केजरीवाल र नेपाली राजनीति

समाधान संवाददाता २०७६ फागुन ११ गते १५:०८

युवराज पौडेल

भारतीय राजधानी दिल्लीको विधानसभा निर्वाचनमा मतदाताले फेरि आम आदमी पार्टी (आप) लाई भारी मतले विजय गराएका छन् । हालै सम्पन्न विधानसभा निर्वाचनमा ७० सिटमध्ये आम आदमी एक्लैले ६३ सिट जितेको छ भने बाँकी ८ सिट भाजपाले हात पारेको छ । कांग्रेसले एउटा पनि सिट हात पार्न सकेन । आपले सन् २०१३ मा दिल्लीमा कांग्रेसकी प्रभावशाली नेतृ शीला दीक्षितलाई हराएर पहिलो पटक कांग्रेससँगै समीकरण गरेर केजरीवाललाई मुख्यमन्त्री बनाएको थियो । पद सम्हालेको ४९ दिनपछि केजरीवालले मुख्यमन्त्री पद त्याग गरेका थिए । सन् २०१५ को निर्वाचनमा आपले ७० मध्ये ६७ सिट हात पार्न सफल भएको थियो, जुन अहिलेभन्दा ४ सिट बढी थियो । त्यति बेला भाजपाले ३ सिट जितेको थियो भने कांग्रेसले खाता खोल्न सकेको थिएन ।

यस आधारमा हेर्दा केन्द्रीय राजनीतिमा शक्तिशाली रहेको भाजपाको मत बढेको छ । आपले लगातार तेस्रो पटक दिल्ली विधानसभामा पकड जमाउन सफल भएको छ भने तेस्रो पटकका लागि सो पाटीका संयोजक अरविन्द केजरीवालले मुख्यमन्त्रीको सपथ लिएका छन् । तेस्रो पटक मुख्यमन्त्रीका लागि सपथ लिएपछि १ सभामा बोल्दै उनले अब आफू चुनावका बेलाको सबै तितोमैलो बिर्सदैं सबैको मुख्यमन्त्री बनेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भनेका छन्, ‘यो जित सारा २ करोड दिल्लीबासीको जित हो । म दिल्लीको विकासका लागि केन्द्र सरकारसँग मिलेर काम गर्न तयार छु । दिल्लीको विकासका लागि प्रधानमन्त्री मोदीको आशीर्वाद चाहेको छु’ (एबिपी न्यूज) । उनले सो कार्यक्रममा अब दिल्लीलाई दुनियाँको सबैभन्दा सफा सहर बनाउने, यमुना नदीको सरसफाइ अभियान चलाउने, पूर्ण प्रदुषणमुक्त दिल्ली बनाउने आदि योजनासमेत प्रस्तुत गरेका थिए ।

नोभेम्बर २०१२ मा अन्ना हजारेले नेतृत्व गरेको भ्रष्टाचार विरोधी अभियानको गर्भबाट आप र केजरीवालको उदय भएको थियो । पूर्व कर्मचारी, सामाजिक अभियान्ता र अध्येताका रूपमा रहेका तर राजनीति नगरेका केजरीवालले त्यस यता छोटो समयमा भारतीय राजनीतिमा एउटा छुट्टै प्रभाव जमाउन सफल भएका छन् । भारतको केन्द्रीय राजनीतिमा मोदी र भाजपाको प्रभावशाली पकड रहेकै बेलामा दिल्लीमा आपको विजयले भारतीय राजनीतिमा मात्र नभएर विश्व राजनीतिमा धेरथोर प्रभाव पार्ने आकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ । आप र केजरीवालको सफलताको कारणका सम्बन्धमा विभिन्न विश्लेषण भइरहेका छन् । यो सफलताको पछाडि आपका संयोजक केजरीवालको व्यक्तित्व, काम गर्ने तरिका, मूलधारको राजनीतिको वैकल्पिक चिन्तन लगायत थुप्रै पक्षको भूमिका रहेको देखिन्छ । उनको भ्रष्टाचारविरोधी चरित्रले ठूलो प्रभाव पारेको छ ।

