मुस्ताङमा विकास खर्च सन्तोषजनक

समाधान संवाददाता २०७६ फागुन ९ गते १३:१५

एसके थकाली
जोमसोम

चालु आर्थिक वर्ष २०७६–०७७ का लागि हिमाली जिल्ला मुस्ताङमा बिनियोजित संघीय विकास खर्च ७ महिना अवधिमा सन्तोषजनक रहेको कोलेनिका मुस्ताङले जनाएको छ । कार्यालयका अनुसार माघ मसान्तसम्ममा कुल बजेटको ३० दशमलव ४८ प्रतिशत खर्च भएको हो ।

चालु आर्थिक वर्षको संघीय पुँजीगत विकास बजेट २ अर्ब ६ करोड २ लाख ३८ हजार रहेकामा माघ मसान्तसम्ममा ६१ करोड १४ लाख ५७ हजार २ सय २१ खर्च भएको छ । खर्च भएको रकम बेनी–जोमसोम–कोरला सडक आयोजना, सुरक्षा निकाय तथा प्रशासन भवन र शितोष्ण बागवानी विकास केन्द्र मार्फामा लगानी भएको छ । गत आर्थिक वर्षको संघीय पुँजीगत विकास बजेट १ अर्ब ६० करोड ४२ लाख २७ हजार रहेकामा १ अर्ब ४२ करोड ८७ लाख ५५ हजार ५ सय ७१ खर्च भएको हो । गत वर्ष कुल पुँजीगत बजेटको ८९ प्रतिशत बजेट विकास खर्चमा लगानी भएको थियो भने ११ प्रतिशत बजेट फ्रिज भएको थियो ।

Advertisement

यस्तै, संघीय चालु बजेट १ अर्ब ७३ करोड २४ लाख १५ हजार २ सय १० मध्ये ६८ करोड ७ लाख ३ हजार ३ सय ४४ रुपैयाँ अर्थात ३९ दशमलव ६७ प्रतिशत खर्च भएको छ । यसैगरी चालु आर्थिक वर्ष प्रदेशतर्फको पुँजीगत बजेट १९ करोड ७३ लाख २१ हजार मध्ये ६ महिना अवधिमा जम्मा २७ लाख ३७ हजार ९८ खर्च भएको छ । प्रदेशतर्फ कुल बजेटको १३ दशमलव ८८ प्रतिशत खर्च भएको हो । घरेलुतर्फ प्रविधि हस्तान्तरण, सिँचाई कुलो निर्माण र तटबन्ध लगायतमा खर्च भएको हो । गत आर्थिक वर्ष २१ करोड ९५ लाख ९७ हजार बजेटमा १३ करोड ६८ लाख १५ हजार ६ सय १५ रुपैयाँ खर्च भएको थियो । यो कुल बजेटको १३ दशमलव ८८ प्र्रतिशत मात्र खर्च भएको हो । गत वर्ष कुल विकास खर्चको ६२ दशमलव ३० प्रतिशत खर्च भएको थियो ।

चालु आर्थिक वर्ष प्रदेशको चालु बजेट २७ करोड ७० लाख ९१ हजार मध्ये ७ महिनाको अवधिमा ८ करोड २२ लाख १७ हजार ७ सय ७१ रुपैयाँ खर्च भएको कार्यालयले बताएको छ । यो कुल बजेटको २९ दशमलव ६७ प्रतिशत खर्च भएको हो ।

Advertisement

मुस्ताङमा संघीय सरकार अन्तर्गतका २३ वटा कार्यालय र ५ स्थानीय तहका लागि बजेट बिनियोजन भएको हो भने प्रदेशतर्फ ७ वटा कार्यालय र ५ स्थानीय तहलाई बजेट बिनियोजन भएको हो ।

चालु वर्ष मुस्ताङका ५ वटै स्थानीय तहलाई संघ तथा प्रदेशले बजेट बिनियोजन गरेको अनुदानको दोस्रो चौमासिक रकम ३ पालिकाले बुझेका छन् भने उपल्लो मुस्ताङका २ पालिकाले पहिलो चौमासिक अनुदान लिएको कोलेनिकाले जनाएको छ । संघतर्फ घरपझोङलाई २ करोड ७५ लाख ६२ हजार, थासाङ २ करोड ४६ लाख १४ हजार, लोघेकर दामोदरकुण्ड १ करोड ५६ लाख ७४ हजार, लोमान्थाङ १ करोड ६३ लाख ९६ हजार र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई २ करोड २० लाख ८२ हजार बजेट बिनियोजन भएको हो । प्रदेशतर्फ घरपझोङ, थासाङ, लोघेकर, लोमान्थाङ गाउँपालिकालाई समान ५० हजार बिनियोजन भएको छ भने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई ६३ लाख ३० हजार बिनियोजन भएको हो । चालु वर्ष बिनियोजित संघ तथा प्रदेशका चालु तथा पुँजीगत विकास खर्च चौमासिक प्रतिवेदन ३ वटा पालिकाले बुझाएका छन् । उनीहरुले दोस्रो चौमासिक बजेटसमेत निकासी गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष प्रमुख मिनबहादुर बानियाले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चौमासिक प्रतिबेदन बुझाएका छैनन् ।

मुस्ताङमा चालु वर्षको मंसिरदेखि फागुनसम्म पूर्वाधार विकासका काम ठप्प छन् । अत्यधिक हिमपात र चिसोका कारण विकास निर्माणका काम ओझेलमा परेको हो । चालु वर्षको साउन, भदौ, असोज र कात्तिक महिनाको ४ महिना अवधिमा संघीय विकास खर्च सन्तोषजनक मानिएको हो । तर, प्रदेश विकास खर्च भने न्युन देखिएको छ । प्रदेशका साना र मझौला असारे विकासका कारण प्रदेशको विकास खर्च न्युन रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया