आहा ! रारा गोल्ड कपमा १० टिमः पहिलो पुरस्कार १० लाख

समाधान संवाददाता २०७६ फागुन ११ गते १२:१७

समाधान संवाददाता
पोखरा

सहरा क्लब पोखराले आयोजना गर्ने १८ औं संस्करणको आहा ! रारा गोल्ड कपमा १० टिम सहभागी हुने भएका छन् । फागुन २१ देखि प्रतियोगिता हुनेछ ।

थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, ब्रिगेट व्बाइज क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्तोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब पोखरा प्रतियोगितामा सहभागी हुनेछन् ।

Advertisement

चैत १ सम्म चल्ने १८ औं संस्करणमा एउटा मात्र विदेशी टिम आउने भएको हो । गएको संस्करणसम्म डफिन्स फेमिली टिम क्यामरुन र युनाइटेड सिक्किम भारत गरी दुई विदेशी क्लबले खेलेका थिए । टोलीको सहभागिता रहँदै आएको भएपनि यस वर्ष भारतको गान्टोक सिटी फुटबल क्लब मात्र आउने भएको हो ।

गएको १७ औं संस्करणमा पनि १० टिम सहभागी भएका थिए । गएको १७ औं संस्करणको उपाधि रुसलान थ्री स्टारले जित्दा त्रिभुवन आर्मी उपविजेता बनेको थियो । यस वर्ष पनि खेल पोखरा रंगशालाभित्रको फुटबल मैदानमा नै हुने भएको छ । निर्माणाधीन फुटबल स्टुडियोमा १६ हजार दर्शक अट्ने क्षमताको तयार हुने सहारा क्लब पोखरा अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । अहिले फुटबल मैदानमा निर्माण र प्यारापिट जडानको काम भइरहेको छ ।

Advertisement

आयोजकले यस वर्ष प्रतियोगिताको पुरस्कार राशि बढाएको छ । १८ औं संस्करणमा विजेताको पुरस्कार राशि २ लाख र उपविजेताको १ लाखले बढाइएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

विजेताले १० लाख १ हजार, उपविजेताले ५ लाख १ हजार पाउनेछन् । अघिल्लो संस्करणमा विजेताले ८ लाख १ हजार रुपैयाँ, उपविजेताले ४ लाख १ हजार हात पारेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेस्ट अफ फाइभ, फेयर प्ले र निर्णायकलाई ट्रफी र मेडल प्रदान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई ५ हजार दिइने छ ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने १ जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी ३५ हजारसहित २०७६ बाट सम्मान गर्ने भएको छ । प्रतियोगितामा १ करोड १८ लाख १ हजार आम्दानी र ९९ लाख ३८ हजार ५ सय खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट नाफा भएको रकम क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको खर्च गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया