क्यान इन्फोटेक सुरु

समाधान संवाददाता २०७६ फागुन १२ गते १३:२८

समाधान संवाददाता
पोखरा

पोखरामा क्यान इन्फोटेक मेला सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक २०२० सुरु भएको हो ।

नयाँबजारको पोखरा प्रदर्शनी केन्द्रमा आयोजित मेला गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सुरुआत गरे । शेरचनले विकास र समृद्धिका लागि विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताए । विकासका लागि विज्ञान र प्रविधिसँगै नैतिकता र अनुशासनलाई पनि जोड दिनुपर्ने उनले बताए ।

Advertisement

११ औं संस्करणको गण्डकी प्रदेश स्तरीय प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ फागुन ११ देखि १५ गतेसम्म जारी रहनेछ । सूचना तथा प्रविधिको क्षेत्रमा योगदान गर्ने उद्देश्यले इन्फोटेक आयोजना गरिएको क्यान कास्की अध्यक्ष रुक्मागत भण्डारी विश्वासले बताए ।

कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पुर्‍याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको उनले बताए । इन्फोटेकमासूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइसिटी वक्तृत्वकला प्रतियोगिता, विद्यालय स्तरीय जिल्ला तथा प्रदेश स्तरीय आइटी क्विज कन्टेस्ट हुनेछन् ।

Advertisement

आइसिटी रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटप निशुल्क मर्मत, आइसिटी क्षेत्रमा स्थानीय स्तरबाट गरिएका उत्पादन प्रदर्शनी, रोबर्ट प्रदर्शनी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधि प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री गरिने विश्वासले जानकारी दिए ।

यस पटकको क्यान इन्फोटेकमा मेड इन नेपाल एक्स्पोजर रहनेछ । यसका प्रोडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रोडक्ट र आइडियाको प्रदर्शनी गर्ने आयोजकले जनाएको छ । क्यान महासंघले यसका निम्ति सार्वजनिक सूचना निकालेरैसम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको सचिव सेवक क्षितिजले बताए । ‘सहभागीलाई क्यान इन्फोटेकमा विभिन्न सुविधा र उत्कृष्टलाई नेसनल आइसिटी डेको अवसरमा पुरस्कृत गरिनेछ,’ उनले भने । क्यान इन्फोटेक अवधिभर बिजनेस टक प्रोग्राम पनि हुनेछ ।

मेला अवधिभर शिक्षित बेरोजगार लक्षित रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको छ । हेल्प डेक्स, ग्राफिक्स डिजाइन तथा हार्डवयर एन्ड नेटवर्कसम्बन्धी आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकाले यसबाट फाइदा लिन सक्ने छन् । पोखराको बजारमा प्राविधिक कर्मचारीको अभाव रहेकाले यो अभियान अगाडि बढाइएको कार्यक्रम संयोजक घननाथ सापकोटाले बताए । आवेदकलाई सित्तैमा तालिम दिएर क्यान महासंघ कास्की आवद्ध संस्था तथा अन्य व्यावसायिक संस्थामा रोजगारीका लागि पहल गरिने जनाइएको छ ।

इन्फोटेकमा आइसिटीसँग सम्बन्धित १ सय स्टल रहेको स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले बताए । इन्फोटेकबाट करिब ३५ लाख आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाएर ५ लाख बचत गर्ने लक्ष्य छ । बचतलाई विगतमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष आशीष गुरुङले जानकारी दिए ।

क्यान कास्की अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’को अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघ केन्द्रीय अध्यक्ष नवराज कुँवर, नेपाली सेना विजयपुर ब्यारेक पृतनापति गोकुल भण्डारी, पोखरा उद्योग वाणिज्य संंघ महासचिव अर्जुन पोखरेल, ला–ग्रान्डी आइटी कलेजका प्रमुख किरण केसी, क्यानका पूर्व अध्यक्ष चण्डीप्रसाद अर्याल, क्यान गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डे, क्यान कास्की सचिव सेवक क्षितिज लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया