दक्षिणपूर्वी एसियाली जनताको क्रान्तिको भविष्य

समाधान संवाददाता २०७६ फागुन १४ गते १४:४२

सुदर्शन प्रधान

दक्षिणपूर्वी एसियामा अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहित ८ राष्ट्र छन् । यी सबै राष्ट्रका शासक वर्गका निम्न सैद्धान्तिक र व्यावहारिक अवधारणा एउटै छन्ः
प्रथम– समाजका मूल चालक मजदुर र किसानका हकहित र अधिकारप्रति बेवास्ता तर सामन्त, जमिनदार, दलाल पुँजीपतिवर्गको संरक्षण र सेवा ।

द्वितीय– यी सम्पूर्ण शासक वर्ग पितृसत्ताका हिमायती हुन् । जुन कारणले सार्कभरिमा झण्डै ९० करोड महिलाको पीडा, समस्या र संकटता बढ्दो ।

Advertisement

तृतीय– हिमाल, नदी, वनजंगल, समुद्र, भूमि, ताल, वन्य जीवजन्तु जस्ता प्राकृतिक धरोहरको चर्को दोहन र संरक्षणमा बेवास्ता र लापरवाही ।

भारतको हकमा चाहिं ऊ आफ्ना सीमा जोडिएका सम्पूर्र्ण मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप, भूमि अतिक्रमण, समुद्रमा पनि मनोमानीले प्रायः सबै राष्ट्रसँग तनावपूर्ण सम्बन्ध छ ।

Advertisement

यी माथिका सबै सत्ताको पतनको लागि र उज्वल भविष्यकोे सार्क संघ स्थापनको लागि यहाँका मजदुर, किसान, महिला, दलित, न्याय, स्वतन्त्रता चाहने बौद्धिक वर्ग जो १ अर्ब ७८ करोड जनसंख्या छ । स्वर्ग र नर्र्क, पूर्वजन्म र पुनर्जन्मजस्ता झुठ फरेबका खेतीपाती गर्ने यहाँका हिन्दू सन्तमहन्त, मठाधीश, मुस्लिम मुल्ला र खलिफा, गेरुवस्त्रधारी बौद्धिस्त भिक्षु र भिक्षुणी, क्रिस्चियन पोप, पादरी र पास्चरका सत्ता र विचारका पछि लागेर केही पाईंदैन । अनि यहाँका सर्वहारावादी र पुँजीवादी पार्टीका अनुयायी बनेर पनि केही मिल्दैन । किनकि सहर पसेका भनौं संसदीय राजनीति गर्ने कम्युनिस्ट र पुँजीवादी पार्टी पनि अन्ततः सामान्त, पुँजीपति, दलाल पुँजीपतिका सेवा गरेका देखिन्छन्, आफ्नो मेवाको लागि पनि । मजदुर, किसान र महिला वर्गको मुक्ति त उनीहरूका भाषण र जिब्रोमा मात्र भेटिन्छन् । अब सार्कभरिका जनता ऐक्यवद्ध भई आँधीझैं उठ्नुपर्छ, समुद्री छालझैं उर्लनुपर्छ, भूकम्पझैं बनी सबै जनद्रोही, महिलाद्रोही र प्रकृतिद्रोही शक्ति र सत्तालाई पतन तुल्याउनुपर्छ । आजैदेखि गाउँ, सहर, हिमाल, पहाड, तराई अनि अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंंका, मालदिभ्सका तमाम परिवर्तनका लागि घर्ष, जनआन्दोलन गर्ने मानसिकता बनाउनु पर्छ ।

१. सम्पूर्ण जनतालाई स्वास्थ्य, शिक्षा र यातायात निःशुल्क हुनुपर्छ ।

२. यातायात मजदुर, उद्योग, कलकारखाना, खानी सम्पूर्ण मजदुरलाई, सेना, प्रहरी, शिक्षकलाई झैं वेतन, रासन कार्ड, पेन्सन भनौं उपदान मिल्नु पर्छ ।

३. सामन्त, जमिन्दारका र अरू बाँझा जमिन सम्पूर्र्ण राज्यले नियन्त्रणमा लिनुपर्छ र हरेक किसानलाई उसको क्षमताअनुसार जग्गाको वितरण हुनुपर्छ । कृषि फर्म तथा पशुपंक्षी फर्म खोल्न चाहनेलाई समूहको हकमा ५०–२५० हेक्टरसम्म र निजी परिवारलाई ५ हेक्टरदेखि २५ हेक्टरसम्म जमिन उपलब्ध गराउनु पर्छ । अर्गानिक मल, अर्गानिक विषादी र अर्गानिक हार्मोन र खनजोतका मालसामान राज्यले सुपथ र सरल रूपले उपलब्ध गराउनु पर्छ । फर्म दर्ता र कृषि सहुुलियत कर्जा सरल र सस्तो हुनुपर्छ । अनि किसानका उत्पादिन वस्तु राज्यले स्वयं खरिद र बिक्री वितरण गर्नुपर्छ । २२ हजार डलर सम्मका बैंकका कृषि तथा पशुपक्षी फर्मका ऋण मिनाहा हुनुपर्छ । २२ हजार डलरमाथिका ५० हजार डलरसम्मका ऋण ५० प्रतिशत ऋण छुट हुनुपर्छ ।

४. सम्पूर्ण पितृसत्तात्मक मूल्यमान्यता, संस्कार र परम्परा विस्थापित हुनुपर्छ र महिलाको मुक्ति हुने मार्गमा लाग्नु पर्छ । बहुविवाह, बुर्काप्रथा, दहेज प्रथा, सून्यत प्रथा, तलाक प्रथा अन्त्य हुनुपर्छ । सेना, प्रहरी, कर्मचारीजस्ता राज्यको मेरुदण्डरूपी निकायमा ५० प्रतिशत आरक्षण पाउनुपर्छ । पुरुषको घरमा महिला जाने विवाहको स्वरूपमा परिवर्तन ल्याउनु पर्छ । बरु वृद्धाश्रम, शिशु स्याहार केन्द्र व्यापक स्थापना गर्नुपर्छ । महिला दमित र उत्पीडित हुने, महिला हिंसा बढ्ने, हरेक स्रोत र तिनका बाहकबारे अध्ययन–अनुसन्धान गरी ती सबैलाई विघटन, निस्क्रिय र विशेष अवस्थामा विनास गर्नुपर्छ । महिला भएर पितृसत्ताको पक्षपोषण र यो महान् आन्दोलनको विरुद्धमा षड्यन्त्र गर्छ भने उनीहरू पनि उचित रूपले दण्डित हुनेछन् । हरेक माताको हृदय सत्य, सेवा, समानता, भातृत्वता, प्रकृतिको संरक्षणको सवालमा हराभरा हुनुपर्छ । घृणा पितृसत्ताप्रति हुनुपर्छ, पुरुषप्रति होइन । पुरुषको सौर्य, साहस र शक्तिले पितृसत्ताको अन्त गर्न महत्वपूर्ण भूमिका हुनेछ । यसको लागि महिला सैद्धान्तिक, व्यावहारिक संघर्षको मोर्चामा लामो समय खारिएर मात्र नेतृत्वको लागि सबल र सक्षम बन्नेछन् ।

५. जातिभेद प्रथा र छुवाछुत प्रथाको व्यवहारतः अन्त्य हुनुपर्छ । नेपाल र भारतका झण्डै २२ करोड दलित जाति सचेत, संगठित र संघर्षशील बनी क्रान्तिको मैदानमा आउनुपर्छ । झण्डै २३०० वर्ष अघिदेखि चरम शोषण र उत्पीडनमा परेको यो जाति मुक्ति र स्वतन्त्रताको लाागि, समानताको लागि कुनै पनि मूल्य चुकाउन तयार भएर मात्र यो महान् कुरा प्राप्त हुनेछ । सम्पूर्ण जाति अझ कथित ब्राह्मण जातिसँग आफ्ना चेली, छोरीको खुला र स्वतन्त्र बिहेवारी र भोजभत्तेर नचलुन्जेल जातीय समानता भएको मान्न सकिन्न । मातृवादी र पर्यावरणवादी समाजशास्त्री भन्छन्, ‘संघर्ष, आन्दोलन र क्रान्तिले सही मोड मात्र लिनुपर्छ र यो २२ करोड दलित जातिका जनता जागरुक मात्र हुनुपर्छ । २३०० वर्ष अघिको यो कलंक केवल २३ वर्षमा अन्त्य हुन सक्छ ।

६. सार्कका सम्पूर्ण जनताले आफ्नो वरपरको प्राकृतिक वातावरणको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ । असन्तुलित प्रकृतिलार्य सन्तुलनमा ल्याउने र पृथ्वीलाई चिरस्थायी तुल्याउने यी बाहेक अरू उपाय छैनन् ।

७. एउटा पशु (गाई) को विषयमा संवेदनशील तर्क (गाईको दूध आमाको जस्तै हुन्छ, गाई आमाजस्तै हो) गरेर सयौं वर्ष अघिदेखि जनतालाई पटमूर्ख बनाई हजारौं युद्ध र लडाईं गरी लाखौं र करोडौं मानवको हत्या हुँदै आयो । उनीहरूका सत्ता र स्वार्थका लागि असीमित जनता बलिको बोको बने । आज पनि भारतमा उही गाईगोरुको नारा र हिन्दु धर्म सर्वोपरी हो भन्दै जनतालाई सुखशान्ति र समृद्धिलाई तिलाञ्जली दिने शक्तिमा छन् । कुनै पनि न्यायप्रेमी मानव अब भ्रममा पर्न हुँदैन । बरु तिनको पर्दाफास गर्नुपर्छ । यसमा नेपाल र भारतका माक्र्सवादी सचेत र सक्रिय हुनु जरुरी छ । अब सम्पूर्ण जनता गाईगोरुको यथार्थताबारे सैद्धान्तिक र व्यावहारीकरण गर्दै मैदानमा आउन जरुरत छ । साम्प्रदायिक युद्धको रचना गर्नेलाई मुखभरिको जवाफ दिन जरुरत छ ।

८. मुस्लिम कट्टरवादीका शक्ति र स्रोत सार्कका जनताको दुःख पीडाको अर्को मुहान छ । सामाजिक–साम्राज्यवादी रुस र अमेरिकासहित पश्चिमा साम्राज्यवादीबीचका टक्करले अफगानिस्तानमा तालिवान र अलकायदा, इराकमा आइएसजस्ता घोर महिलाद्रोही, जनद्रोही शक्तिको पनि जन्म भयो । विश्वव्यापी त्यसको विस्तार पनि भइरहेछन् । सैद्धान्तिक र व्यावहारिक रूपले तिनको मुलोच्छेदन त मातृवादी र धर्मवादीले मात्र गर्न सक्छन् । जुन लडाकुलाई धर्तीयोद्धा भनिन्छ । आज विश्वव्यापी जनताको मूल माग भनेको शान्ति, सुव्यवस्था र समृद्धि हो । कुनै पनि धार्मिक अन्धता हैन न त पुँजीवादी साम्राज्यवादीका हालिमुहाली र मनपर्दी नै हो ।

९. अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सको बीचमा सार्क संघ गठन हुनुपर्छ । वर्तमान सार्कमा भारतको ढलिमली र मनपर्दी झैं हुने छैन । यो संघको केन्द्रीय नेतृत्वले सिंगो सार्कको १ अरब ८० करोड जनताको उज्ज्वल भविष्यको लागि मार्गदर्शन गर्नेछ । यो नेतृत्व गर्ने पंक्ति भनेको तलदेखि माथिसम्म महिला, दलित जाति, जनजाती र मजदुर किसान हुने छन्, जो सैद्धान्तिक र व्यावहारिक संघर्षको मैदानमा खारिएर आएका हुन्छन् । यसका अरू मुख्य विशेषता निम्न छन्–

(क) राजनैतिक स्वरूप ४ तहको हुनेछन् । सार्क संघ, स्वायत्त संघ, प्रान्तीय राज्य र स्थानीय राज्य । स्मरण रहोस्, नेपालमा ३ तहको राज्य संरचना छन् ।

(ख) प्रकृतिको सुरक्षा र सम्पूर्ण संघका १ अरब ८० करोड जनताको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक, वैचारिक उत्थान र विकासको लागि सार्क संघले दर्शन गर्नेछ । रक्षा, मुद्रा, परराष्ट्र, सञ्चार, केन्द्रमा निहित हुनेछ, अरू आर्थिक, भौतिक, शैक्षिक, स्वास्थ्यलगायतका कुरामा स्वायत्त संघले नीति निर्माण र कार्यान्वयन गर्नेछ ।

(ग) सार्कको प्राकृतिक स्रोत मानवीय शक्ति र स्रोत सबै साझा हुनेछन् । जबकि अफगानिस्तानका जनता र भुटानका जनताले पनि माल्दिभ्सका जनताले पनि श्रीलंका र नेपालका जनताले पनि सार्क संघको अपनत्व अनभूति गर्न पाओस् ।

(घ) सबै स्वायत्त राज्य बीचका सीमा वैज्ञानिक र ऐतिहासिक तथ्यका आधारमा रेखांकन हुनेछ र सम्पूर्ण सीमाका सेना हटाइने छ । शान्ति सुरक्षा जनस्तरबाट क्रमशः हुनेछ । सेना र प्रहरीको ९० प्रतिशत जनशक्तिलाई उत्पादन र प्रकृतिको सुरक्षामा लगाइने छ । जस्तै– अर्गानिक कृषि तथा पशुपालन फर्म, भवन, सडक, पुल, बाँध, सिचाईं कुलो, नहरजस्ता निर्माण विकासका कुरा हिमाल, खोलानदी, समुद्र, वनजंगल, वन्यजीवजन्तु र पंक्षी भूमि, संरक्षण र सम्बद्र्धनमा लगाइने छ । सार्क संघमा बाह्य हस्तक्षेप र आक्रमण भएमा १५–३० वर्षका हरेक युवालाई सैन्य तालिमको नीति अपनाउने छ ।

(ङ) हरेक व्यक्तिलाई प्रकृतिको महानता, आमा वर्गको सर्वोपरिता र परिश्रमीवर्गको अद्वितीयतामा समर्पित तुल्याउने साहित्य, कलाको सिर्जना र विकास र वृद्धिमा उच्च प्राथमिकता दिइने छ । फिल्म, नाटक, डकुमेन्ट्री, टेलिश्रृखंला, गीत, कविता, कथा, उपन्यास, पत्रपत्रिका, म्यागाजिन, वेभसाइट, रेडियो, एफएम प्रसारण र गाउँ–गाउँमा हुने लोकदोहोरी, कौवाली, नाटक सांस्कृतिक साहित्यिक कार्यक्रम पनि त्यही कुरामा केन्द्रित हुने छन् । समाजमा हिंसा फैलने, साम्प्रदायिक दंगा भड्किने र महिलावर्गको अपमान, श्रमिक वर्गलाई उपेक्षा गर्ने सम्पूर्ण कुरा साहित्य संग्रहालयमा रहने छन् ।

(च) मातृवादी प्रकृतिवादी हुन् । कुनै कल्पित पूर्वजन्म, स्वर्ग र नर्कका हिमायती हैनन् । तसर्थ सम्पूर्ण मठमन्दिर, मस्जिद, चर्च, गुम्बा, गुरुद्वार, आश्रमजस्ता कुरा सन् १९१४ अघिका पुरातात्विक दृष्टिले संरक्षण गरिनु पर्छ । त्यस यता ती सम्पूर्ण कुरा स्थानीय जनताको आवश्यकता, मागअनुसार वृद्धाआश्रम, शिशुस्याहार केन्द्र स्कुल, अस्पताल, पार्क, खेलकुद मैदान, वनस्पति उद्यान, पुस्तकालय, संग्रहालय जस्ता कुरा निर्माण गरिनु पर्छ । सम्पूर्ण जनताको मन मस्तिष्क र हृदयमा प्रकृतिको महानता र अद्वितीयताले सजाउनुपर्छ र त्यसको संरक्षणको लागि क्रियाशील गराउनुपर्छ । अन्यथा पृथ्वी बच्ने छैन र यो मानव समाज र सभ्यता पनि अनि १ सय वर्ष अघिका ती सम्पूर्ण पुरातात्विक मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च, गुरुद्वार आश्रम पनि रहने छैन ।

(छ) १४–६० वर्षका हरेक मानिसका लागि श्रम अनिवार्य हुनेछ । उसलाई बाँच्नलाई चाहिने खाद्यन्न ऊ स्वयंले प्रत्यक्ष र अप्रत्यक्ष उत्पादनमा भूमिका खेल्नुपर्छ । उसको मलमूत्र ऊ स्वयंले खेतबारीमा पु¥याउन पर्छ । डाक्टर, इन्जिनियर, प्रोफेसर, वैज्ञानिक, नेता, साहित्यका र मन्त्री र प्रधानमन्त्री पनि त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न हुनपर्छ । बिरामी, रोगी, बालबच्चा, वृद्ध अपांगलाई मात्र छुट हुनेछ । संसारमा मानवजाति सबै समान हो । जमिन्दार र किसान, पूँजीपति र मजदुर धनी र गरिब, सबै कुरा जन्माउने पितृसत्ता हो । अनि धर्मको दुहाई दिँदै इश्वरको कल्पना गर्ने कुपमण्डुक हुन् । सृष्टिकर्ता मान्ने नै हो भने प्रकृति हो । जल, जमिन, हावा, प्रकाश जुन बिना हामी २ मिनेट बाँच्न सक्दैनौं । हो त्यही हो सृष्टिको जननी अनि अर्का सृष्टिकर्ता हुन् आमा जसले आफ्ना हरेक सन्तानलाई गर्भधारण गरी रगत बगाउँदै, काल महाकाल काटेर, जन्माउँछिन् र असीमित शक्ति र स्नेहले हुर्काउने, बढाउने गर्छिन् । इश्वर भन्ने नै छैन भए पनि त्यो सामन्त जमिन्दार, पुँजीपति, फटाहा पितृसत्ताको पक्षमा छ त मजदुर किसान महिला गरिब दुखी र अपहेलितले तिनलाई किन मान्ने ?

(ज) वर्तमान भारतको सबैतिर हस्तक्षेप, अतिक्रमण, दादागिरी देखेर सार्कका बौद्धिक वर्गको ठूलो हिस्सा पनि सार्क संघमा भारतको हाली–मुहाली हुनेछ भनेर सार्क संघको विपक्षमा उभिन सक्छन् । तर सार्क संघमा भारतको ठूलो देश र धेरै जनसंख्या भयो भनेर उसको ढलीमली हुने छैन एकातिर नेतृत्वपंक्ति सार्कका ९० करोड महिला, २२ करोड दलित र ६६ करोड मजदुर किसान वर्गको हकहित अधिकारको लागि समर्पित हुने छन् । मुठ्ठीभर सामन्त, जमिन्दार, पूँजीपति धर्मभीरु, युद्धका रचना गर्ने र हतियारमा कमिसन खाने तस्कर, राष्ट्रवादको नारा दिएर जनता भड्काउन सक्छन् । मातृवादी नेतृत्व त्यसमा सचेत हुनेछन् ।

(झ) सार्कको साझा सीमा, साझा मुद्रा र साझा सेना क्रमशः हुनेछ ।

(ञ) जम्मुकस्मिर जस्तो राज्य सार्क संघमा स्वतन्त्र रूपले आबद्ध हुन सक्छ इत्यादि ।

विश्वको दक्षिणपूर्वी एसिया सर्वाधिक भ्रष्टाचार हुने मुलुक हो । यहाँका राजनीतिक पार्टीका नेता, सत्तामा जाने पदाधिकारी, सेना र प्रहरीका कमान्डर, न्यायाधीष, ठेकेदार, सरकारी वकिलले राज्यलाई कर नबुझाउने व्यापारी र उद्यमी वैध–अवैध धन्दाबाट अकुत धनसम्पत्ति आर्जन गरेका पाइन्छन् । स्वदेश र विदेशमा बैंक र अन्य उद्योग तथा फर्ममा लगानी गरेका ती सम्पत्ति परिश्रमी जनताका रगत, पसिना र आँसु बगाएर संकलन हुन्छ । अब ती तमाम भ्रष्टाचारी र अत्याचारीलाई सार्कभरिका जनताको जनआन्दोलनको घेरामा पार्ने छन् र सम्पूर्ण अनियमित र भ्रष्टाचार गरेका धनसम्पत्ति फिर्ता लिने छन् । जुन कुराले यहाँका जनतालाई स्वास्थ्य, शिक्षा, यातायात, बिजुली, पानी, फोन जस्ता कुराहरू निःशुल्क उपलब्ध गराउन सकिने छ । आम जनताको यो न्यायिक जनआन्दोलनले पुरानो प्रतिक्रियावादी सत्तालाई विस्थापन र नयाँ सत्ताको स्थापना गराउने छ ।

तपाईको प्रतिक्रिया