श्रीमान हत्या अभियोगमा पक्राउ

समाधान संवाददाता २०७६ फागुन १२ गते १५:१७

समाधान संवाददाता
दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा उनकै श्रीमती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

सम्झना विरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट आइतबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । गत माघ १७ गते भएको घटनामा श्रीमतीको संलग्नता देखिएपछि उनलाई फागुन ८ गते पक्राउ गरिएको थियो ।

Advertisement

माघ १८ गते बिहान रामबहादुर घरमै मृत फेला परेका थिए । श्रीमान् मृत फेला परेपछिसम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले घटनामा सम्झनाले प्रयोग गर्ने मोबाइलको कल डिटेल लगायतका विवरण निकालेर अनुसन्धान गर्दा श्रीमान्लाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रामबहादुर दैनिक मदिरा सेवन गर्थे । घटनाको दिन पनि उनले मदिरा सेवन गरेका थिए । मृत अवस्थामा फेला परेका उनको घाँटीमा नीलो डाम देखिएपछि उनको हत्या भएको हुन सक्ने प्रहरीलाई शंका थियो । उनको पोस्टमार्टम रिपोर्टमा सामान्य मृत्यु नदेखिएकाले प्रहरीले विस्तृत रुपमा घटनाको अनुसन्धान थालेको थियो । मृतकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

श्रीमान्को मृत्युपछि सम्झनाले १३ दिने काजकिरियासमेत गरिसकेकी थिइन् । घटनापछि सुरुमा सम्झनाले मृतकको पोस्टमार्टम गर्न आनाकानी गरेकी थिइन् । मृतकका अन्य आफन्तले पोस्टमार्टम गर्नुपर्नेमा जोड दिएपछि पोस्टमार्टम भएको थियो । प्रहरीले सम्झनालाई विभिन्न चरणमा सोधपुछ गर्दा उनले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया