लेक लाग्नेको ओखतीमूलो

मुस्ताङमा आइतबार मलेसियाली नागरिकको लेक लागेर मृत्यु भयो । ६२ वर्षीय राजा लिंम थेन्चाथम्दीलाई मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेको थियो । सम्भवतः उनी भारतीय मूलका मलेसियाली हुनुपर्छ । भारतीय र भारतीयमूलका तेस्रो मुलुकका विदेशी मुक्तिनाथ दर्शनका लागि जाने गरेका छन्, नेपालीको धार्मिक तीर्थस्थल त भइहाल्यो । नेपाली बौद्धमार्गी र हिन्दुका लागि निकै महत्वपूर्ण तीर्थस्थल हो मुक्तिनाथ । नेपालीहरुमा पहिलापहिला एउटा अन्ध विश्वासै थियो—मुक्तिनाथ जाँदा मृत्युवरण भए स्वर्ग पुगिन्छ, जन्म र मरणको यो चक्रबाट मुक्ति पाइन्छ अर्थात निर्वाण प्राप्त हुन्छ । पहिला मुस्ताङ जाने मोटर बाटो थिएन, हिँडेर जाँदा थकाइ र शारीरिक दुर्बलताकै कारण पनि वृद्धवृद्धा तीर्थालुले बाटैमा ज्यान गुमाउँथे । अत्यन्तै दुर्गममा जो छ, मुक्तिनाथ । लेक लागेर वा अरु कारणले ज्यान गुमाउँदा भाग्यवादी नेपालीहरु निर्वाण प्राप्तिको विश्वासमा हुन्थे ।
झन्डै ४ हजार मिटर उचाइको मुक्तिनाथमा जाँदा लेक लाग्नु स्वाभाविक हो । सबैलाई लाग्दैन, कतिपयलाई लाग्छ । सबैलाई लाग्थ्यो भने न मुक्तिनाथमा बौद्ध भिक्षु बस्थे न हिन्दु पुजारी र न मुक्तिनाथको रानीपौवा बजारमा बस्ती हुन्थ्यो । मान्छेको शरीरैपिच्छे प्रतिरोधात्मक शक्ति फरकफरक हुन्छ र बाहिरी आक्रमणसँग जुध्न कसैलाई गाह्रो पर्छ, कसैलाई सजिलो । आखिर चाल्र्स डार्बिनले भनेकै छन्—प्रकृतिको नियमै हो, सर्भभाइबल अफ दी फिटेस्ट । अर्थात बलियो बांगो बाँच्छ, निर्बलियो बाँच्न सक्दैन । तर प्रकृतिको यो सिद्धान्तसँग प्रतिस्पर्धा गर्न मानव जाति थुप्रै मामिलामा सफल पनि भइसकेको छ । लेक लाग्दैमा कसैको ज्यान गई हाल्ने जमाना यो होइन । यो विज्ञान प्रविधिको युग हो, आधुनिक चिकित्सा विज्ञानले उच्चतम् प्रगति गरेको युग हो । लेक लाग्नेको सजिलै उपचार चिकित्सा विज्ञानले गर्न सक्छ । मान्छेको जीवन बचाउन सक्छ । हो, त्यस्तो उपचार पद्धतिका मामलामा मुस्ताङ र मुक्तिनाथ भने लंकामा सुन छ, कान मेरो बुच्चैको हालतमा छ । चिकित्सा विज्ञानले हाँसिल गरेको प्रगतिको अभ्यास र प्रयोग मुस्ताङ र मुक्तिनाथले राम्ररी लिन पाएको छैन ।
मुक्तिनाथ र मुस्ताङ अनि मनाङका हिमाली ठाउँहरुमा हाइअल्टिच्युड अर्थात लेक लाग्नेको उपचार गर्ने केन्द्र आवश्यक छ । धार्मिक पर्यटकलाई मात्रै होइन, पदयात्री पर्यटकलाई समेत लक्ष्य गरी त्यस्तो केन्द्र खोलिनुपर्छ । लमजुङ, मनाङ हुँदै मुस्ताङको कठोर पदयात्रा गर्ने पर्यटक वर्षेनी हजारौं हुन्छन् । संसारकै सबैभन्दा अग्लो पदयात्राको बिन्दु थोरङ भन्ज्याङ मनाङ र मुस्ताङको बीचमा छ । थोरङमा लेकको उच्च सम्भावना हुन्छ । त्यहाँ उपचार केन्द्र स्थापनाको सम्भावना पक्कै नहोला तर मुस्ताङ र मनाङमा चाहिँ सम्भव छ । त्यो खोलिनुपर्छ । पदयात्रा हाम्रो पर्यटनको ठूलो आकर्षणको क्षेत्र हो, नेपाल आज पनि पदयात्रालाई विश्व पर्यटन बजारमा बेचिरहन्छ । हामीलाई यसमा गर्व छ भने यसमा आउने पर्यटकको जिउज्यान जोखिममा पर्न नदिने उपाय अपनाउनुपर्ने दायित्व हाम्रो राज्यको हो । एक त पहिल्यै लेक लाग्ने सम्भावनाको ख्याल गर्दै पदयात्रु र तीर्थालुलाई अभिमुखीकरण र जानकारी गराउने पद्धतिको विकास गर्नु उत्तम हुन्छ र अर्काे खासै खर्चिलो नहुने लेक लाग्ने समस्याको उपचार केन्द्र खोल्नु अत्यन्तै आवश्यक छ । यति पनि गर्न कसर बाँकी रहन्छ भने हामी पर्यटक र पर्यटनप्रति गम्भीर नरहेको सन्देश जान्छ, जसले देशको बदनामी गर्छ ।
तपाईको प्रतिक्रिया