क्यान इन्फोटेक आजबाट

समाधान संवाददाता २०७६ फागुन ११ गते १२:१२

समाधान संवाददाता
पोखरा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा आइतबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा सूचना प्रविधि मेला (इन्फोटेक) सुरु हुँदैछ । मेलाको सबै तयारी पूरा भएको शनिबार कार्यक्रमस्थलमै पत्रकार सम्मेलन गरेर आयोजकले बताएका छन् । फागुन १५ गतेसम्म चल्ने मेलाले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने क्यान कास्की अध्यक्ष रुक्मागत भण्डारीले बताए ।

‘कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पुर्‍याउने लक्ष्यका साथ मेला गर्न लागिएको हो,’ उनले भने । इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फ्रेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइसिटी वक्तिृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय जिल्ला तथा प्रदेशस्तरीय आइटी क्विज कन्टेस्ट समावेश गरिएको अध्यक्ष भण्डारीले बताए ।

Advertisement

आइसिटी रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबर्ट प्रर्दशर्नी एवं प्रतियोगिता गरिने प्रचार संयोजक सेवक क्षितीजले बताए । उनका अनुसार आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण पनि गरिनेछ ।

यस पटकको क्यान इन्फोटेकको बिशेषता मेड इन नेपाल एक्स्पोजर रहनेछ । यस अन्तर्गत प्रडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गरिने क्षितीजले बताए । ‘सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुबिधाहरु र उत्कृष्टलाई नेशनल आइसिटी डेको अवसर पारेर पुरस्कृत गरिनेछ,’ उनले भने । क्यान इन्फोटेक अवधिभर बिजनेस टक प्रोग्राम सञ्चालन हुनेछ ।

Advertisement

मेला अवधिभर शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटी क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको छ । जस अन्र्तगत हेल्प डेक्स, ग्राफिक्स डिजाइन तथा हार्डवयर र नेटवर्क सम्बन्धी आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकाहरुलाई यो अवसर प्रदान गरिएको छ । पोखराको बजारमा प्राविधिक कर्मचारीहरुको अभाव रहेको कारणले यो अभियान अगाडि बढाइएको कार्यक्रम संयोजक घननाथ सापकोटाले बताए । जसमा आवेदकहरुलाई निशुल्क तालिम प्रदान गरी क्यान महासंघ कास्कीमा आवद्ध रहेका संस्थाह तथा अन्य व्यावसायिक संस्थाहरुमा सिफारिस गरिनेछ ।

इन्फोटेकको सम्पूर्ण तयारी पुरा गरेर उद्घाटन कार्यक्रमको तयारीमा आफूहरु जुटेको पूर्व अध्यक्ष तथा उद्घाटन कार्यक्रम संयोजक चण्डीप्रसाद अर्यालले बताए । इन्फोटेकमा आइसिटीसँग सम्बन्धित १ सय स्टल रहनेछन् । करिब ३५ लाख रुपैयाँ आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाएर ५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अपेक्षा छ । बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ ।

पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष नवराज कुवँरले सूचना प्रविधिको प्रयोगलाई अझ व्यापक बनाउँदै मुलुकको विकासमा सहकार्य गर्न आफूहरु तत्पर रहेको बताए । क्यान गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डेले इन्फोटेकलाई प्रभावकारी बनाउनु संस्था हर तरहले जुटेको भनाइ राखे । प्रभु पेका प्रतिनिधि विजय अधिकारीले मेलामा प्रवेशका लागि प्रभु पे मार्फत् टिकट काट्न सकिने जानकारी गराए ।

तपाईको प्रतिक्रिया