टाइम कार्डले पर्यटक तथा तीर्थालुलाई सास्ती

समाधान संवाददाता २०७६ फागुन ७ गते १३:३४

एसके थकाली
जोमसोम

उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजनाले लगाएका पट्यारिलो टाइम कार्डले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा तीर्थालु मर्कामा परेका छन् । शर्मा गजुरमुखी जेभीले म्याग्दीको तातोपानीदेखि मुस्ताङको लेते खण्ड र शर्मा युनाइटेडले म्याग्दीको घुमाउने तालदेखि बेग खोलासम्म सडक निर्माण गरिरहेको भन्दै करिडोरले दैनिक १० घण्टा सवारी रोकेको छ ।

हिउँद यामको जाडो सएिकर गर्मीयाम सुरुआत भएको र मुस्ताङी धमाधम घर फर्किने बेलामा लगाइएको लामो टाइम कार्डले धेरैलाई अप्ठ्यारो पारेको छ । यसले मुस्ताङको पर्यटन व्यवसायमा समेत असर पारेको व्यवसायीहरु बताउँछन् ।

Advertisement

बेनी जोमसोम ७६ किमी सडक खण्डमा ४ प्याकेज छन् । तीमध्ये २ प्याकेजको काम शर्मा गजुरमुखीले जिम्मा लिएको छ । शर्मा गजुरमुखीले म्याग्दीको तातोपानीदेखि मुस्ताङको कोवाङसम्म र शर्मा युनाइटेडले म्याग्दी पहिलो प्याकेज राहुघाटदेखि तातोपानी खण्ड र सप्तकोशी जलाधार कन्ट्रक्सनले मुस्ताङको कोवाङदेखि जोमसोमसम्मको सडक निर्माणको जिम्मा लिएको छन् ।

निर्माण कम्पनीले ती प्याकेजमा रक कटिङ, वाल, माटो फिलिङ र नाली निर्माण गरिरहेको इन्जिनियर अश्विनीकुमार यादवले बताए । हिउँदअघि निर्माण कम्पनीले ३ महिनामा २ पटक ८ घण्टा सडक बन्द गर्दै आएका थिए । धवलागिरीका ४ स्थानीय प्रशासनको संयुक्त बैठकले गत शुक्रबार म्याग्दीमा थप अर्को टाइमकार्ड लागु गरेको छ ।

Advertisement

धार्मिक तथा पर्यटकीय जिल्लामा लगाइएको सडक टाइम कार्डले म्याग्दी हुँदै मुस्ताङ आउने पर्यटकको यात्रा प्रभावित भएको छ । टाइम कार्डले पोखरा काठमाडौं जाने लामो दुरीका सवारी साधन तोकिएको समयमा गन्तव्य पुग्न नसक्ने अवस्था सिर्जना भएको छ । मोरङका प्रल्लादकुमार चौहान सहकारीको टोलीमा मुस्ताङ आएका छन् । मुस्ताङको घासामा ४ घण्टा टाइम कार्डले उनी रोकिए ।

छिटो गएर छिट्टै फर्कने उद्देश्यले मुक्तिनाथ गएका उनीहरुको यात्रा१ दिन लम्बिएको छ । चौहानले भने, ‘विकासका लागि टाइम कार्ड लगाए पनि यात्रुको सुविधालाई पनि ध्यान दिनुपर्ने हो । ४ घण्टा बन्द बढी नै हो ।’ यात्रुको सुविधालाई ध्यानमा राखी टाइम कार्ड समायोजन गर्न उनले अनुरोध गरे ।

म्याग्दी र मुस्ताङ खण्डमा एकै समयमा १० घन्टा टाइम कार्डले बीचको ४ घण्टामा यो बाटो पार गर्न मुस्किल पर्ने सवारी चालक रञ्जित मगर बताउँछन् । उनले टाईमकार्ड छल्न यात्रुलाई भोकभाकै राखेर दबाबमा गाडी चलाउनुपरेको सुनाए । कालिगण्डकी करिडोरको बेनी जोमसोम सडकखण्ड निर्माण २०७४ सालदेखि सुरु भएको हो । सडकको गत मंसिरमा म्याद सकिएको छ । अहिलेसम्म सडकको काम ५० प्रतिशतमात्र सकिएको छ ।

तपाईको प्रतिक्रिया