परदेशकाे अनुभवबाट गाउँमै उद्यमी

समाधान संवाददाता २०७६ फागुन ७ गते १३:४०

मोहसिन अली मियाँ
गोरखा

विष्णु मग्राती २०५६ ताका गाउँकै नवज्योति माध्यमिक विद्यालयमा शिक्षक थिए । गोरखा नगरपालिका ७ डण्डीडाँडाको यो विद्यालयको निजी स्रोतमा झण्डै साढे ३ वर्ष पढाउँदा उनलाई मनमा सन्तोष मिलेन । सँगैका साथीभाई विदेश गएर कमाउन थालेपछि मग्रातीलाई प्रावि तहको तलब आँखै लाग्नै छाड्यो ।

त्यसपछि उनी पनि मलेसिया हान्निए । धेरै पैसा कमाउने सपना बोकेर २०५९ सालमा मलेसिया गएका मग्रातीलाई विदेश पुगेपछि मात्र थाहा भयो परदेशीको पीडा । ‘न भाषा बुझ्ने, न काम जानेको । सुरुमा त लाटो जस्तै भइयो,’ उनी सम्झनछन्, ‘सुरुका केही महिनाका रात त रोएरै कटाएँ । अहँ, आँखा झिमिक्कै नलाग्ने ।’

विस्तारै वातावरण सहज बन्दै त गयो तर जुन सपना बोकेर गएका थिए त्यहाँ पनि उनले त्यो सम्भावना देख्न छाडे । तर के विकल्प थिएन । ऋण गरेका गएका उनलाई जसोतसो साहुको ऋण तिर्नुपर्ने बाध्यता थियो । त्यतिमात्रै होइन, विदेश गएका छोराबाट बाबुआमाले घर चलाउने खर्च पनि आशा गरेका हुन्थे । ‘मैले जे सोचें त्यो कत्ति पनि पूरा हुने छाँट थिएन, तर के गर्नु साहुको ऋण त तिर्नैपर्ने,’ उनले भने, ‘गाउँमै मास्टरको जागिर छोडेर गएकाले अरु विकल्प पनि थिएन । जसो तसो संघर्ष गरिरहें ।’

साढे ५ वर्ष मलेसियामा पसिना बगाएर उनी नेपाल फकिए । उनलाई आफ्नै गाउँघर अन्धकार लाग्न थाल्यो । देशमै केही गर्छु भन्ने सपना सझाएर नेपाल फर्केका मग्राती झनै दोधारमा परे । कामको कुनै अवसर नदेखेपछि उनी फेरि दुबइ उडे । २०६९ सालसम्म दुबईमा बिताएका मग्राती गाउँमै केही गर्ने सोचसहित पुन घर फर्के । उनसँग योजना थियो, नयाँ सोच पनि थियो । विदेशमा पाएको हन्डरको शिक्षा पनि थियो । तर तर लगानी गर्ने पैसा थिएन । ‘गाउँमै लगानी गरेर केही गर्छु भनेर सोचेको तर पैसाका कारण रोकिनु पर्‍यो,’ उनी भन्छन्, ‘धेरैतिर प्रोसेस गरें, कतैबाट केही मिलेन, सपोर्ट भएन ।’

यसबीचमा उनले विवाह पनि गरिसकेका थिए । जिम्मेवारी बढ्दै थियो । फेरि उनी गए कतार । त्यहाँ ४ बर्ष बिताए । पहिलाको दाँजोमा केही रकम पनि कमाए । केही रकम लगानी गर्न सक्ने भएर १ वर्षअघि स्वदेश फर्के । उनको घर वडा नम्बर ५ को रोहटेपानी हो उनी हाल नयाँ योजनासहित झण्डै १० किलोमिटर तल बोहोराबेशी झरेका छन् । ‘यहाँ मेरो साढे ३ रोपनी जग्गा छ । सबै कभर गरेर पशुपालन गर्न खोज्दै छु । अहिले सुरुवाती चरणमा छु,’ उनले भने ।

झण्डै २६ लाख लगानीमा उनले ६ हजार कुखुरा अट्ने २ खोर, बंगुरको खोर, माछा पालनका लागि पोखरी निर्माण गरिसकेका छन् । त्यतिमात्रै होइन, फर्म नजिकै उनले किराना पसल पनि सुरु गरेका छन् । ‘विदेशमा धेरै हन्डर खाइयो, अलिअलि पैसा त कमाइयो होला । तर अहिले सोच्दा नेपालमा धेरै चिज गुमाएछु जस्तो लाग्छ,’ उनले थपे, ‘अब यही केही गर्छु । जहाँ गए पनि दुख नगरी पैसा आउने होइन ।’

अहिले उनले २ बुंगुरसहित १ हजार कुखुराका चल्ला हालिसकेका छन् । माछा पोखरी निर्माण पनि अन्तिम चरणमा पुगेको छ । ‘सुरुवात हो, अहिले दिनरात नभनी आफैं खटेको छु । १ हजार कुखुराबाट सुरु गरें । अब ५ हजार हाल्ने योजनामा छु,’ उनले भने, ‘माछा, बुंगुर, तरकारी खेती पनि बढाउँछु ।’ अन्तिमसम्म झण्डै ४० लाख लगानी हुने अनुमान गरेका उनले बैंकबाट ऋण लिएर फर्म सुरु गरेका हुन् । उनी भन्छन्, ‘विदेशी जिन्दगी पनि देखियो । अर्काको देशमा गएर दुःख पाउनुभन्दा आफ्नै देशमा केही गर्नु उचित हुन्छ भन्ने लागेर ऋणै गरेर भने पनि काम सुरु गरेको हुँ ।’

तपाईको प्रतिक्रिया