रासस र सरकार परिपूरकः मन्त्री चुमान

समाधान संवाददाता २०७६ फागुन ८ गते १३:१४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले राष्ट्रिय समाचार समिति र प्रदेश सरकारको सम्बन्ध व्यवस्थित हुनुपर्ने बताएका छन् ।

राससको ५९ औं वार्षिकोत्सवका सन्दर्भमा गण्डकी प्रदेश कार्यालय पोखराद्वारा बुधबार आयोजित कायक्रममा उनले प्रदेश सरकार रासससँग समन्वय गर्दै सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘समन्वयका साथ अघि बढ्दा राससको भौतिक पूर्वाधार, क्षमता विकास लगायतमा सहयोग गर्न सरकार तयार छ,’ उनले भने । मुलुकको समृद्धिमा सञ्चार माध्यमको अतुलनीय योगदान रहेको चर्चा गर्दै मन्त्री चुमानले प्रकाशित एवं प्रसारित समाचारले समाज एवं राष्ट्रमा परिणाम निकाल्न मद्दत पु¥याउनुपर्ने उनको जोड थियो ।

Advertisement

देश संघीयताको कार्यान्वयनमा अघि बढे पनि अझैं केही व्यवहारिक कठिनाई रहेको चर्चा गर्दै उनले केन्द्र सरकार मातहतका प्रदेशका कार्यालय तथा संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न उनले माग गरे । प्रदेशमा सञ्चारग्राम स्थापनाका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि जमिन प्राप्त नहुँदा ढिलाई भएको मन्त्री चुमानको भनाइ छ ।

राससका पूर्व अध्यक्ष कोमलनाथ बरालले सरकारको आधिकारिक समाचार एजेन्सी रहेको रासस प्रति अन्तर्राष्ट्रिय विश्वाससमेत कायम रहेको बताए । मुलुक संघीयतामा गए पनि राससका प्रदेश कार्यालयको भौतिक पूर्वाधार लगायतका विषय त्यो रुपमा विकास हुन नसकेको चर्चा गर्दै उनले राज्यका सम्पूर्ण निकाय प्रदेश स्तरमा विकास हुनुपर्नेमा जोड दिए । समृद्धिको प्रमुख आधारका रुपमा रहेको कृषिको विकासका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै बरालले सञ्चारमाध्यमले सरकारले गरेका राम्रा कामलाई तथ्यका आधारमा व्यक्त गर्दै समृद्धिमा योगदान पु¥याउनुपर्ने धारणा राखे ।

Advertisement

राससका पूर्व सञ्चालक सदस्य गंगाधर पराजुलीले सरकारको राससलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नदेखिएको उल्लेख गर्दै अन्य सरकारी सञ्चारमाध्यमको तुलनामा छायाँमा परेको बताए । आफ्नो साधन र स्रोतलाई उपयोग गर्दै प्रदेशस्तरबाटै बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिँदै पराजुलीले प्रदेश सरकारले राससको भरपुर उपयोग गर्न सक्नुपर्ने बताए । राससको तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले राससका भोगाई सुनाउँदै यसको प्रभावकारिता अभिबृद्धि हुने गरी क्रियाशील बन्न राससकर्मीलाई आग्रह गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राससले पस्कने सामग्री औपचारिक कार्यक्रमका भन्दा खोजी समाचारमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले आगामी दिनमा राससको भूमिका अभैm प्रभावकारी देखिने गरी क्रियाशील बन्नाउनु पर्ने सुझाव दिए । महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनबाट मात्र समृद्धि हासिल हुने भएकाले त्यसतर्फ कलम चलाउन राससलाई सुझाव दिए ।

रेडियो नेपाल गण्डकी प्रदेश प्रदेश प्रसारण कार्यालय पोखराका निमित्त प्रमुख शान्ति गुरुङले रेडियोको लागि रासस समाचारको महत्वपूर्ण स्रोत भएको बताए । कार्यक्रमका सभापति एवं रासस गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख वासुदेव पौडेलले स्थापनाकाल यता राससले समाचार सम्प्रेषणका माध्यमबाट खेल्दै आएको भूमिका आगामी दिनमा अझै प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । रासस बागलुङ कार्यालयका प्रमुख राम थापाले सञ्चारमाध्यमको बढ्दो विकाससँगै राससको आवश्यकता र औचित्य बढ्दै गएको बताए ।

प्रदेश सर्वोत्कृष्टलाई सम्मान
वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश अन्तर्गत रासस वर्ष सर्वोत्कृष्ट जिल्ला समाचारदाता (स्ट्रिङगर) जमुना वर्षा शर्मालाई पुरस्कृत गरिएको छ । उनलाई मन्त्री चुमान, राससका पूर्व अध्यक्ष बराल र प्रदेश प्रमुख पौडेलले १५ हजार रुपैयाँ नगदसहित सम्मानपत्रबाट पुरस्कृत गरेका हुन् ।

तपाईको प्रतिक्रिया