूत सेवामा पहुँचको हकमा करिब ५० दशमलव ४३ प्रतिशत घरपरिवारको धाराबाट आपूर्ति गरिएको खानेपानीमा पहुँच छ ।

दिगो विकास लक्ष्य अनुसार विसं २०८७ सम्ममा ९९ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीमा सेवाको पहुँच पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ । खानेपानी तथा ढल निकास विभागका अनुसार नेपालमा करिब ८७ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानीको पहुँच पुगेको छ । गण्डकी प्रदेशको स्थितिपत्रमा ९१ दशमलव ७ प्रतिशत जनसंख्यामा सुरक्षित रुपमा व्यवस्थापन गरिएको आधारभूत खानेपानीको पहुँच पुगेको उल्लेख छ ।

गण्डकी प्रदेश सरकारले जनतालाई आधारभूत खानेपानी पुर्‍याउने कार्यक्रम स्थानीय तह, प्रदेश र संघ सरकारको प्राथमिकता क्षेत्रमा परेकाले ३ तहको सरकारको सहकार्य र सहलगानीमा काम गरेको छ । प्रदेशले स्थानीय तहसँगको समन्वयमा खानेपानी नपुगेको गाउँबस्तीमा आधारभूत खानेपानी पु¥याउन र १ घर १ धारा अभियान सञ्चालन गरेको छ । स्वच्छ खानेपानी पहुँचको अभिवृद्धिका लागि लागतसहितको गुरुयोजना तयार गर्नेदेखि प्रदेशको राजधानी सहरमा आगामी ५ वर्षभित्र स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजनाका साथ प्रदेश सरकारले काम गरेको छ । स्वच्छ खानेपानीको प्रत्याभूतिका लागि क्रमश लगानी वृद्धि गर्दै जाने प्रदेश सरकारको नीति छ ।

तपाईको प्रतिक्रिया