मुग्लिन पोखरा सडक विस्तारः चिनियाँ र भारतीय ३५ कम्पनीको चासो

समाधान संवाददाता २०७६ फागुन ९ गते १२:५४

समाधान संवाददाता
पोखरा

पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन पोखरा सडकखण्ड विस्तारको काममा चिनिया र भारतीय कम्पनीले चासो देखाएका छन् । ८० किमि सडक खण्ड २ प्याकेजमा विस्तार गरिनेछ । ४०÷४० किमिको २ प्याकेज बनाइएको छ । ठेक्काका लागि कात्तिक २१ गते बोलपत्र आह्वान गरिएको थियो ।

प्रस्ताव पेस गर्ने अन्तिम मिति माघ १६ सम्म पोखराबाट पूर्वखण्डमा १८ र आबुखैरेनीबाट पश्चिम १७ वटा कम्पनीले प्रस्ताव पेस गरेको सडक विभाग आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना निर्देशक सुरेश पौडेलले जानकारी दिए । दुवै प्याकेजमा एउटा भारतीय र बाँकी सबै चिनियाँ कम्पनीले प्रस्तव पेस गरेका छन् ।

Advertisement

‘मुग्लिनदेखि पोखरासम्म सडक विस्तार गर्ने योजना अनुरुप पहिलो चरणमा आबुखैरेनी–पोखराको ठेक्का निकालिएको हो । मुग्लिन–आबुखैरेनी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदैछ,’ पौडेलले भने, ‘निर्माण प्रक्रियालाई छिट्टै अघि बढाउन डिपिआर तयार भएको खण्डको ठेक्का निकालिएको हो । मुग्लिन–आबुखैरेनीको पनि डिपिआर तयार भए लगतै ठेक्का लगाइनेछ ।’

आयोजनका अनुसार २०७७ मंसिरसम्ममा सडक निर्माण गर्ने कम्पनी छनोट गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ । सरकारले मुग्लिनदेखि पोखरासम्म साँघुरो सडकलाई चारलेनमा विस्तार गर्ने योजना अनुरुप आबुखैरनी–पोखराको ठेक्का निकालेको हो । मुग्लिनदेखि आबुखैरेनी खण्डको डिपिआर निर्माणको क्रममा छ । कोरियाली परामर्शदाता एमएमएम ग्रुपले डिपिआर तयारगरी सडक विभागलाई बुझाइसकेको छ । उक्त डिपिआर पुन अवलोकन गर्न एसियाली विकास बैंकमा पेस गरिएको छ । एडिबीको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने भएकाले डिपिआर स्वीकृतिका लागि पठाइएको हो । आबुखैरेनी–पोखरा खण्डको डिपिआर पनि एमएमएम ग्रुपले नै तयार पारेको थियो ।

Advertisement

मुग्लिन–आबुखैरनी खण्डमा ६७ मेगावट क्षमताको मस्याङदी जलविद्युत् गृह छ । हालको रेखांकनअनुसार सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो । जलविद्युत् गृहलाई बिना हानी सडक विस्तार गर्न आयोजनाले मस्याङदी नदीको अर्को किनाराबाट सडक निर्माण गर्ने गरी प्रारम्भिक डिजाइन गरेको थियो । सडकको रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले २०७५ चैतमा रेखांकन परिवर्तन गर्न स्वीकृति प्रदान गरिसकेको छ । नयाँ रेखांकनअनुसार मुग्लिन–आबुखैरेनी खण्डमा पर्ने मस्र्याङदी नदीको दायाँ र बायाँ २÷र्२ लेनको सडक निर्माण हुनेछ ।

आयोजनाले आबुखैरेनी–पोखरा सडक खण्ड निर्माण गर्न ठेक्का पेस गर्ने कम्पनीको प्राविधिक मूल्यांकन गरिरहेको छ । उक्त मूल्यांकनमा सडक निर्माणका लागि योग्य देखिएका कम्पनीलाई प्रारम्भिक चरणमा सूचीकृत गरिनेछ । तीमध्येमा सडक विस्तारका लागि सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गर्ने कम्पनीले निर्माणको जिम्मा प्राप्त गर्नेछ । आबुखैरनी–पोखरा सडक खण्ड निर्माण गर्न करिब २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । एडिबिले एसियाली राजमार्ग मापदण्ड अन्तर्गत सडक निर्माण गर्न २१ अर्ब ४५ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धमा सरकारसँग सम्झौता गरिसकेको छ । बाँकी अपुक रकम नेपाल सरकारले व्यहोर्नेछ । रकम घर, टहरा, जग्गाको मुआब्जा वितरणमा खर्च गरिनेछ ।

आबुखैरनी–पोखारा सडकखण्डलाई भूगोल र जनघनत्वको आधारमा सडक चौडा बनाइनेछ । घनावस्ती भएको ठाउँमा स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ ७÷७ मिटरको हुनेछ । एउटा लेन साढे ३ मिटर लामो हुन्छ । मुख्य सडकलाई एक अर्काबाट छुट्टयाउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे २ मिटरको सोल्डर हुन्छ । सडकको दुवै तर्फ ६÷६ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापनका लागि दुवैतर्फ २ मिटर छुट्टयाइएको हुन्छ । पैदल यात्रुका लागि १÷१ मिटरको फुटपाथ हुन्छ । सभिर्सलेन र मुख्य सडक छुट्टयाउन ०.७५ मिटरको पर्खाल हुन्छ । सहरी क्षेत्रमा पैदल यात्रु तथा सवारीको चाप धेरै हुने भएकाले सडक फराकिलो बनाउन खोजिएको हो ।

खुला ठाउँ र पहाडी वस्ती भएको स्थनमा सडक १८ मिटरसम्मको हुनेछ । यी स्थानमा सभिर्स लेन र ढल निर्माण गर्नु पर्ने भएकाले सडकको चौडाइ सानो हुने गरी डिजाइन गरिएको आयोजनाले जनाएको छ ।
यो सडक खण्डमा पर्ने दमौली नजिकै मादीमा र पृथ्वीचोकस्थित चाइना पुलसँगै सेतीमा आकर्षक पुल पनि बनाउने आयोजनाको तयारी छ । सडक विभाग पुल महाशाखाले पनि मादी र सेतीमा सिग्नेचर पुल बनाउन अध्ययन गरिरहेको छ । सिग्नेचर पुल नेपालका लागि नौलो प्रविधि हो ।

तपाईको प्रतिक्रिया