भारतमा भ्रष्टाचारले सीमा नाघेको अवस्थामा केजरीवालको भ्रष्टाचारविरुद्धको कठोर नीतिका कारण आम जनताको उनीप्रति भरोसा बढेको देखिन्छ । उनले भाषणभन्दा काममा जोड दिए । धर्म, जाति, भाषा, व्यवस्थाका कुरामा आफूलाई कहिल्यै अल्झाएनन् । उनको लक्ष्य विकास र सुशासन थियो । श्रमिक र तल्लो वर्गको सम्मान गर्थे । चुनाव अभियानका क्रममा कसैलाई गालीगलौज गरेनन् । जनताका सामु कुनै धर्म, भाषा, जातीयता, क्षेत्रीयता, नश्लका कुरा उठाएनन् । बरु उनीहरुले पहिले एउटा रिपोर्ट कार्ड बनाइ रिपोर्ट कार्डको अध्ययनपछि आमा जनताका माग र चाहनालाई सम्बोधन गर्ने गरी ग्यारेन्टी कार्ड बाँडेका थिए । समग्र निर्वाचन प्रचारका क्रममा अत्याधुनिक प्रविधियुक्त मिडिया वार रुम बनाइएको थियो । केजरीवाल मुख्यमन्त्री भएपछि दिल्लीबासीलाई मासिक २ सय युनिटसम्म निशुल्क बिजुली, मासिक २० हजार लिटरसम्म खानेपानी निशुल्क वितरण, गरिब जनताको लागि मोहल्ला क्लिनिक, अस्तव्यस्त बन्दै गएको खानेपानीको पाइपलाइन विस्तार, शिक्षा र स्वास्थ्यमा इतिहासकै सबैभन्दा धेरै लगानी गर्ने जस्ता काम गरे । निजी विद्यालयलाई सीमान्तकृत वर्गका लागि २५ प्रतिशत सिट छुट्याउने व्यवस्था कार्यान्वयन गरे । निजी विद्यालयलले उठाएको जथाभावी शुल्क फिर्ता गराए ।

महिलालाई दिल्लीका बसमा निशुल्क यात्रा, वरिष्ठ नागरिकलाई सरकारी खर्चमा तीर्थयात्रा, फ्रि वाइफाइ, पर्याप्त सिसीटिभी क्यामरा जडान, व्यवस्थित पार्किङ लगायतका महत्त्वपूर्ण काम केजरीवालको सरकारले गरेको थियो । उनको सरकारले मूलतः दिल्लीका न्यून आय भएका मानिसलाई लक्षित हुने किसिमले राहत तथा सेवासुविधा वितरण गरेका थिए । भाजपाको अन्धर्राष्ट्रवाद, हिन्दूवादी अस्त्र, विपक्षीप्रति कडा रवैया यसपटकको चुनावका लागि महंगो सावित भए । भाजपा नेताले चुनावका दौरानमा धर्म र नश्लप्रति विवादास्पद अभिव्यक्ति दिए । उनीहरूले केवल राष्ट्रिय मुद्दामा मात्र बढी भाषणबाजी गरे । मुस्लिम समुदायप्रति कडा रूपमा प्रस्तुत भए । साम्प्रदायिक घृणाको राजनीतिबाट भाजपाका नेताले आफूलाई मुक्त गर्न सकेनन् । आजका भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदी हिजो गुजरातको विकासको मोडलबाट केन्द्रीय राजनीतिमा उदाएका हुन् । ठीक त्यसै गरी केजरीवालका लागि राष्ट्रिय राजनीतिको ढोका उघारिएको छ । तर भाजापाको जस्तो देशव्यापी संगठन र इतिहास नभएका कारण केजरीवालको राष्ट्रिय राजनीतिको रोलमोडेल बन्ने सम्भावना भने मोदीका जस्तो सहज नभएको विश्लेषकको भनाइ रहेको छ ।

नेपालले के सिक्ने ?
अरविन्द केजरीवालको आप पार्टीको सफलताबाट नेपाली राजनीति धेरथोर प्रभावित हुने नै छ । खासगरी आप पार्टी भारतीय राजनीतिको मूलधारले हल गर्न नसकेका थुप्रै समस्याको विकल्पका रुपमा जनताको विश्वाससहित उदाएको दल हो । भ्रष्टाचार, कुशासन, बेरोजगारी, शिक्षाको विभेद, गरिबी, महंगी, बसाइसराई लगायतका समस्याबाट जर्जर बन्दै गएको दिल्ली र भारतका लागि परम्परागत पार्टीबाट जनता निराश बन्दै गइरहेका बेलामा सामाजिक अभियानका माध्यमबाट आप र केजरीवालको नेतृत्व राजनीतिमा उदीयमान भएको हो । पार्टी स्थापनाको ८ वर्षको छोटो अवधिमा यसले पुरै भारतभर प्रभाव छोड्न सफल भएको छ । यद्यपि अझै पनि यो दिल्लीकै क्षेत्रीय दलकै अवस्थामा छ । नेपालमा पनि यस्तै बेथिति र विसंगतिबीचमा केही वर्ष यता वैकल्पिक राजनीतिको चिन्तन अगाडि बढेको छ । भारतीय आप पार्टी र केजरीवालबाट प्रभावित भएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता औल्याउँदै नयाँ शक्ति खोलेका थिए । हाल आएर नयाँ शक्ति र उपेन्द्र यादवको पाटी एकीकरणपछि संघीय समाजवादी बनेको अवस्था छ । उपेन्द्रसँगको एकतापछि उनको वैकल्पिक राजनीति धरापमा परेको छ ।

