मगर दिवसमा पुस्तक प्रदर्शनी

समाधान संवाददाता
पोखरा
पोखराका मगर समुदायले ३८ औं राष्ट्रिय मगर एकता दिवस फागुन १५ गते मनाउने भएका छन् । मगर दिवस कार्यक्रमको तयारी पूरा भएको नेपाल मगर संघ कास्कीले जनाएको छ । यस वर्ष नेपाल मगर संघ कास्कीको भवनमा विविध मौलिक सांस्कृतिक कार्यक्रमसहित मगर दिवस मनाउने तयारी गरिएको हो । मगर समुदायको भेषभूषा, बाजागाजा, झाँकीसहित नगर परिक्रमा गरी मगर संघ कास्कीको सभाहलमा पुगेर कार्यक्रम गर्ने योजना रहेको मगर संघ कास्की अध्यक्ष संगीता पुनमगरले बताइन् ।
यसवर्ष मगर दिवसमा मगर समुदायसँग सम्बन्धित पुस्तक प्रदर्शनीसमेत हुने भएको छ । मगर समुदाय, आदिबासी, जनजाति लगायतका समुदायसँग सम्बन्धित विषयवस्तु समेटिएका पुस्तक प्रदर्शनीमा राखिने अध्यक्ष पुनमगरले जानकारी दिइन् । करिब १ हजारभन्दा बढी पुस्तक प्रदर्शनीका लागि संकलन गरिएको मगर भाषा, संस्कृति, संगठन तथा प्रचारप्रसार प्रमुख तिलक पुनमगरले जानकारी दिए । मगरसँग सम्बन्धित इतिहास, संस्कृति, भाषा लगायतका विषयवस्तुबारे जानकारी दिन प्रदर्शनी फलदायी हुने उनको विश्वास छ ।
तपाईको प्रतिक्रिया