ग्राहकलाई सस्तो, कार्यालयलाई सजिलो

समाधान संवाददाता २०७६ फागुन १३ गते १२:५४

समाधान संवाददाता
काठमाडौं

प्रविधिले पछिल्लो समय दिएको उपहार हो, मोबाइल फोन । र, त्यसमा पनि स्मार्टफोन । दैनिक जीवनको अभिन्न अंग बनिसकेको मोबाइल फोनले सञ्चारका लागि मात्रै होइन, जीवनयापनमा सहज बनाउन पनि भूमिका खेलिरहेको छ ।

स्मार्टफोनको बढ्दो प्रयोगसँगै यसैलाई लक्षित गरी विभिन्न सेवा आएका छन् । जसले सार्वजनिक सेवा प्रवाहलाई सर्वसुलभ बनाइदिएको छ । यद्यपि यसको प्रयोगमा ब्यापकता अझै आउन सकेको छैन । अहिले तपाई हाम्रो हातमा झुण्डिरहने स्मार्टफोनबाटै बिजुलीको बिलदेखि खानेपानी, विद्यालय, बिमाको प्रिमियम तिर्न मिल्छ । यसका लागि कार्यालयमा धाइरहनु पर्दैन । मोबाइल वालेटले भुक्तानी प्रणालीलाई सहज बनाउँदै मानिसका लागि समय र पैसा जोगाइदिएको छ ।

Advertisement

मोबाइलमा डाउनलोड गर्‍यो, निमेषभरमै भुक्तानी गर्‍यो । एकातिर यो सुरक्षित भयो, छिटो हुने भयो र सस्तो पनि पर्ने भयो । त्यतिमात्रै होइन, भुक्तानी लिनका लागि कर्मचारीलाई अनलाइन पेमेन्टले काममा सहज भएको छ । बिल भुक्तानी गर्नका लागि अब कार्यालयमा धाइरहनु पर्दैन । यसले त्यहाँसम्म पुग्ने समय र पैसा बचत गरिदियो भुक्तानी पनि झन्झटमुक्त रह्यो ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार मासिक झण्डै ६ अर्ब रुपैयाँमध्ये करिब ८० करोड रुपैयाँ अनलाइनबाट भुक्तानी हुन थालेको छ । गत पुस महिनामा मात्रै ५० करोड रुपैयाँ इसेवाबाट मात्रै भुक्तानी भएको छ । यसले भुक्तानी गर्ने ग्राहकलाई मात्रै नभई भुक्तानी लिने कर्मचारीका लागि पनि निकै सहज भएको छ ।

Advertisement

दैनिक एउटा काउन्टरमा आउने ग्राहक २० प्रतिशतभन्दा बढीले कम भएका छन् । उनीहरुले मोबाइलबाटै झण्झटमुक्त तरिकाले बिल भुक्तानी गर्दा कर्मचारीलाई कामको भार कम परेको छ । यद्यपि अझै पनि ठूलो संख्यामा मानिसहरु भुक्तानीको यति सजिलो माध्यमबाट टाढै छन् । र, त्यसको कारण हो भुक्तानी प्रणालीमा देखिएको समस्या ।

इसेवाका प्रमुख कार्यकारी सुभास सापकोटाका अनुसार सरकारले सबै कामलाई अनलाइन प्रणालीमा लैजाने भने पनि भुक्तानीमा ल्याएर बोटल नेक लगाइदिएको छ । जसका कारणले अझै पनि भुक्तानीमा समस्या छ । सबै काम अनलाइनबाटै गर्न सकिए पनि अन्तिममा भुक्तानी गर्दा कागज बोकेर बैंक नै धाउनुपर्ने अवस्था छ । घरमा बसीबसी लाइसेन्सको फारम भर्न सकिन्छ तर भुक्तानी गर्न कार्यालयमै धाउनु पर्छ । जबसम्म भुक्तानी प्रणालीलाई सहज बनाइँदैन, तबसम्म यो समस्या उस्तै रहने सापकोटाको बुझाइ छ ।

विद्युत प्राधिकरणकै कुरा गर्दा अहिले प्राधिकरणका ४३ लाख ग्राहक छन् । जसमध्ये ३० प्रतिशतले मात्रै बिल भुक्तानी डिजिटल वालेटमार्फत गर्छन् । अर्थात् इसेवा, पेप्वाइन्ट लगायतका माध्यमबाट गर्छन् । जसमध्ये सबैभन्दा बढी हिस्सा इसेवाको ६५ प्रतिशत छ ।

त्यसो त इसेवाको एप हालसम्म २० लाख पटक डाउनलोड भइसकेको छ । जसले विभिन्न ३ दर्जनभन्दा बढी भुक्तानीको सुविधा सानो मोबाइलमा सीमित बनाइदिएको छ । तर पनि सबैले भुक्तानी गर्न सकेका छैनन् । प्राधिकरणका न्यौपानेका अनुसार अहिले दैनिक २४ हजारभन्दा बढी कारोबारमध्ये ६ हजारभन्दा बढी कारोबार अनलाइनबाट हुँदै आएको छ । जसको श्रेय इसेवा र पेप्वाइन्टलगयातका डिजिटल वालेटलाई दिन्छन् ।

अहिले इसेवासँगै पेप्वाइन्ट, खल्ती, सेलपे लगायतका कैयन डिजिटल वालेट आइसकेका छन् । जसले भक्तानी प्रणालीलाई निकै सहज बनाइदिएको छ । त्यत्तिमात्रै होइन, स्क्यान एन्ड पेले हरेक पान पसलदेखि सपिङ मलसम्ममै पुगेर भुक्तानी प्रणालीलाई सुरक्षित पनि बनाइदिएको छ । विद्युत् प्राधिकरणको तथ्यांकलाई हेर्ने हो भने पनि अहिले रत्नपार्क काउन्टरमा मात्रै गत पुस महिनामा मात्रै इसेवामार्फत् ६ हजार ५ सय ७५ वटा कारोबार भएको छ । त्यस्तै, पे–प्वाइन्टले २ हजार ३ सय २९ र बाँकी कम्पनीले १ हजार जति कारोबार गरेका छन् ।

तपाईको प्रतिक्रिया