नेपाली राजनीतिमा अहिले वैकल्पिक दलका रुपमा साझा दल र त्यसका संयोजक रवीन्द्र मिश्रको प्रभाव तुलनात्मक रुपमा बढी देखिन्छ । कतिपयले उनलाई नेपाली केजरीवालको रूपमा लिने गरेका छन् । केजरीवाल जसरी आन्दोलन र अभियानबाट नभई मिश्र पूर्व बिबिसी नेपालका प्रमुख पत्रकारका रुपमा र हेल्प नेपाल नेटवर्क नामक परोपकारी संस्थाको नेतृत्व गर्दै कल्याणकारी काम गर्दै राजनीतिमा प्रवेश गरेका छन् । उनले गत संसद निर्वाचनमा काठमाडौंमा राम्रो प्रभाव जमाउन सफल भए पनि चुनाव जित्न भने सकेनन् । पहिला विवेकशीलसँग पार्टी एकता गरे पनि उज्ज्वल थापा र मिश्रको बिचमा असहमति बढ्दै गएपछि फेरि साझा र विवेकशील छुट्टिएका हुन् । विवेकशील मूलतः सामाजिक सञ्जालका माध्यमबाट उदाएको दल हो । कतिपयले रवीन्द्र मिश्रको दललाई ‘फेसबुके पार्टी’ भनेर आलोचना गर्ने गरेका छन् ।

दिल्ली चुनावमा केजरीवालले अवसर पाएपछि त्यसलाई सदुपयोग गर्दै विश्वास जित्दै गए । तर नेपालमा रवीन्द्र मिश्र लगायत वैकल्पिक दलका नेताले अवसर पाउन सकेनन् । जनतामा काम गरेर देखाउने अवसर नपाएकैले समस्या भएको मिश्रको धारणा छ । सबैभन्दा बढी आशा गरिएका र चर्चामा आएका वैकल्पिक राजनीतिका नेपाली केजरीवाल रवीन्द्र मिश्र राजनीतिमा निकै कोरा हुन् । उनले गत आम निर्वाचनमा काठमाडौं लगायत कतिपय क्षेत्रमा उठाएका उम्मेदवार असाध्यै योग्य र सक्षम थिए, तर जनताले पुरानै दललाई मत दिए ।

कल्याणकारी लोकतन्त्र, सुशासन र विकासमा जोड दिएको साझा पार्टीको सँगठन देशव्यापी बनेको छैन । यो दलको सम्भावना बाँकी नै छ तापनि चुनौती कम छैनन् । यसले पनि जनताका आधारभूत मुद्दालाई प्रभावकारी रुपमा उठाउन सकिरहेको छैन । यसको मिडियामा आएपछि मात्र भ्रष्टाचारको विरोध गर्ने शैली छ । यसले समाजका विकृति विसंगतिविरुद्ध जनतासँग जोडिएर अभियान चलाउन सकेको छैन । विभिन्न क्षेत्रका विज्ञ, पढेलेखेका सहर केन्द्रित युवा जम्मा गर्ने र सामाजिक सञ्जालमा आदर्श कुरा गर्नै शैलीले मात्र आजको बिग्रेको राजनीतिको दशा सुधार्न सकिँदैन न त महंगी, बेरोजगारी, भ्रष्टाचार, नातावाद, कृपवाद, गरिबी, अशिक्षा लगायतले पीडित जनताको मन जित्न नै सकिन्छ । अबको राजनीतिमा जातिवाद, धर्म, नश्ल, क्षेत्रीयताका कुरा चल्दैनन् ।

केजरीवालले जसरी सरकारी स्कुल सुधारेर देखाए, अस्पताल सुधारे, खानेपानीका पाइप बिछ्याए, गरिबलाई फ्रि बिजुली र खानेपानी दिए । त्यसै गरी काममा केन्द्रित नहुने हो भने मूलधारका राजनीति दलका लागि आगामी दिन सुखद नहुन सक्छन् । सत्ता बाहिर हुँदा राष्ट्रवाद भन्ने सत्तामा पुगेपछि समर्पण गर्ने, सत्तामा नपुगुन्जेल उग्र कुरा गर्ने पुगेपछि कमाउनतर्फ लाग्ने, जाति र धर्मबीचमा झगडा पारेर फाइदा लिने, भारतको विरोध गरेर सेन्टिमेन्ट बटुल्ने, अनावश्यक भाषणबाजीमा रमाउने नेतृत्वलाई अबका जनताले रुचाउने छैनन् । जनतालाई ससाना काम भए पनि गरेर देखाउने नैतिक आचारण भएको, सेवाको भावले राजनीतिमा प्रवेश गरेको, शिक्षित, त्यागको राजनीति गर्न सक्ने, थला परेका विश्वविद्यालयलाई पुनर्जीवन दिन सक्ने, दलभन्दा माथि उठेर काम गर्न सक्ने, निजी अस्पतालको मनपरी रोक्न सक्ने नेपाली केजरीवालको खोजी राजनीतिले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया