बिखार्चीको ‘म र मेरो विचार’ विमोचित

समाधान संवाददाता २०७६ फागुन ८ गते १२:३०

निश्चल प्रजापती
पोखरा

Advertisement

साहित्यकार सूर्य खड्का बिखर्चीको काव्यात्मक अवधारणा ‘म र मेरो विचार’ विमोचित भएको छ । प्रजातन्त्र दिवसको अवसरमा बुधबार सिर्जनशील साहित्य परिवारले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बिखर्चीको कृति सार्वजनिक गरिएको हो ।

यो उनको ४३ औँ कृति हो । कार्यक्रममा बिखर्चीले आफ्नो कृति पूरै वाचन गरे । २ खण्डमा विभाजित काव्यको पहिलो खण्ड ‘म’ शीर्षक छ भने दोस्रो खण्डको शीर्षक ‘मेरोे विचार’ छ । ‘म’ मा उनले आफ्नो जन्म र कर्मथलोको वर्णन गरेका छन् ।

प्रजातन्त्र पुनःस्थापनाका लागि जेल परेको सम्झना पनि कार्यक्रममा बिखर्चीले गरे । ‘जन्मेको ठाउँको माया कसले पो गर्दैन र ? मलाई पनि आफू जन्मेको ठाउँको ज्यादै माया लाग्छ । रुपाकोटको हावा, पानी र माटोले मलाई अन्यायको विरुद्धमा लड्न र साहित्यकार बन्न सिकायो,’ उनले भने ।

‘मेरो विचार’ मा भने बिखर्चीले कम्युनिस्ट विचारधाराका अनुसार नेता र पार्टी कार्यकर्ताले पालन गर्नुपर्ने कुराहरु लेखेका छन् । उनले यस खण्डमा अदेखि ज्ञसम्मका वर्ण लिएर खण्डकाव्य रचेका छन् । ‘जसरी छोराछोरीप्रति आमाबाबुको अगाध माया–ममता हुन्छ, त्यसरी आफ्नो पार्टीप्रति नेता र कार्यकर्ताको अगाध माया–ममता हुन्छ,’ उनले भने ।

Advertisement

राजनीति जातीयताको आधारमा, क्षेत्रीयताको, धार्मिकताको आधारमा गरियो भने देश विघटन हुने उनको भनाइ थियो । ‘राति सुत्दा नेपालमा, बिहान उठ्दा भारतमा हुनुपरेका सुस्ताबासीको बारेमा सोच्नुपर्छ,’ उनले भने । उनले सुस्ता, लिम्पियाधुरा आदिको न्यायको लागि लड्नुपर्ने बताए ।

शिक्षण सेवामा लामो समय बिताएका बिखर्चीले शिक्षा नीतिमा आमूल परिवर्तन ल्याउनुपर्ने धारणा पनि व्यक्त गरे । ‘शिक्षा सेवामूलक हुनुपर्छ, व्यापारमूलक हुनु भएन । शिक्षाको व्यापारीकरण रोक्न सरकारले निगरानी गर्नुप¥यो ।’

कार्यक्रममा बोल्दै उनले पोखरामा साहित्य संगठन खुल्ने तर बन्द भइहाल्ने विषयमा दुखेसो पोखे । ‘पोखरामा धेरै साहित्य परिवार जन्मिने, मर्ने भएको छ । सिर्जनशील साहित्य परिवार मैले जन्माएको हुँ, यसलाई मर्न नदिनुस्,’ उनले आग्रह गरे । सिर्जनशील साहित्य परिवारको अध्यक्ष तथा मेघा एफएमका प्रबन्ध निर्देशक देशभक्त सिंह कुँवरको अध्यक्षतामा र चित्रकार ढाका थापा, सञ्चारकर्मी तथा मेघा एफएमका स्टेसन म्यानेजर तिर्सना लक्ष्मी, प्राडा यमबहादुर क्षेत्री आतिथ्यमा बिखर्चीको काव्यात्मक अवधारुणा सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया