दक्षिण एसियाकै ठूलो गाई फार्म बनाउने सपनाः दोलखामा विफल, गण्डकीमा नजर

समाधान संवाददाता २०७६ फागुन १५ गते १२:१९

रामकृष्ण ज्ञवाली÷भरत कोइराला
पोखरा

२ हजार हेक्टर जमिन, १० हजार हाइब्रिड गाई, दैनिक १ लाख ५० हजार लिटर दूध उत्पादनको लक्ष्य । अनि दक्षिण एसियाकै ठूलो एकीकृत गाई फार्म बनाउने उद्देश्य । रामेछापका रामकुमार खड्काले सञ्चालन गरेको दोलखाको बोचस्थित कालिञ्चोक काउ फार्म एन्ड रिसर्च सेन्टरको वेबसाइटमा यस्तै जानकारी देख्न पाइन्छ । उनले दोलखामा दक्षिण एसियाकै ठूलो गाई फार्म बनाउने सपना बाँडेको ८ वर्ष भइसकेको छ ।

उनै खड्काले चिनिया कम्पनीको सहयोग भित्र्याउने भन्दै तनहुँमा यस्तै निजी फार्म दर्ता गरेका छन् । कम्पनीको नाम छ गण्डकी काउ फार्म एन्ड रिसर्च सेन्टर प्रालि । त्यही कम्पनीमा ‘आवश्यक प्रक्रिया पूरा गरेर ११ करोड रुपैयाँ सेयर लगानी गर्ने’ भन्दै गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदबाट निर्णय पनि भइसकेको छ । मन्त्रिपरिषदबाट भएको निर्णय कार्यान्वयन हुनेमा कर्मचारीको नेतृत्व मात्र होइन सरकारका मन्त्रीहरु नै विश्वस्त छैन । कारण हो, गाई फार्मका सञ्चालक रामकुमार खड्काको विगत । करोडौं लगानी भएको दोलखाको कालिञ्चोक गाई फार्म अहिले बेवारिसे जस्तै छ । फार्ममा गाई त कता हो कता खड्का अहिले स्थानीयको सम्पर्कमा रहने चाहदैनन् । बरु उनी अहिले गण्डकी प्रदेश सरकारका मन्त्रालयतिर धाइरहेका हुन्छन् ।

Advertisement

खड्काले समाधानसँग दूधको क्षेत्रमा आफूँसँग भएको लामो अनुभव राज्यका निम्ति योगदान गर्न चाहेको सुनाए । ‘मैले लिन खोजेको होइन, दिन खोजेको हो,’ उनले भने, ‘तर यहाँ अझै काम गर्ने वातावरण बनेको छैन ।’ यसबारे केही दिनपछि थप जानकारी उपलब्ध गराउने पनि उनले बताए ।

फार्मकै लागि भनेर खड्काले ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी जमिन लिएका छन् । नेपाल डेरी उद्योग संघको नेतृत्व सम्हालिसकेका उनले कालिञ्चोकको फार्ममा सरकारी सहयोग पनि राम्रै जुटाए । सार्वजनिक निजी साझेदारी अवधारणामै खुलेको उक्त फार्ममा ८ करोडको हाराहारीमा लगानी पनि भइसकेको छ । फार्ममा गाईगोठ देखि थुप्रै संरचना बनाइएको छ । तर ती सबै संरचना अहिले अलपत्रै छन् । अहिले गाई फार्ममा १० वटा बाख्रा, ३ वटा कुकुर र १ जना कुरुवामात्र रहेको समाचार २०७६ पुस २७ गतेको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ । खड्काले आफ्नो निजी लगानी आलुखेतीबाट उठाएर अहिले करोडौंको फार्मलाई बेवास्ता गरेको बोचका स्थानीय बासिन्दाले समाधानसँगको सम्पर्कमा बताएका छन् । कालिञ्चोक फार्ममा २०७२ को भूकम्पले क्षति पु¥याएको थियो । त्यसपछि मर्मतसम्भारको कुनै काम भएको छैन । फार्मका कुरुवाले चिनिया गाई आउने भन्दै आफूले फार्मको रेखदेख गर्दै आएको बताएका छन् ।

Advertisement

खड्काले काठमाडौंमा कपन डेरी, पोखरामा लवकुश डेरी र जनकपुरमा राम जानकी डेरी पनि चलाए । कपनको डेरीबाट काभ्रेका थुप्रै किसान ठगिएको पाइएको छ । पोखराकै लवकुश डेरी पनि सञ्चालन गर्न नसकेर ७ वर्षअघि उनले जग्गाधनीलाई जिम्मा लगाइसकेका छन् । जनकपुरको डेरीको पनि अवस्था राम्रो नभएको उनलाई चिन्नेहरु बताउँछन् ।

प्रदेशलाई २ वर्षमा दूधमा आत्मनिर्भर बनाउने भन्दै गण्डकी सरकारले महत्वाकांक्षी योजना सारेको छ । यसै योजनालाई साकार पार्न चाइनिज एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेज (सिएएएमसी) ले गण्डकीसहित ३ प्रदेशमा लगानी गर्ने सहमति भइसकेको छ । सिएएएमसीले अगाडि सारेको गण्डकी काउ फार्मकै मुख्य सञ्चालकको विगत बुझेपछि अहिले यो परियोजना नै धरापमा परको छ । मन्त्रिपरिषदले दिने निर्णय गरेको ११ करोड रुपैयाँ निकासाका लागि अहिले कर्मचारीले हात कमाएका छन् । यसको मुख्य कारण हो, लगानी डुब्ला र पछि कारबाहीमा परिएला कि भन्ने आशंका । गण्डकी सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले पनि लगानी नडुब्ने पर्याप्त आधार नभएसम्म काम अगाडि नबढाइने बताइसकेका छन् ।

रामकुमार खड्का अध्यक्ष रहने गरी तनहुँको शुक्लागण्डकी १२ फिरफिरे ठेगाना राखेर २०७५ भदौ १७ मा गण्डकी काउ फार्म एन्ड रिसर्च सेन्टर कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको छ । सुरुमा अधिकृत पुँजी २५ लाख र जारी पुँजी ५ लाख रहने गरी दर्ता भए पनि प्रबन्धपत्र संशोधन गरी अधिकृत र जारी पुँजी २० करोड पु¥याइएको छ । कम्पनीको सञ्चालकमा रामकुमारका २ छोरा प्रविन र प्रतीक खड्कासमेत छन् । अन्य सञ्चालकमा तनहुँ फिरफिरेका पहलजीत गुरुङ, एकबहादुर गुरुङ र कोषबहादुर तामाङ छन् । काभ्रे पनौतीका अनिमेष उलक र धादिङ नीलकण्ठका उमंग रिजाल पनि सञ्चालकमा छन् ।

तपाईको प्रतिक्रिया