नेकपाकै कारण प्रतिक्रियावादीलाई सजिलोः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ फागुन १३ गते १२:४७

समाधान संवाददाता
पोखरा

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि अन्तर्घाती काम नगर्न सुझाएका छन् । उनले कम्युनिस्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने भएकाले हिँडेको बाटोमाथि नै प्रश्न उठाउने गरी भूल नगर्न सुझाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीको प्रदेश स्तरीय भेलामा मुख्यमन्त्री गुरुङले उक्त भनाइ राखेका हुन् ।

‘कम्युनिस्ट पार्टी र जनताको सम्बन्ध अक्सिजनयुक्त रगतजस्तै हो । जनताबाट प्राप्त यो साथ सुरक्षित राख्नुपर्छ,’ उनले भने, ‘हामी जुन बाटोमा हिँड्न खोजिराख्या छौं । त्यही बाटोमाथि प्रश्न उठाउने गरी हामीबाट भूल हुनुहुँदैन । अन्तर्घातबाट हाम्रो पार्टीलाई बचाउनुपर्छ ।’

गुरुङले अबको ३ वर्षमा फेरि नेकपा जनताकै बीचमा जानुपर्ने भएकाले पार्टीको अस्तित्व सकिने गरी कुनै गतिविधिमा संलग्न नहुने सुनाए । ‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको बीचमा देखिनुपर्छ । जनताको कस्सीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने ।

Advertisement

जनताको साथले नेकपा २ तिहाइसम्म आइपुगेको तर, सबैले जनताको मायालाई बेवास्ता गर्दै हिँडेको मुख्यमन्त्री गुरुङले आत्मसमीक्षा गरे । उनले अहिले धेरै कम्युनिस्ट नेता जनमानसमा पुग्दै नपुगेको दाबी गरे ।

‘अहिले धेरै कम्युुनिस्ट नेताहरु नव सामन्तजस्तो १ खालको टुरिस्टजस्तो हामी जनमानसमा पुग्दैनौं । जनताका झुपडीमा पुग्दैनौं । जनताको माटो जस्तो हौं हामी कम्युनिस्ट । उनीहरुबिना हामी उम्रिन सक्दैनौं,’ गुरुङले भने, ‘जनताको बीचमा जानुपर्छ । जनताको समस्या समाधान गर्न लाग्नुपर्छ । कम्युनिस्ट पार्टी जनताको माझमा रहँदासम्म संसारका कुनै पनि पार्टीले अस्तित्व प्राप्त गर्न सक्दैन ।’

गुरुङले जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदैं गएको सुनाउँदै अघि भने, ‘हाम्रो शक्ति भनेका जनता हुन् । तर, हाम्रो सम्बन्ध सुधार्न जरुरी छ ।’ उनले उनले पार्टीभित्रैबाट आफैंले आफैंलाई सिध्याउने बाटोमो लागेकाले प्रतिक्रियावादीलाई नेकपाविरुद्ध खेल्न सजिलो भएको सुनाए ।

‘हामी आत्मालोचना, आत्मनिन्दामा बसेका छैनौं । आफैं आफ्नै सरकारविरुद्धमा छौं । हुन त यसमा गोपनीयताका कुरा होलान्, इमान्दारिताका कुरा होलान्,’ मन्त्री गुरुङले भने, ‘हामी आफैंलाई सिध्याउने बाटोमा लागिराख्या छौं । त्यसैले प्रतिक्रियावादी हाम्रो विरुद्धमा खेलिरहेका छन् ।’

मन्त्री गुरुङले अहिले ‘सादा जीवन उच्च विचार’ दूर्लभ भइसकेको तर, नेकपाले जीवित तुल्याउने प्रयत्न गरिरहेको दाबी गरे । सादा जीवन उच्च विचार दुर्लभ भइसक्यो । यसलाई हामी खाजेर पाउँदैनौं । हामी यसलाई जीवित पारेर हामी सादा जीवन उच्च विचारको बाटोमा जाने प्रयत्नमा छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया