भारतीय सहरमा पोखरा प्रवद्र्धन

समाधान संवाददाता २०७६ फागुन ११ गते १४:४१

समाधान संवाददाता
पोखरा

भारतका उत्तर पूर्वी सहरमा पोखराको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । पोखरा पर्यटन परिषदको आयोजनामा २१ सदस्यीय टोली भारततर्फ लागेको हो ।

परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलको नेतृत्वमा रहेको ‘भारत सेल्स मिसन २०२०’ को संयोजन राजेश पहारीले गरेका छन् । टोली पोखराको प्रवद्र्धन गर्न भारतको पश्चिम बंगालस्थित सिलिगुरी र कोलकाता पुग्नेछ । फागुन १० मा भारतको सीमावर्ती सहर सिलिगुरीमा हुने बंगाल ट्राभल मार्ट (बिटिएम) मा टोली सहभागी हुनेछ ।

Advertisement

बिटिएममा रहेको नेपालको स्टलमा पोखराका होटल, ट्राभल, टे«ेकिङ, माउन्टेनियरिङ सम्बद्ध १२ व्यवसायीले डेस्क राख्नेछन् । फागुन ११ मा बिटिएममै ‘पोखरा नाइट’ हुनेछ । नाइटमा पोखरासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिनेछ । पोखराको लोक संस्कृति झल्किने प्रस्तुतिसमेत त्यहाँ राखिने छन् ।

फागुन १२ मा टोली पश्चिम बंगालको राजधानी कोलकाता पुग्नेछ । फागुन १३ मा कोलकाता र पोखराका पर्यटन व्यवसायीबीच बिटुबी सेल्स मिसन कार्यक्रम हुनेछ । कार्यक्रममा पोखराका पर्यटन व्यवसायीले कोलकाताका पर्यटन व्यवसायीलाई आफ्ना प्याकेजका बारेमा जानकारी दिनेछन् । पोखरामा भारतीय पर्यटक आकर्षित गर्न व्यवसायीले योजना प्रस्तुत गर्ने छन् ।

Advertisement

कोलकाताबाट बागडोरा, भद्रपुर, काठमाडौं हुँदै टोली फागुन १५ मा पोखरा फर्किने तय भएको छ । बंगाल ट्राभल मार्टमा पोखरा पर्यटन परिषदको यो पाँचौं सहभागिता हो । सेल्स मिसनको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।

परिषद अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतका उत्तरपूर्वी सहरमा विगतमा भएका प्रवद्र्धनात्मक कार्यक्रमले भारतीय पर्यटकको पोखरा आगमनमा वृद्धि भएको बताए । उनले यति बेला कोरोना भाइरसले चिनियाँ पर्यटकको आगमनमा कमी भएकाले पनि भारतीय सहरका प्रवद्र्धन आवश्यक भएको उल्लेख गरे । ‘चिनियाँ पर्यटकको कमी पूर्ति गर्न पनि भारतीय सहरमा प्रवद्र्धन रोजेका हौं,’ उनले भने, ‘यसले पर्यटनमा परेको संकटलाई यसले थोरै भए पनि राहत पुग्नेछ ।’

सेल्स मिसनका संयोजक राजेश पहारीले भारतीय पर्यटकलाई आकर्षित गर्न बंगाल ट्राभल मार्ट उपयोगी हुने बताए । ‘यो पोखराका पर्यटन व्यवसायीका लागि अवसर पनि हो,’ उनले भने, ‘भारत पर्यटक वृद्धिमा पक्कै भूमिका खेल्नेछ ।’

टोलीलाई शुक्रबार गण्डकी प्रदेश सांसद राजीव पहारी, पर्यटन विज्ञ समूह सदस्य वासु त्रिपाठी, नाट्टा अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले बिदाइ गरेका थिए । सेल्स मिसनमा पोखरा पर्यटन परिषदमा आवद्ध टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान पोखरा), पश्चिमाञ्चल होटल संघ (हान), नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभज एजेन्ट्स (नाट्टा), पर्यटक यातायात व्यवसायी संघ –एनटिभिए), पर्वतीय संघ (एनएमए गण्डकी), पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता छ ।

तपाईको प्रतिक्रिया