छुट्टाछुटै दुर्घटनामा ४ जनाकाे मृत्यु

समाधान संवाददाता २०७६ फागुन ११ गते १४:१०

समाधान संवाददाता
पोखरा

छोरेपाटनमा शिव पाण्डेको रेस्टुरेन्ट छ । शिवरात्रिका दिन शुक्रबार दिउँसो साथीहरु बोलाएर खाजा खाए । पाण्डेले २१ वर्षे जमुना क्षेत्री र २१ वर्षे बिना थापामगरलाई पनि खाजा खान बोलाए । जमुनाले छोरी र बिनाले छोरा लिएर खाजा खान गएका थिए । उनीहरु नमस्ते रेस्टुरेन्टमा बसेर खाजा खाँदा पाण्डेले मादक पदार्थ (मापसे) सेवन गरे । उनीहरु पुम्दीमा खाजा खान जाने सल्लाह गरे । सल्लाह अनुसार पाण्डेको साथीको ग२च ७७६३ नम्बरको कारमा पुम्दीतर्फ लागे । योजना अनुसार उनीहरु पुम्दीमा पुगेर खाजा खान सुरु गरे । उक्त समयमा पनि रक्सी थपेको पाण्डेले प्रहरीलाई बयान दिएका छन् । उनीहरु फर्कने समयमा छोरेपाटनभन्दा केही माथि सिद्धार्थ राजमार्गमा गाडी भित्तामा ठोकियो ।

दुर्घटनामा १ महिला र १ बालिकाको ज्यान गएको छ । पोखरा १७ छोरेपाटन बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो । शनिबार उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा अन्दाजी ३ वर्षीया बालिका रेबिका क्षेत्रीसमेत भएको छ । रेबिना र जमुना आमाछोरी हुन् । कार दुर्घटना हुँदा चालकसहित ५ जना रहेको प्रहरीले जनाएको छ । असीम थापामगर र बिना थापामगर पनि घाइते रहेका छन् । उनीहरुको उपचार भइरहेको छ । चालक शिव पाण्डेलाई कास्की प्रहरीले हिरासतमा राखेको छ । प्रहरीसँग पाण्डेले अत्याधिक मापसे गरेको स्वीकारेका छन् ।

Advertisement

गाडीको ठक्करबाट १ को मृत्यु
तनहुँमा सवारी दुर्घटनाबाट १ महिलाको मृत्यु भएको छ । व्यास नगरपालिका १२ कमलबारी पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१ख ९६१८ नम्बरको बसले व्यास नगरपालिका १२ देउराली थानी गैराकी विष्णुमाया थापालाई ठक्कर दिएको थियो । उनलाई उपचारको लागि जिल्ला अस्पताल दमौली पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जलेर १ को मृत्यु
घरमै सुतिरहेका ८२ वर्षीय जीतबहादुर गुरुङको आगलागीमा परी मृत्यु भएको छ । आगलागी शुक्रबार राति १० बजेतिर भएको थियो । आगलागी भएको देखेपछि स्थानीयले आगो नियन्त्रणमा लिँदा गुरुङको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

Advertisement

बिरुवा गाउँपालिका ४ घोप्टे घर भएका गुरुङ खरको गोठसँगै जोडिएको कोठामा सुतिरहेका थिए । प्यारालाइसिस भएका उनी आगलागीका बेला भाग्न सकेनन् ।

गुरुङको बाँया हर नचल्ने र चुरोट सेवन गर्ने बानीका कारण आगलागी भएको मृतक गुरुङका छोरा भोजबहादुर गुरुङले बताए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक गौतम बोहोराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया