दमौलीमा खुल्यो १ करोडको लगानीमा फुटसल

समाधान संवाददाता २०७६ फागुन १२ गते १३:३७

समाधान संवाददाता
दमौली

तनहुँको व्यास नगरपालिका १ करङकाठमा १ करोडको लगानीमा फुटसल सञ्चालनमा आएको छ । स्थानीय ५ युवाको लगानीमा दमौली फुटसल सञ्चालनमा आएको हो ।

बजार बाक्लिदै गएपछि खेलमैदान अभाव भएकाले जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको सञ्चालक सन्तोष दरैले बताए । ३ रोपनी जग्गा भाडामा लिएर ३ वटा मैदान बनाइएको छ । मैदानमा सेभेन ए साइडको १ र ५ ए साइडका २ खेल एकैसाथ खेल्न मिल्छ ।

Advertisement

‘दमौलीका युवा तथा बालबालिकामा फुटबलप्रति निकै मोह छ तर ठाउँ अभावका कारण सबैले खेल्ने इच्छा हुँदाहुँदै पनि खेल्न पाउनुभएको छैन,’ दरैले भने, ‘त्यही अभावलाई पूरा गर्न फुटसल सञ्चालनमा ल्याएका हौं ।’ फुटसलमा नरेन्द्रराज शर्मा, अविनाश कैनी, सागर शाही र विवेक आचार्यको लगानी छ ।

५ ए साइडमा २ टिम गरी १० जना खेल्न मिल्ने र सेभेन ए साइडका १४ जना खेल्न मिल्ने फुटसलका लागि प्रतिव्यक्ति ५ ए साइडमा १ सय २० र सेभेन ए साइडमा प्रति व्यक्ति १ सय ५० शुल्क निर्धारण गरिएको छ । फुटसल खेल्न चाहनेका लागि सोमबारबाट बुकिङ खुला गरिने सञ्चालक विवेक आचार्यले जानकारी दिए । बल, खानेपानी र प्राथमिक उपचार सामग्री फुटसलमै उपलब्ध हुनेछन् ।

Advertisement

यसलाई फुटसल ट्रेनिङ सेन्टर बनाउने लक्ष्यसमेत राखिएको छ । खेलकुदमा आकर्षण बढाउन र बालबालिकालाई सानैदेखि फुटबलमा दक्ष बनाउने उद्देश्यसहित भविष्यमा ट्रेनिङ सेन्टर पनि स्थापना गरिनेछ ।सोही ठाउँमा व्याडमिन्टन कोर्टसमेत बनाइने जनाइएको छ।

फुटसल मिनी फुटबल हो । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले ५ सेकेन्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको २ मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको हो ।

तपाईको प्रतिक्रिया