लेखनाथमा खुल्ने भयो बाल अस्पताल

समाधान संवाददाता २०७६ फागुन १२ गते १३:०६

समाधान संवाददाता
पोखरा

पोखरामा विशिष्ट सेवासहित बाल अस्पताल स्थापना हुने भएको छ । काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले पोखरामा बाल अस्पताल स्थापना तथा सञ्चालन गर्ने भएको हो ।

चाइल्ड हेल्थले सबै प्रदेशमा विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने तथा बाल स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धान गर्ने लक्ष्य राखेको छ । उसले त्यसको सुरुआत गण्डकी प्रदेशबाट सुरु गर्न लागेको हो ।

Advertisement

साबिकको लेखनाथ नगरपालिकाको कार्यालय रहेको पोखरा–२७ मा बाल अस्पताल स्थापना गर्न पोखरा महानगरपालिकाका तर्फबाट मेयर मानबहादुर जिसी र चाइल्ड हेल्थका तर्फबाट संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच आइतबार सम्झौता भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहबरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा २ बीच सम्झौता भएको हो ।

बाल अस्पताल स्थापना हुने भनिएको जग्गामा अहिले पोखरा वडा नम्बर २७ को कार्यालय छ । त्यही ठाउँमा अस्पताल स्थापना गर्न पोखरा महानगरले चाइड हेल्थसँग सम्झौता गरेको हो । ‘पोखरा महानगरपालिका २७ मा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सबै वर्ग र तहका बालबालिकाको सहज पहुँच भएको र केन्द्रीय अस्पतालसँग प्रेषण सम्पर्कसहितको बाल अस्पताल निर्माण तथा सञ्चालन गर्ने,’ सम्झौताको मुख्य लक्ष्य छ ।

Advertisement

चाइल्ड हेल्थलाई ३० वर्ष निशुल्क जग्गा
अस्पताल स्थापना गर्न पोखरा महानगरपालिकाले ३७ रोपनी जग्गा र त्यहाँ बनेका संरचना उपलब्ध गराउने छ । ३० वर्षका लागि जग्गा र जग्गामा रहेको संरचना महानगरपालिकाको सहकार्यमा निशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । दुवै पक्षको सहमतिमा आवश्यकता अनुसार सम्झौता अवधि थप गर्न सकिन महानगर र चाइल्ड हेल्थसँग सहमति भएको छ ।

पोखरा महानगर र गण्डकी प्रदेशले अस्पताल निर्माण गर्न आवश्यक स्रोत जुटाउन समन्वय तथा सहयोग गर्ने छ । अस्पताल सञ्चालनका लागि तथा अस्पतालको सेवा गरीबीमा रहेका तथा सीमान्तकृत वर्गको पहुँचमा पुर्‍याउन आवश्यक स्रोतका लागि महानगरपालिकाको स्रोत छुट्याउने, प्रदेश सरकारसँग समन्वय गर्ने तथा नेपाल सरकारका बिमा लगायतका योजनासँग जोड्ने तथा अन्य स्रोतका लागि आवश्यक पहल गर्ने सम्झौतामा उल्लेख छ ।

महानगरपालिका र प्रदेशले अस्पताल निर्माण तथा सञ्चालनका निमित्त अन्य आवश्यक सबै प्रकारका सहयोग तथा सहजीकरण गर्ने बताइएको छ । महानगरपालिकाको वडा कार्यालय सञ्चालनमा रहेको भवनलाई तत्कालै फेरि निर्माण गरी सोही भवनबाट वडा कार्यालय तथा बाल अस्पताल सेवा समेत सञ्चालनमा ल्याउन पहल गर्ने दुबै पक्षबीच सम्झौता भएको छ ।

अस्पताल सञ्चालन गर्न प्रदेशस्तरीय समिति
अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि एक प्रदेश स्तरीय समिति बनाइने भएको छ । समितिमा प्रदेश तथा स्थानीय सरकारको प्रतिनिधित्व हुने छ । अस्पताल निर्माण गर्न आवश्यक विस्तृत डिजाइन तयार तयार पार्ने काम चाइल्ड हेल्थका तर्फबाट हुने छ । उपलब्ध भवन तथा जग्गामा अस्पतालका लागि आवश्यक संरचना पुनः निर्माण तथा नयाँ निर्माणसमेत उसले नै गर्ने सम्झौतामा छ ।

अस्पताल सञ्चालन गर्न आवश्यक उपकरण, प्रविधि, प्राविधिक तथा अन्य जनशक्तिको व्यवस्थापन, अस्पतालको सेवालाई किओच केन्द्रीय अस्पतालसँग जोड्ने, टेलिमेडिसिन तथा पृष्ठपोषणसहितको प्रेषण सेवा सञ्चालन गर्ने चाइल्ड हेल्थका तर्फबाट प्रतिबद्धता भएको छ ।

स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने र प्राप्त उपयोगी नतिजाहरु महानगरपालिकाको स्वास्थ्य शाखालाईसमेत उपलब्ध गराउने, महानगरपालिकालाई मासिक रुपमा स्वास्थ्य सेवा उपयोगको प्रतिवेदन तथा वार्षिक रुपमा प्रगति तथा आर्थिक प्रतिवेदन बुझाउने सम्झौता भएको छ ।

प्राप्त जग्गा तथा संरचना यस सम्झौतामा अस्पतालको उद्देश्य परिपूर्ति हुने बाहेकका काम बााहेक अरु प्रयोजनका लागि उपयोग नगराउने महानगरसँग उसले सम्झौता गरेको छ । प्राप्त जग्गा तथा संरचना नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारको प्रचलित कानून, नीति निर्देशन बमोजिम उपयोग गर्ने, पोखरा महानगरपालिकाकोे शिशुवा अस्पताल सञ्चालन, व्यवस्थापन र सुदृढीकरणमा सहकार्य गर्ने सम्झौतामा मेयर जिसी र डा. कोइरालाले हस्ताक्षर गरेका छन् ।

अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन, अन्य आवश्यक समन्वय, सहयोग गर्न पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सचिव र प्रदेशका लब्ध प्रतिष्ठित व्यक्तिहरु समेत भएको एक सल्लाहकार समितिको गठन गर्ने सहमति भएको छ

सुरुमा ५० शैया, ५० करोड लागत
यसै वर्षबाट कामबाट काम थाल्ने योजनासहित निर्माण हुन लागेको बाल अस्पताल सुरुमा ५० शैयाको हुने छ । काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक डा. कोइरालाका अनुसार बिस्तारै अस्पतालको क्षमता बृद्धि गर्दै एक सय शैयाको हुने छ ।

‘बाहिरबाटसमेत स्रोत र साधान जुटाउने तर गण्डकीमा स्थापना हुने बाल अस्पतालको स्रोत र साधन अन्य प्रदेशमा लैजाँदैनौं । सातै प्रदेशमा बाल अस्पताल खोल्ने भनेका छौं । त्यो गण्डकीबाट सुरु भयो,’ डा. कोइरालाले भने, ‘काठमाडौंमा बल्ल एक महिनाअगाडि सरकारकासँग जग्गाको लिज एग्रिमेन्ट भएको छ ।’

कम्तीमा ३ महिनाभित्र लागत इस्टिमेट तयार पार्ने उनको भनाइ थियो । ४०÷५० करोड लागत अनुमान गरिए पनि अध्ययनपछिमात्रै भन्न सकिने कोइरालाले बताए । ‘काम तत्कालै सुरु गर्छौं । डिजाइन, इस्टिमेट थालिहाल्छौं । केही महिनाभित्रै पूर्व तयारी सकिसक्छौं,’ कोइरालाले भने । पोखरा महानगरमात्रै होइन, प्रदेश र अन्य सबैको बाल अस्पताल निर्माणमा सहयोग हुने उनको अपेक्षा छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको मुख्यमन्त्री बनेदेखि नै बाल अस्पताल सञ्चालन गर्ने सम्बन्धमा डा. कोइरालासँग छलफल भएको बताए । गण्डकी प्रदेश सरकारले बाल, मुटु र मिर्गौला रोगसम्बन्धी उपचार गर्ने विशिष्टीकृत अस्पताल खोल्ने प्रदेश सरकारको योजना नै रहेको बताए । वडा कार्यालय रहेको साबिकको लेखनाथ नगरपालिकाको संरचना र जग्गामै बाल अस्पताल उपयुक्त देखिएको उनको भनाइ थियो ।

‘साबिकको लेखनाथ क्षेत्रमा विकास निर्माणको कामले गति लिएको छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘त्यसैले पनि यो बाल अस्पताल धेरै उपयुक्त ठाउँमा हुन्छ ।’ निर्माण हुन लागेको बाल अस्पतालका लागि पोखरा महानगरपालिकाले अग्रसरतामा देखाएर एउटा राम्रो संस्था खुल्न लागेको गुरुङले बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले यसै आर्थिक वर्षबाट सुवा थाल्ने गरी सञ्चालनमा ल्याउन आफूहरु लागि परेको बताए ।

तपाईको प्रतिक्रिया